logo
२०८१ बैशाख १५ शनिवार



प्रजिअहरुको बैठक बस्दै, निषेधाज्ञा सातदेखि दश दिन थप हुन सक्ने

राष्ट्रिय |


प्रजिअहरुको बैठक बस्दै, निषेधाज्ञा  सातदेखि दश दिन थप हुन सक्ने


मुकुन्द गैरे
काठमाडौं, जेठ १९ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पछि बस्ने जारी निषेधाज्ञाको अवधि थप बारे निर्णय सार्वजनिक गर्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने निष्कर्षमा पुगेको बताउनुभयो ।
भोलि राती बिहीवारबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने निष्कर्षमा बैठक पुगेको हो ।
आज दिउँसो निषेधाज्ञा थप हुने र यस बारे निर्णय सार्वजनिक गर्ने भक्तपुरका प्रजिअ भट्टराईले बताउनुभयो ।
यसै गरी बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न दिने विषयमा हिजो छलफल भएको र आज यस बारे निर्णय सार्वजनिक गर्ने उहाँले बताउनुभयो । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ ।
निजी तथा सार्वजनिक निर्माणको काम चल्न दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बसेर स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्नेछ ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । थप निषेधाज्ञामा सार्वजनिक यातायात, निजी सवारी साधन र अनावश्यक हिँडडुललाई भने कडाइ गरिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप