logo
२०८१ बैशाख २४ सोमवार



अध्यक्ष तिमिल्सिनासँग पाकिस्तानका राजदूत शाहको शिष्टाचार भेट

राष्ट्रिय |


अध्यक्ष तिमिल्सिनासँग पाकिस्तानका राजदूत शाहको शिष्टाचार भेट


गोरखापत्र अनलाइन

काठमाडौं, चैत ९ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टचार भेटघाट गर्नुभएको छ । नेपालका लागि नवनियुक्त राजदूत शाहले सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले राजदूतमा नियुक्त हुनुभएकोमा शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको उहाँको प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो ।

नेपाल–पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहेको चर्चा गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले दुई देशबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा नजिकबाट सहकार्य हुँदैआएको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले दुई देशबीच व्यापार, लगानी, पर्यटन, संस्कृतिमा राम्रो सबन्ध रहेको र जनताबीचको सम्बन्ध पनि सुमधुर रहेको चर्चा गर्नुभयो । कोरोना भाइरसका कारण विश्वसामु नयाँ चुनौती थपिएको भए पनि दुई देशबीच पारस्परिक साथ र सहयोगले भाइरसविरुद्ध लड्न मद्दत पुग्ने विश्वास लिएको बताउनुभयो ।

त्यसैगरी, नेपाली पर्वतारोहीको टोलीले पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल ’केटू’को पहिलोपटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले त्यसले दुई देशबीचको पर्यटन प्रबर्धनमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । पाकिस्तानको सिनेट अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनर्नियुक्त हुनुभएकोमा मुहम्मद सादिक सन्ज्रानीलाई बधाई व्यक्त गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले राजदूत शाहमार्फत सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

भेटका क्रममा राजदूत शाहले नेपाल र पाकिस्तानबीच गहिरो मित्रवत सम्बन्ध रहेको चर्चा गर्नुहुँदै सम्बन्धलाई अझ मजबुद बनाउन आफूले काम गर्ने बताउनुभयो । उहाँले पाकिस्तानमा पढेर आएका चिकित्सकहरुले नेपालमा राम्रो सेवा गरेको देख्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । थप विद्यार्थीका लागि छात्रवृत्ति र तालिम बढाइने जानकारी दिनुभयो । राजदूत शाहले दुई देशको संसदीय सहकार्यलाई अघि बढाउन छिट्टै भ्रमण तथा अनुभव आदन–प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?