logo
२०८१ जेष्ठ २ बुधवार



गुटगत भेला गर्नेलाई कारवाही गर्ने एमालेको निर्णय, बैठकमा गौतम पनि सहभागी

राष्ट्रिय |


गुटगत भेला गर्नेलाई कारवाही गर्ने एमालेको निर्णय, बैठकमा गौतम पनि सहभागी



लक्की चौधरी
काठमाडौं, चैत ७ गते । नेकपा (एमाले) संसदीय दलको बैठकले गुटगत भेला गर्ने र सरकार तथा पार्टीको विरुद्धमा लागेर खुइलाउनेलाई पार्टीको विधान र नियम अनुसार कारवाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठकमा सो निर्णय भएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा नआउने, प्रतिवेदनमा झुठ लान्छना लगाउने, समूह छलफल गर्नेलाई छुट दिन नसकिने बताउनुभयो । त्यस्तो गुटगत भेलाको बैठकले निन्दा गरेको सांसद बस्नेतले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “निर्लज्जपूर्वक कम्युनिष्ट आन्दोलनकै इतिहासमा कलंकको रुपमा चिनिएको भेलाको आयोजक अगुवाहरुलाई स्पष्टीकरण सोधिनेछ ।” सच्चिएर, आत्मालोचना गरेर आए सोच्न सकिने भन्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “उहाँहरु सच्चिएर आउनुभएन भने कारवाही प्रक्रिया अगाडि बढ्छ ।”
निर्वाचन आयोगले दिएको पन्ध्र दिने समयभित्र पार्टीमा पुनः सहमतिको प्रयासस्वरुप आफूले अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललाई फोनमा कुरा गरे पनि त्यसको खिल्ली उडाउने काम भएको प्रधानमन्त्री ओलीले बैठकमा धारणा राख्नुभएको नेता बस्नेतले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले थप्नुभयो, “माधवकुमार नेपालको प्रतिवेदन र वक्तव्य र गुटगत गतिविधिले हामीलाई जुन ढङ्गले बदनाम गराउन खोजिदैछ, अब स्ष्टीकरणको प्रक्रिया अगाडि बढ्छ ।”

सभामुख सरकारविरोधी सेटिङमा रहेको टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले हिजो प्रतिनिधिसभा बैठकमा भाषणमात्र चलेको बताउनुभयो । सदन सरकारविरुद्ध चलिरहेको पनि उहाँले टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले थप्नुभयो, “सभामुखको र मुद्दा लडेर आउने साथीहरुको पनि दायित्व हो संविधान कार्यान्वयन गराउने, सरकारले सदनलाई विजनेस दिएन भन्नु गलत हो ।”

अध्यादेश र विधेयकहरु बैठकका लागि सरकारले पठाएको भए पनि कार्यसूचीमा अगाडि नबढाइएको प्रधानमन्त्री ओलीले बैठकलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेरो राजिनामा माग्नेहरुलाई म भन्न चाहन्छु म मन नपरेको हो भने अविश्वासको प्रस्ताव ल्याए हुन्छ ।” बैठकमा नेता वामदेव गौतमलाई अध्इक्ष ओलीले स्वागत गर्नुभयो । आजको बैठकमा नेता गौतम पनि सहभागी हुनुभएको नेता बस्नेतले जानकारी दिनुभयो ।

“म वामदेव कमरेडलाई स्वागत गर्दछुँ, तपाईले अराजक र गुटगत गतिविधि गर्नेलाई समेटेर पार्टी एकता गर्ने प्रयास गर्नुभयो, सायद थाक्नुभयो । अब ढुक्क भएर यो आन्दोलनमा बलियो बनाउन लाग्नुहोस्” प्रधानमन्त्री ओलीले बैठकमा भन्नुभएको नेता बस्नेतले बताउनुभयो ।
बैठकमा संसदीय दलको संशोधित विधानको मस्यौदा प्रस्तुत भएको छ । प्रस्तुत सो मस्यौदालाई छलफलका लागि केन्द्रीय कमिटी बैठकमा पठाइएको नेता बस्नेतले जानकारी दिनुभयो ।

बैठकमा गौतम सहभागी
एमाले नेता गौतमले संसदीय दलको बैठकमा सहभागी भएर अध्यक्ष ओलीको समृद्ध नेपाल र सुखी नेपाली बनाउने महान अभियानमा लामबद्ध हुन आफू बैठकमा आएको बताउनुभयो । नेता बस्नेतका अनुसार नेता गौतमले अव आफू पार्टीको मूलधारमा लागेर सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । 
नेता बस्नेतकाअनुसार गौतमले भन्नुभयो, “सर्वोच्चको २३ गतेको फैसलापछि सबैभन्दा खुशी हुनेमध्ये म पनि हुँ, गौरवशाली पार्टी एमाले पाएको र जवज र मदन भण्डारीको आगमन फेरि एमाले र जनतामा मगमगाएको छ ।” बेलायतमा पनि जोन मेजरलाई घेराबन्दी गरेर हटाउन खोजिएको स्मरण गर्नुहुँदै नेता गौतमले तर त्यहाँ पनि सबैको सहयोगले ५ वर्ष सरकार चलेको प्रसङ्ग बैठकमा जोड्नुभयो ।

खनाल–नेपाल पक्षको असन्तुष्टि
यता खनाल–नेपाल पक्षका ३८ जना सांसदहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको छ । बैठक संसदीय दलको कार्यालय वा संसद भवनमा बस्नुपर्ने माग सो पक्षले पुनः माग गरेको छ । सो पक्षका सांसद जीवनराम श्रेष्ठले बैठक संसदीय दलको विधान बमोजिम नभएको आरोप लगाउनुभयो ।
बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा सोमप्रसाद पाण्डे, यज्ञ सुनुवार र जीवनराम श्रेष्ठ सहभागी भई आफ्नो माग राख्नुभएको थियो । संसदीय बोर्ड समिति गठन गर्ने विषय पनि दलको विधान र नियमावलीबमोजिम नभएको सांसद श्रेष्ठले बताउनुभयो ।
नेपाल पक्षका सांसदहरुले संसदीयका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मागसहितको पत्र हस्तान्तरण गरेको थियो । सिंहदरवारमा आयोजित बैठकमा वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपालको समेत सहभागिता थियो । यसअघिसम्म खनाल–नेपाल पक्षमा रहनुभएका सांसद कृष्णभक्त पोखरेल आजको बालुवाटार बैठकमा सहभागी हुनुभयो । अबदेखि मूलधारकै पार्टीमा लागेर सहयोग गर्ने प्रतिद्धता पनि जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?