logo
२०८१ बैशाख १४ शुक्रवार

 अढाई किलो युरेनियम प्रकरण 



युरेनियममाथि खेलाँची, न्यूनतम सावधानी अपनाइएन

राष्ट्रिय |
बिज्ञान |


युरेनियममाथि खेलाँची, न्यूनतम सावधानी अपनाइएन


छेटु शेर्पा
काठमाडौं चैत ३ गते । बौद्धको एक घरबाट प्रहरीले दुई किलो पाँचसय ग्राम युरेनियम बरामद गरेको समाचार सार्वाजनिक भएसँगै यस विषयमा धेरैले चासो देखाए । यता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को प्रारम्भिक अनुसन्धानको प्रतिवेदनले समेत बरामद वस्तुमा युरेनियम २३८ को केही गुण देखिएको जनाएको छ ।
युरेनियम जस्तो संवेदनशील र स्वास्थ्यका दृष्टिकोणले अति नै हानिकारक वस्तुलाई तर युरेनियम भए पनि यसलाई प्रहरीले बरामददेखि पत्रकार सम्मेलन गर्दा समेत न्यूनतम सुरक्षा सावधानी अपनाइएन ।
नेपालले जारी गरेको राष्ट्रिय परमाणु नीति २०६४ ले पनि परमाणु उर्जासँग सम्बन्धित संयन्त्रको सञ्चालन, रेडियोधर्मी पदार्थको व्यबस्थापन गर्दा अन्तराष्ट्रिय मापदण्डको आधारभूत सुरक्षाका उपाय अवलम्बन गरिने उल्लेख छ तर कच्चा युरेनियम जस्तो संवेदनशील वस्तु बरामद तथा अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीए) लागाउने जस्ता आधारभूत कुराको पालना गरिएन ।
करिव १० दिन अघि प्रहरीका एक डिएसपीले आफूलाई सम्पर्क गरेर युरेनियम फेला परेको जानकारी दिए पछि सावधानी अपनाउन सुझाव दिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) प्रवक्ता डा.सुरेशकुमार ढुङगेलले बताउनुभयो । तर त्यस प्रति सावधानी अपनाएको नपाएको उहाँले बताउनुभयो ।
आयुनै नहुने रोडियोधर्मी पदार्थ युरेनियम बरामद गर्दासमेत प्रहरीले कुनै पनि सावधानी नअपनाउनु दुःखद भएको उहाँको भनाइ छ । युरेनियम मानव स्वास्थ्यका लागि अति नै घातक हो, जुनसुकै बेला खतरा हुने भएकाले सावधानी अपनाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

युरेनिमय हो होइन भनेर मापन गर्ने सामग्री नेपालमा नभएको तर नाष्टको प्रारम्भिक परिक्षणबाट युरेनियम २३८ को गुण देखिएको जनाएको छ ।
प्रवक्ता ढुङगेलका अनुसार साधारण क्रियाकलाप देखिएको हो, यसमा युरेनियमको गुण कति छ भन्ने स्पष्ट भने छैन, पुनः परीक्षण गर्नु जरुरी छ । तर २० वर्षदेखि खेलाँची पाराले घरमा राखेको अवस्थामा बरामद भएकाले सम्पर्कमा रहेका परिवारमा असर पुगेको उहाँको भनाइ छ ।
नाष्टका अनुसार युरेनियम २३८ कच्चापदार्थको रुप हो भने युरेनियम २३५ प्रशाेधित युरेनियम हो । ढुङ्गेलका अनुसार युरेनियमको आयु आधा हुनसमेत ४.७ विलियन वर्ष लाग्छ ।

बरामद गरेको युरेनियम सामान्य प्लाष्टिकको भाँडोमा राखिएको पाइएकाले त्यसको असर तामाङ परिवार र आसपासमा बढी पारेको हुनसक्ने भन्दै स्वास्थ्य जाँच गर्न समेत विज्ञहरुको सुझाव छ । युरेनियमबाट अल्फा, विटा र गामा रे उत्पादन हुने त्रिभुवन विश्वविद्यालय रसायन विभागका पूर्व प्रमुख एवं आणविक रसायनशास्त्री प्रा.डा.तुलसी पाठकले बताउनुभयो । अल्फा र विटाले खासै असर नगर्ने तर गामा रे मानव शरीरका लागि अत्यन्तै घातक हुने बताउनुभयो । गामा रे शरीरमा पुगेपछि राैँ झर्ने, वाकवाक लाग्ने, बाँझोपन हुन सक्ने र क्यान्सर हुने उहाँले बताउनुभयो ।

बरामद गरेको युरेनियम २३८ परमाणविक धार भएको धातु हो । यसलाई प्रशोधन गरे आणविक उर्जाका रुपमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । डा.पाठकका अनुसार अल्फा विटा गामा रेलाई प्लाष्टिकको भाँडाले नथेग्ने र सुरक्षित राख्न ६ इन्च बाक्लो सिसा (लिड) को बटटमा राख्नुपर्ने हुन्छ, तव मात्र रेडिएसनको असर कम हुने गर्छ । प्रहरीलाई युरेनियममाथि खेलाँची नगर्न उहाँले सुझाव दिनुभयाे ।

प्रहरीले बरामद युरेनियम अमरसिंह लामा तामाङले भारतको खानीबाट चोरेर ल्याएको र घरमा लुकाएर राखेको जनाएको छ । प्रहरीले भने युरेनियम विक्री गर्न प्रयास गर्ने उनका बुहारी जानुका तामाङलाई पक्राउ गरेको छ, तामाङ हाल अमेरिकामा बस्दै हुुनुहुन्छ । भारतबाट ल्याइएको भनिए पनि प्रहरीसँग गतिलो आधार छैन । भारतका युरेनियम खानीमा समान्य रुपले चोरी गर्न र नेपाल भित्र्याउन सक्ने वातावरण छैन । यसमा प्रहरी कति सक्षम र सफल हुन्छ भन्ने जिज्ञासा सबैमा उव्जिएको छ ।
प्रहरीले दुई किलो ५०० ग्राम युरेनियमसहित चार जना पक्राउ गरी सार्वजनिक गरेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेको प्रहरीले जनाएको छ । यी व्यक्तिले युरेनियम भएको भन्दै विक्रीवितरणमा ग्राहकको खोजीमा थिए । नेपालमा नाष्ट र त्रिविले मात्र युरेनियमको प्रारम्भिक परीक्षण गर्न सक्छ । युरेनियम हो होइन छुट्याउन परिक्षणका लागि विदेश पठाउनुपर्ने नाष्ट प्रवक्ता ढुङ्गेलले बताउनुभयो ।

 

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?