logo
२०८१ बैशाख १५ शनिवार



मिचिएको भूमि चलनभोगमा ल्याउछौँ: मन्त्री ठगुन्ना

राष्ट्रिय |


मिचिएको भूमि चलनभोगमा ल्याउछौँ: मन्त्री ठगुन्ना


लोकेन्द्र जोशी
दार्चुला, पुस २८ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालले चलनभोग गर्ने गरी फिर्ता ल्याईने बताउनुभएको छ । लामो समयदेखि कालापानीको मुद्दा उठाउँदै आउनुभएका मन्त्री ठगुन्नाले मिचिएको भूमि फिर्ताको लागि वर्तमान सरकार लागिपरेको बताउनुभयो ।

सरकारले मिचिएको भूगोल समेटेर नक्सा जारी गर्यो । भूगोल फिर्ता ल्याउने विषयमा सरकारले कूटनीतिक पहल निरन्तर गरिरहेको छ, दार्चुला सदरमुकाम खलंगामा आयोजित नेकपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो । अहिले पनि परराष्ट्रमन्त्री स्तरमा हुने दुई देशीय बैठकमा समेत यो विषयमा छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आफ्नो गुमेको भूमि सहितको नक्सा जारी गरेपछि पार्टी भित्रै र बाहिरबाट असहयोग शुरु भएको भन्दै अहिलेको सरकारले राष्ट्रियताको बारेमा राखेको अडान निरन्तर राख्ने बताउनुभयो । मिचिएको भूमि फिर्ताको लागि सरकारले निरन्तर संवाद र कूटनीतिक पहल जारी राख्ने मन्त्री ठगुन्नाको भनाइ छ ।

मन्त्री ठगुन्नाले वर्तमान सरकार विकास र परिवर्तनको बाटोमा लागेको बताउदै आफ्नो कार्यकालमा दार्चुलावासीले गर्भका साथ सम्झनयोग्य काम गर्ने बताउनुभयो । पार्टीभित्रकै केही शक्तिले विकासका कामहरुमा अवरोध शृजना गर्नेदेखि सरकार नै ढाल्नेसम्मका अप्रिय प्रयास गरेपछि प्रतिनिधिसभा विघटन भएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको नेकपा भगौलिक अखण्डता, सामाजिक सुरक्षा र विकास तथा समृद्धिको पक्षमा काम गरिरहेको उहाँले बताउनुभयो । सामान्य प्रशासन मन्त्री ठगुन्नाले वैज्ञानिक ढंगले कर्मचारी समायोजन गर्नेदेखि दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन हुने किसिमका कार्यक्रम अगाडि बढाउने बताउदै उच्च मनोबलका साथ काम गर्न राष्ट्रसेवक कर्मचारीलाई अनुरोध गर्नुभयो ।

संविधान, कानुन र विधि पद्धतिअनुसार नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भइसकेकोले प्रतिगमनको कल्पना गर्न नसकिने उहाँको भनाइ छ । वर्तमान समयमा नेपाली जनताले राजनीतिक अस्थिरता नभइ परिर्वतन, विकास निर्माण र समृद्धि खोजीरहेकोले सरकारले सोही हनुसार जनआदेशको पालना गरिरहेको मन्त्री ठगुन्नाले बताउनुभयो । अहिले देशमा राजनैतीक आन्दोलनको आवश्यकता नरहेको बताउँदै उहाँले विकास र परिवर्तनमा सरकार केन्द्रित हुने धारणा राख्नुभयो ।

मन्त्री ठगुन्नाले भन्नुभयो, अबको आन्दोलन विकास र परिवर्तनका लागि हनुपर्दछ, देशको भौगोलीक अखण्डताको लागि आन्दोलन हुनुपर्दछ, मिचिएको भूमि फिर्ताको लागि आन्दोलन हुनुपर्दछ । राजनैतीक आन्दोलन छोडेर विकास हुने, नेपाली जनताको गरिबी दूर गर्ने र बेरोगारहरुलाई रोजगारी दिने आन्दोलनमा सहकार्य गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो ।

जनताको जनादेश अनुसार आफुहरु अहिले पनि सिंगो कम्युनिष्ट आन्दोलन एक ढिक्का भएर अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा रहेकोले गुट फुटमा लागेका पार्टीका अन्य सदस्यलाई पनि मूलधारको नेतृत्वमा आउन आग्रह गर्नुभयो । लाखौँ जनताको समर्थनको पार्टी छोडेर सडकमा जानुपर्ने र हामी यहाँ छौ भनेर भन्नुपर्ने कुनै आवश्यकता नरहेको उल्लेख गर्दै उहाँले प्रचण्ड–नेपाल समुह (नेकपा) लाई ओली नेतृत्वको नेकपा पार्टीमा फर्किन आग्रह गर्नुभयो ।

दार्चुलामा कम्युनिष्ट आन्दोलन कमजोर नहुने दाबी गर्दै उहाँले अागामी चुनावमा स्थानीय तहदेखि प्रदेश र संघीय सभामा नेकपाको बिजय सुनिश्चित हुने दाबी गर्नुभयो । दार्चुलाको विकासको सन्दर्भमा केन्द्रीयदेखि स्थानीय सडकहरु, विद्युत, सिंचाइ, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा काम भइरहेको र अगामी दिनमा थप गतिका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?