logo
२०८१ बैशाख २३ आईतवार



सडकमा निकृष्ट नारा लगाउनेलाई कारवाही हुनुपर्छः मन्त्री महतो

राष्ट्रिय |


सडकमा निकृष्ट नारा लगाउनेलाई कारवाही हुनुपर्छः मन्त्री महतो



गोरखापत्र अनलाइन
काठमाडौं, पुस १९ गते । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले सडकमा राष्ट्रपति विद्यादेवी भण्डारीलक्षित अमर्यादित अभिब्यक्ति दिने ब्यक्तिलाई कारवाहीका लागि आफुले मन्त्रीपरिषदमा प्रस्ताव लैजाने बताउनुभएको छ । अखिल नेपाल महिला संघको आइतवार ज्ञापनपत्र बुझ्दै मन्त्री महतोले सो कुरा बताउनुभयो । “म यो विषय अब बस्ने मन्त्रिपरिषदमा विशेष महत्वकासाथ राख्नेछु, त्यस्ता ब्यक्तिलाई कारवाही दिलाउने काममा मेरो प्रयास रहनेछ” उहाँले भन्नुभयो ।

त्यस्ता अमर्यादित अभिब्यक्तिले आफू पनि निकै दुखी भएको बताउँदै कानुनी कारवाहीका लागि पहल गर्ने मन्त्री महतोले प्रतिवद्धता जनाउनुभयो । प्रचण्ड–माधव समूहको पुस १४ गते आयोजना गरेको विरोध कार्यक्रममा सडकमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध अति नै निकृष्ट शब्द प्रयोग गर्दै नारावाजी भएको थियो । सरकार र राष्ट्र प्रमुखका विषयमा आएका अमर्यादित अभिब्यक्ति विरुद्ध अनेमसंघले कारवाहीको माग गर्दै मन्त्री महतोलाई ज्ञापनपत्र बुझाएको छ ।

यसअघि पत्रकार सम्मेलन गरेर त्यस्ता शब्द प्रयोग गर्दै नारावाजी गर्नेहरुलाई कारवाहीको माग राख्दै सरकारको ध्यानाकर्षण गराएको अनेमसंघले मन्त्री महतोलाई आज ज्ञापनपत्र मार्फत कारवाहीको ध्यानाकर्ष गराएको हो ।

अनेमसंघका सचिवालय सदस्य सुजिता शाक्यले साइवर कानुन र अन्य अदालती प्रक्रियाबाट कारवाही गरिनुपर्ने बताउनुभयो । महिला बालबालिका मन्त्री महतोलाई ज्ञापनपत्र बुझाउँदै नेता शाक्यले यस्ता गम्भिर प्रकृतिका घटना फेरि हुन नदिन मन्त्रालयको तर्फवाट विशेष कदम चाल्न आग्रह गर्नुभयो ।

नेता शाक्यको अगुवाईमा गएको अनेमसंघको टोलीमा महिला नेतृहरु गोमा देवकोटा, शर्मिला कार्की लगायतको सहभागीता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?