logo
२०८१ बैशाख २३ आईतवार



हुलाक टिकटमा इतिहासको अभिलेखीकरण

राष्ट्रिय |


हुलाक टिकटमा इतिहासको अभिलेखीकरण


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १७ गते । नेपालमा हुलाक सेवा सुरु भएको १४२ वर्ष भइसकेको छ । राणा प्रधानमन्त्री रणोद्विप सिंहको पालामा विक्रम संवत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भएको थियो । त्यसको तीन वर्षपछि १९३८ सालबाट मात्र टिकट प्रकाशन थालनी गरियो । त्यसयता हुलाक सेवा विभागअन्तर्गतको फिलाटेलिक तथा हुला टिकट व्यवस्थापन कार्यालयले एक हजार ३६७ प्रकारका टिकट प्रकाशन गरिसकेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गर्विलो इतिहास बोकेको हुलाकले जातजातिका कला, संस्कृति, परम्परा, सम्पदाको खोज गरी टिकट प्रकाशन गर्ने गरेको चर्चा गर्नुभयो ।
फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा बिहीबार आयोजित ‘हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान’ गर्ने कार्यक्रममा मन्त्री गुरुङले भन्नुभयो, “हुलाक टिकटले देशको कला, सम्पदा, संस्कृति, इतिहासको अभिलेखीकरण र अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धनको काम गर्छ । त्यसैले कुन विषयको टिकट प्रकाशन गर्ने भन्ने विषयमा विभागले खोज र अध्ययनलाई प्राथमिकता दिनुपर्छ ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले अन्तर्राष्ट्रिय जगत्मा नेपाली पहिचान पु¥याउने हुलाक सङ्केतका रूपमा टिकट रहेकाले विषयवस्तुमा विविधता हुनु आवश्यक भएको बताउनुभयो ।
यस्तै हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले बिहीबार सार्वजनिक हुलाक टिकटको बारेमा चर्चा गर्नुहुँदै राजस्व चुक्ता भएको निस्साका रूपमा हुलाक टिकटको प्रयोगले राजस्व सङ्कलनमा योगदान पु¥याएको बताउनुभयो । कार्यक्रममा मन्त्री गुरुङले लुम्बिनी शान्ति दौड र राष्ट्रिय जनगणना २०७८ को सङ्केत चिह्न अङ्कित हुलाक टिकटमा टाँचा लगाउनुभएको थियो । त्यस्तै सचिव बस्यालले एभरेस्ट स्काई ड्राइभ र नेपाल राष्ट्र बैङ्कद्वारा जारी रु. एक दरको प्रथम कागजी नोटको टिकटमा टाँचा प्रदान गर्नुभएको थियो ।
यसैगरी विभागका महानिर्देशक श्रेष्ठले रामधुनी मन्दिर (सुनसरी), सिरुवारी (स्याङ्जा), पञ्चेबाजा, नेपाल धितोपत्र बोर्ड, गलेश्वर महादेव (म्याग्दी), घलेगाउँ (लमजुङ), रेसुङ्गा यज्ञशाला (गुल्मी) र नेपालमा मात्र पाइने चारवटा वनस्पतिको टिकटमा टाँचा प्रदान गर्नुभएको थियो ।
विभागका शाखा अधिकृत शालिकराम नेपालका अनुसार बिहीबार १५ प्रकारका टिकट एकै दिन सार्वजनिक गरिएको छ । पाँच रुपियाँदेखि ३० रुपियाँ दरका टिकट १० लाखका दरले छापिएका छन् ।
कोरोना महामारीका कारण सबै टिकट एकैपटक सार्वजनिक गर्नुपरेको जनाइएको छ । नेपालको गरिमा र प्रतिष्ठालाई उचाइ प्रदान गर्ने व्यक्ति, प्राचीन तथा अर्वाचिन कला, साहित्य, संस्कृति, सम्पदालाई हुलाक टिकटका रूपमा प्रकाशन गर्ने गरिएको छ ।
नेपाल हुलाक घर स्थापनापछिको तीन वर्ष भारतले प्रकाशन गरेका टिकटलाई नै प्रचलनमा ल्याइएको थियो । शाखा अधिकृत नेपालका अनुसार नेपालमा एक आना, दुई आना र चार आनाका टिकट पहिलोपटक प्रकाशनमा ल्याइएको थियो । ती टिकटमा एक आना, दुई आना र चार आनाको तामाको ढ्याक (सिक्का) अङ्कित गरिएको थियो । तत्कालीन समयमा १६ आनाको एक रुपियाँ मानाङ्क गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?