logo
२०७७ कार्तिक ८ शनिवार

गैँडा संरक्षण सधैँ चुनौतीपूर्ण

विचार/दृष्टिकोण |


2020-09-22-23120


पशुपति अधिकारी

गैँडाका प्रजातिहरू

विश्वमा अहिले गैँडाका पाँच प्रजातिहरू रहेका छन् । तीमध्ये अफ्रिकी सेतो गैँडा र अफ्रिकी कालो गैँडा दुईसिङे हुन् भने इन्डियन गैँडा, जाभाली गैँडा र सुमात्राली गैँडा एकसिङे हुन् । नेपाल र भारतमा मात्रै पाइने गैँडालाई इन्डियन गैँडा अर्थात् ग्रेटर वन हर्न राइनोसरस भनिन्छ ।
ग्रीक भाषामा राइनोसरसको अर्थ नाकमा सिङ भएको भन्ने हुन्छ । गैँडाको सिङलाई खाग भन्ने गरिन्छ । यो केराटिन भन्ने नङ बन्ने वस्तुबाट बनेको हुन्छ । अन्तर्राष्ट्रिय बजारमा खाग र सुन बराबर मूल्यमा कारोबार हुने गर्छन् । त्यसैले खागका लागि गैँडाको चोरी सिकार हुने गरेको छ । वन्यजन्तु र तिनका अङ्गहरूको व्यापार नियमन गर्न कार्यान्वयनमा ल्याइएको साइटिस महासन्धिले सन् १९७७ देखि नै गैँडाको खाग ओसारपसारमा प्रतिबन्ध लगाएको छ । तैपनि खागको व्यापारमा कुनै कमी आएको छैन, चोरी सिकारका कारण यसको तŒव सङ्कटमा परेको छ । गैँडा संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गर्न विश्व वन्यजन्तु कोष दक्षिण अफ्रिकाको आह्वानमा सन् २०११ देखि सेप्टेम्बर २२ मा विश्व गैँडा दिवस मनाउन थालियो ।

विश्वमा गैँडाको सङ्ख्या
पाँच प्रजातिमध्ये सबैभन्दा बढी सङ्ख्या सेतो गैँडाको छ । दक्षिण अफ्रिका, नामिबिया, बोत्स्वाना, केन्यामा गरी यसको सङ्ख्या करिब १८ हजार रहेको छ । दोस्रो बढी सङ्ख्यामा कालो गैँडा छन् । दक्षिण अफ्रिका, नामिबिया, जिम्बावे, तान्जानिया र केन्यामा पाइने यो प्रजातिको सङ्ख्या करिब पाँच हजार छ सय रहेको छ । तेस्रो बढी सङ्ख्या नेपाल–भारतमा पाइने एकसिङे गैँडाको छ । यिनको सङ्ख्या झन्डै तीन हजार छ सय छ । अहिले भारतका सात र नेपालका चार राष्ट्रिय निकुञ्जमा गैँडा पाइन्छन् ।
इन्डोनेसियाको सुमात्रा टापुमा पाइने सुमात्रान गैँडा र जाभा टापुमा पाइने जाभान गैँडाको सङ्ख्या एक सयभन्दा तल रहेको छ ।

नेपालमा गैँडा
नेपालमा सन् १९७० को दशकमा झन्डै ८० को सङ्ख्यामा रहेका गैँडा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरेपछि बढेर सन् १९८८ मा ३५८ वटा पुगेका थिए । गैँडालाई एक ठाउँमा मात्रै जोगाएर राख्दा कुनै रोगव्याधि, बाढी वा चोरी सिकारका कारण विनाश हुन सक्ने सम्भावना रहेकाले गैँडाको दोस्रो बासस्थान कायम गर्न सन् १९८६ देखि गैँडा स्थानान्तरण गर्न थालियो । सन् १९८६ देखि सन् २०१७ को अवधिमा चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौ गरी कुल एक सयवटा गैँडा स्थानान्तरण गरिएको छ । सन् २०१५ मा गरिएको पछिल्लो गणनामा चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गरी नेपालमा गैँडाको कुल सङ्ख्या ६४५ पुगेको छ ।

गैँडाको चोरी सिकार
खागका लागि विश्वभर दैनिक २.५ वटा गैँडाको चोरी सिकार हुने गरेको छ । नेपालमा समेत सबैभन्दा बढी सङ्ख्यामा चोरी सिकार गरिने वन्यजन्तु गैँडा हो । चोरी सिकार नियन्त्रण गर्न सन् १९६२ मा गैँडा गस्तीको व्यवस्था गरी चितवन, नवलपुरका गैँडाका प्रमुख बासस्थानहरूमा पोस्ट खडा गरेर सशस्त्र दस्तालाई राखिएको थियो । यस किसिमको व्यवस्थाबाट समेत गैँडाको चोरी सिकार नियन्त्रण हुन नसकेपछि सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरियो र सन् १९७८ देखि गैँडा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइयो । त्यसपछि गैँडाको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भयो । तर, नब्बेको दशकपछि गैँडाको चोरी सिकार क्रमिक रूपमा वृद्धि भयो र सन् २००२ मा चोरले चितवनमा ३८ वटा गैँडा मारे । द्वन्द्वकालमा बर्दिया राष्ट्रिय निकुञ्जको बबई भ्यालीमा स्थानान्तरण गरिएका सबै गैँडा चोरी सिकारीले मारे । त्यसपछि चोरी सिकार नियन्त्रण गर्न गरिएको प्रयासस्वरूप सन् २०११, सन् २०१३, सन् २०१५ र सन् २०१६ मा गैँडाको चोरी सिकार शून्य भयो । सन् २०११ देखि सन् २०२० को अवधिमा चोरी सिकारका कारण चारवटा मात्रै गैँडा मरेका छन् । पछिल्लो समयमा गत भदौ २१ गते चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारीले एउटा गैँडा मारे ।

संरक्षणमा अन्य चुनौती
गैँडा संरक्षणमा अन्य चुनौतीहरूमा बासस्थानको क्षेत्रफल घट्दै जानु र उपलब्ध बासस्थानको उचित व्यवस्थापन नहुनु तथा मानव–गैँडा द्वन्द्व रहेका छन् । अहिले निकुञ्जमा खरखडाइ काट्ने र गाईबस्तु चराउने सदीयौँदेखिको प्रचलन हट्दै जानाले घाँसेमैदान इकोसिष्टमको स्व–सञ्चालन र सन्तुलन टुटेको छ । जसले गर्दा साबिकका घाँसमैदानहरू वन र झाडीमा रूपान्तरण भएका छन् । रैथाने घाँसका प्रजातिहरू लोप हुँदै गएका छन् । सरकारीस्तरबाट गरिने घाँसेमैदान व्यवस्थापनको काममा लामो कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुँदा फागुन अगाडि घाँसेमैदान व्यवस्थापनको काम गर्न सकिएको छैन । मध्यवर्ती क्षेत्रमा रहेको गैँडाको बासस्थान मानव बसोवास तथा खेतिपाती र मोटरबाटो, फुटबल मैदानजस्ता भौतिक संरचनाहरू निर्माण गरेर अतिक्रमण र खण्डीकरण भइरहेको छ । गैँडाको आक्रमणबाट बर्सेनि मानिसको मृत्यु हुने तथा घाइते हुने गरेका छन् । गैँडा चरनका लागि बारम्बार नजिकैको खेतबारीमा निस्कने गर्छ र त्यतिबेला मानिस र बालीनालीलाई क्षति पु¥याउने गर्छ । पीडित किसानले थापेको विद्युतीय धरापमा परेरसमेत गैँडा मर्ने गरेका छन् । खेतबारीमा पसेर तोरी खाएका गैँडा त्यसबाट उत्पादन भएको विषाक्त रसायनका कारण आमाशयको छाला डढेर मरेको अध्ययनबाट पुष्टि भएको छ ।

तीनखम्बे संयन्त्र
गैँडा संरक्षणका लागि नेपाल सरकारले अवलम्बन गरेको तीनखम्बे संयन्त्र निकै प्रभावकारी देखिएको छ । निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गरी खडा गरेको तीनखम्बे संयन्त्रले गैँडाको चोरी सिकार नियन्त्रण, यसको बासस्थानको व्यवस्थापन र गैँडाका कारण उत्पन्न हुने द्वन्द्व न्यूनीकरण तथा संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । यो संयन्त्रलाई थप सहयोग पु¥याउन जिल्लास्तरमा वन्यजन्तु अपराध नियन्त्रण समिति गठन हुने गर्छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले समेत वन्यजन्तु अपराधका घटना हेर्ने व्यवस्था गरिएको छ । वन्यजन्तुसम्बद्ध अपराधीसमेत नेपाल प्रहरीको उच्च निगरानीमा रहने हुँदा पछिल्ला वर्षहरूमा गैँडाको चोरी सिकार नियन्त्रण कार्य प्रभावकारी भएको छ । फलस्वरूप पछिल्लो एक दशकमा छिटपुट घटनाबाहेक गैँडाको चोरी सिकार रोकिएको छ ।

सधैँ चुनौतीपूर्ण
नेपालले गैँडा संरक्षणमा विगत पाँच दशकदेखि उच्च प्राथमिकता दिँदै आएको भए पनि गैँडाको खागको अन्तर्राष्ट्रिय बजारमा हुने अवैध कारोबारका कारण यसको संरक्षण सधैँभर चुनौतीपूर्ण हुने देखिएको छ । सहरीकरण र खेतियोग्य जमिनको उपयोगमा आएको परिवर्तनका कारण गैँडाको विचरण क्षेत्र बर्सेनि साँघुरिँदै गएको छ । जसले गर्दा गैँडालाई मङ्सिरदेखि फागुनसम्मका चार महिना आहाराको कमी हँुदै गएको छ । चारैतर्फ निर्माण गरिएको तारबारका कारण निस्कन सक्दैनन् । आहाराको अभावमा गैँडाको मृत्युदर बढ्दै जाने देखिएको छ । पूर्वी चितवनबाट गैँडाहरू पश्चिमतर्फ बसाइँ सर्दै जानु र गत वर्षहरूमा गैँडाको मृत्युदर बढ्नुमा हिउँदमा गैँडालाई आहाराको कमी हुनु मुख्य कारक तŒव रहेको छ । यस्तो जटिल समस्या समाधान गर्न घाँसेमैदान व्यवस्थापनको काममा लाग्ने गरेको लामो कानुनी प्रक्रिया छोट्याउनुपर्छ । यसो गरेमा असोजपछि तत्कालै घाँसेमैदान व्यवस्थापनको काम गर्न सकिनेछ र मङ्सिरदेखि फागुनसम्म हुने घाँसको अभावलाई पूर्ति गर्न सकिनेछ ।
अर्कोतर्फ, गैँडाको मुख्य बासस्थान निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाँडिएको छ । मध्यवर्ती क्षेत्रको प्रायः सबै वन सामुदायिक वनका रूपमा व्यवस्थापन गरिएको छ । पर्यटकीय गतिविधि सञ्चालन गरेका एकाधबाहेक सबै वन उपभोक्ता समूहहरूलाई गैँडाको रेखदेख गर्न तथा बासस्थान सुधार गर्न बजेट अभाव हुने गरेको छ । विगतमा सामुदायिक वन उपभोक्ता समूहहरू निष्क्रिय भएका ठाउँबाट चोरी सिकारीहरू प्रवेश गरी गैँडा मार्ने गरेका थिए । त्यसैले गैँडा संरक्षणमा महŒवपूर्ण भूमिका खेल्ने सामुदायिक वन उपभोक्ता समूहहरूको आर्थिक रूपमा सबल र संस्थागत क्षमता अभिवृद्धि गर्न जरुरी छ । 
(लेखक चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका
संरक्षण अधिकृत हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?