logo
२०८१ बैशाख १४ शुक्रवार



महिला पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ - देउवा

राष्ट्रिय |


महिला पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ - देउवा



गोरखापत्र समाचारदाता
काठमाडौं, असोज ५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलाहरूले आफ्नो प्रतिभा र क्षमता देखाएर काँग्रेसको पार्टी सभापति बन्न सक्ने बताउनुभएको छ । सभापति देउवाले महिला मतदाताको सङ्ख्या बढाउँदै लगेमा काँग्रेसको सभापति मात्र होइन पार्टीको तर्फबाट प्रधानमन्त्री र राष्ट्रपतिजस्ता सर्वोच्च पदमा पुग्न कसैले रोक्न सक्दैन, भन्नुभयो ।
मंगलादेवी स्मृति प्रतिष्ठानको आयोजनामा लौहपुरुष गणेशमान सिंहको २३ स्मृति दिवसका सन्दर्भमा सोमबार आयोजना गरिएको ‘नेपालमा महिला समानताको संवैधानिक तथा कानुनी व्यवस्था र समावेशिताको वर्तमान अवस्था’ विषयक भच्र्युल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो विचार राख्नुभएको हो ।
छलफलमा काँग्रेसको १४ औं महाधिवेशनमा महिलालाई सभापति बनाउनेबारे तपाईंको विचार छ के भनी सभापति देउवासमक्ष जिज्ञासा राखिएको थियो ।
त्यसपछि सभापति देउवाले भन्नुभयो, ‘‘म त महिलामैत्री मान्छे हुँ, महिला आयोग मैले नै बनाएको हो, पार्टीका तल्लो तहसम्मको कार्यसमितिमा महिलाको ३३ प्रतिशत स्थान सुरक्षित गरिएको छ । अब पार्टीका सहमहामन्त्री, महामन्त्री, उपसभापति, सभापति सबै पदमा महिला पुग्न सक्नुहुन्छ ।’’
आ–आफ्नोतर्फबाट मतदाताको सङ्ख्या बढाउन सबै महिलासँग आग्रह गर्दै उहाँले गणेशमान सिंहको सङ्घर्ष, बलिदान र त्याग अनुकरणीय रहेको चर्चा गर्नुभयो । सभापति देउवाले महिला अधिकारका लागि राणाशासनदेखि पञ्चायतकालसम्म अतुलनीय सङ्घर्ष गर्ने साहसी महिलानेत्री मंगलादेवी सिंहले कुनै लाभको पद भने नपाएको उल्लेख गर्नुभयो ।
पूर्व महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री पदको प्रस्ताव राजाबाट आउँदा गणेशमान सिंहले त्यसलाई अस्वीकार गर्नुभएको चर्चा गर्दै उहाँले १५ वर्ष जेल र त्यति नै भारत समय प्रवासमा बस्नुपरेको बताउनुभयो । नेता सिंहले काँग्रेस महाधिवेशन स्वस्थ प्रतिस्पर्धाका आधारमा विधानसम्मत् हुनुपर्नेमा जोड दिनुभयो ।
नेत्री सुजाता कोइरालाले पार्टीभित्र माथिदेखि तलसम्म झागिएको गुट उपगुटलाई अन्त्य गर्ने दिशामा क्रियाशील हुन सभापति देउवालाई आग्रह गर्नुभयो । पूर्व उपप्रधानमन्त्री पनि रहनुभएका कोइरालाले धेरै खर्च नगरी र विना तामझाम महाधिवेशन हुनुपर्छ, काँग्रेस पार्टी पैसावालाको मात्र होइन, केही नहुनेले पनि उम्मेदवार भएर जित्न सक्ने वातावरण सिर्जना गरिनुपर्छ, भन्नुभयो ।
महिला नेत्री डा. डीला सङ्गौलाले संविधान र कानुनले व्यवस्था गरेका समावेशी र समानुपातिक व्यवस्थाको अक्षरशः पालना हुनुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री एनपी साउदले नेतृत्व तहमा आउन महिलाले पनि सशक्त र प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष गंगालक्ष्मी अवालको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले पार्टी र राज्यका सबै निकायमा महिलाको ५० प्रतिशत पहुँच सुरक्षित हुनुपर्ने भनाइ राख्नुभयो ।
काँग्रेस बैठक १९ असोजमा
यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते सोमबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको छ । यस्तै, सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको जनसम्पर्क समन्वय विभागलाई विस्तार गर्नुभएको छ । प्रमुखसहित विभागका सदस्यको सङ्ख्या ३५ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?