logo
२०८१ बैशाख १४ शुक्रवार



पहिलो दिन बसमा यात्रु भएनन्, स्थानीय तहको रोक कायमै

राष्ट्रिय |


पहिलो दिन बसमा यात्रु भएनन्, स्थानीय तहको रोक कायमै


केशवराज पौडेल
काठमाडौं, असोज १ गते । बिहीबार कोटेश्वर पूर्वको सबैभन्दा ठूलो अरनिको यातायात सेवा प्रालिका चार ओटा बसमात्रै सेवा दिन राजधानीबाट बाहिरिए । काठमाडौं उपत्यकामा दिउँसो २ बजेसम्म एउटा बस पनि भित्रिएन ।
अघिल्लो वर्षको यही समयमा अरनिको यातायात सेवा प्रालिका पाँच सयभन्दा धेरै बसहरुले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखाका अधिकांश भागमा सेवा पु¥याउँथे ।
सरकारले अशोज १ देखि सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यकामा रहेका अरनिको यातायात सेवा समितिका सात वटा काउन्टर खुल्ला भएका थिए । तर यात्रु नै नभएपछि टिकट काट्ने र गाडी छोड्ने भएन ।
अरनिको यातायात सेवा प्रालिका अध्यक्ष चित्रबहादुर कुँवर गाडीमा चढ्ने मान्छे नै नभएको बताउनुहुन्छ । ‘हामीले सरकारले निर्णय गरेसँगै सबै गाडीहरुलाई बसपार्कमा ल्याएर तयारी अवस्थामा राखेका छौँ, यात्रु नभएपछि टिकट काट्ने काम नै भएन’ कुँवरले बताउनुभयो ।
एकातिर काठमाडौंबाट बाहिर जाने यात्रु नभएपछिको समस्या छ भने अर्काेतर्फ काठमाडौं आउन र जान स्थानीय प्रशासनले रोक लगाएका कारण सार्वजनिक यातायात सहज रुपमा संचालन हुन सकेका छैनन् । अरनिको यातायात सेवा प्रालिका काठमाडौं आउन लागेको बसहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछापले रोकेको र दिउँसो बैठक बसेर मात्रै खोल्न सकिने जानकारी प्रशासनले दिएको अध्यक्ष कुँवरले बताउनुभयो ।
नेपाल यातायात व्यवसायी महासंघका उपमहासचिव रवि रिमाल सरकारले यातायात संचालन गर्ने निर्णय गरे पनि जिल्ला जिल्लामा स्थानीय प्रशासनले रोक लगाउन थालेको बताउनुभयो । उहाँले रसुवा र नुवाकोटमा त्यहाँको प्रशासनले रोक लगाएको र धेरै ठाउँमा सवारी साधन जान रोक लगाएको बताउनुभयो ।
त्यहाँमात्रै नभएर पश्चिमका जिल्लाहरुमा समेत जाने सवारी साधनहरुलाई स्थानीय प्रशासनले चल्न रोक लगाएको रिमाल बताउनुहुन्छ । पाल्पामा समेत स्थानीय प्रशासनले गाडी चलाउन दिएको छैन उहाँ भन्नुहुन्छ ।
अशोज ५ र अशोज १ गतेदेखिको फरक फरक निर्णय आएको कारणले यात्रुहरु दोधारमा परेको हुन सक्ने रिमालको अनुमान छ । आज पहिलो दिन भएको र विश्वकर्मा पूजासमेत भएकाले कम गाडी संचालनमा आएका हुन रिमाल भन्नुहुन्छ ‘ स्थानीय प्रशासनले अवरोध नगर्ने हो भने केही दिनमै नियमित रुपमा गाडी चल्छ ।’
बिहीबार धादिङ चल्ने र काभ्रेपलाञ्चोकको बनेपासम्म नियमित रुपमा गाडीहरु संचालन भएका छन् भने काठमाडौंमा पनि छोटा रुटमा गाडी संचालन भैरहेका छन् ।

अग्रिम टिकट बारे छलफल भएको छैन
उपमहासचिव रिमाल टिकटको बारेमा यातायात व्यवस्था विभागसँग छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीले अब नियमित रुपमा गाडी चल्न थालेपछि दसैँको अग्रिम टिकटको बारेमा छलफल चलाउनेछौं' उहाँले भन्नुभयो ।
'सरकारले काठमाडौंमा बसेर गरेको निर्णय जिल्लाले मानेको छैन यसैले हामी नियमित गाडीहरु संचालन गर्न सक्ने अवस्थामा छैनाैं, पहिला सहज होस् अनि त्यसपछि दसैँको अग्रिम टिकटबारे छलफल अघि बढ्छ', रिमालले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?