logo
२०८१ बैशाख १५ शनिवार



भारतबाट औषधि खरिद गरिँदै

राष्ट्रिय |


भारतबाट औषधि खरिद गरिँदै


भउचप्रसाद यादव

काठमाडौँ, वैशाख ११ गते । नेपाली सेनाले कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि भारतसँग दुई करोड ४० लाख रुपियाँ (एक करोड ५० लाख भारतीय रुपियाँ)को औषधि खरिद गर्दैछ । भारतसँग औषधि खरिद गर्न भुक्तानी दिने अन्तिम तयारी भइरहेको नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भन्नुभयो, “परराष्ट्र मन्त्रालयमार्फत नयाँदिल्लीस्थित नेपाली राजदूतावासलाई रकम पठाइने छ र राजदूतावासले नै सम्बन्धित कम्पनीलाई भुक्तानी गरेर औषधि लिने काम गर्दछ । ” सेनाले भारतसँग ५३ प्रकारका औषधि खरिद गर्न लागेको हो । औषधि खरिदका लागि रकम पठाउन आवश्यक प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो ।
“रकम भुक्तानीका लागि नेपाली सेनाले रक्षा मन्त्रालयलाई पत्राचार गर्नेछ र रक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी नयाँदिल्लीस्थित नेपाली राजदूतावासलाई रकम पठाउने छन्,” प्रवक्ता पाण्डेले भन्नुभयो । राजदूतावासका प्रतिनिधिले नै सम्बन्धित भारतीय औषधि कम्पनीसँग हस्ताक्षर गर्ने जानकारीसमेत उहाँले दिनुभयो ।
भारतको सरकारी कम्पनीबाट औषधि खरिद गर्न लागिएको र सरकारी कम्पनीले सम्झौता गर्न नमिल्ने भएकाले राजदूतावासमार्फत खरिद प्रक्रिया अगाडि बढाइएको उहाँले स्पष्ट पार्नुभयो । औषधि कम्पनीले सम्पूर्ण औषधि राजदूतावासलाई हस्तान्तरण गर्नेछ र त्यहाँबाट नेपालले ढुवानी गर्नेछन्, उहाँले भन्नुभयो । यसअघि औषधि खरिदका लागि भुक्तानी दिन जङ्गी अड्डाको खरिद एकाइले भारतलाई ‘मोड अफ पेमेन्ट’का लागि पत्र पठाएकोे थियो ।
नेपाली सेनाले यसअघि ‘जीटूजी’ प्रक्रियाबाट चीनसँग ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न करिब सवा दुई अर्ब रुपियाँ (एक करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर)को सम्झौता गरिसकेको छ । चीन सरकारको स्वामित्वमा रहेको चाइना सिनोफर्म कम्पनीबाट स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । चीनलाई सम्झौता अनुसारको रकम भुक्तानी गरिसकिएको र अबको एक हप्ताभित्र अति आवश्यक स्वास्थ्य सामग्री नेपाल आइपुग्ने सेनाले जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?