logo
२०८१ बैशाख १५ शनिवार



एउटै खोलामा छवटा जलविद्युत् आयोजना

राष्ट्रिय |


एउटै खोलामा छवटा जलविद्युत् आयोजना


सन्तोष राउत

सोलुखुम्बु, फागुन १० गते । हिमालहरूको जिल्ला सोलुखुम्बुको एउटै खोलामा छवटा विद्युत् आयोजना सञ्चालनमा छन् । कुनै पूरा भए भने कुनैमा धमाधम काम भइरहेको छ । सदरमुकाम सल्लेरीमुनि भएर बग्ने यो खोलाको नामै सोलुखोला हो । नुम्बुर हिमालको काखबाट उत्पत्ति भएको सोलुखोलाको विभिन्न स्थानमा बन्ने सानादेखि ठूला जलविद्युत् आयोजनाका कारण सोलुखुम्बुलाई मात्र होइन, देशलाई नै जलविद्युत्मा योगदान दिन सक्नेछ ।
सोलुखोलामा मात्र २१५ मेगावाट विद्युत् उत्पादन हुने गरी पाँचवटा जलविद्युत् आयोजना धमाधम निर्माणको प्रक्रियामा छन् भने एउटा जलविद्युत् आयोजना तीन दशकदेखि सञ्चालनमा छ । देशको राजधानीलगायतमा विगतमा घण्टौँ विद्युत् कटौती हुँदा सोलुखुम्बुको सदरमुकाम सल्लेरी भने झलमल्ल थियो ।
सोलुखोलाअन्तर्गत सबैभन्दा सिरानमा निर्माण भइरहेको पाँच दशमलव दुई मेगावाटको जुनबेँसी खोला जलविद्युत् आयोजना छ । त्यसैगरी दोस्रोमा १८ मेगावाटको बेनीखोला जलविद्युत् आयोजना हो भने तेस्रोमा २३.५ मेगावाटको अपरसोलु विद्युत् आयोजना, चौथोमा ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजना र पाँचौँमा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी विद्युत् आयोजना छ ।

तीव्र निर्माणमा जुनबेँसी
सोलुखोलाको सिरानमा दोभान हाइड्रोपावर प्रालिले सोलुखोलाको जुनबेँसीमा जलविद्युत् आयोजना बनाउँदैछ । यो ५.२ मेगावाट बिजुली उत्पादन हुने गरी निर्माण भइरहेको छ । कम्पनीले केही समययता निर्माणलाई तीव्रता दिएको छ ।
करिब तीन किलोमिटर दूरीमा पानीको पाइप लाइन रहने उक्त विद्युतको पानीका मुहान बेनी–४ जुनबेँसीमा र बेनी–६ खाम्जेस्थित नाजिङमा विद्युतगृह रहनेछ । करिब ९८ करोड रुपियाँको लागतमा निर्माण हुने उक्त जलविद्युत् बैङ्किङ् क्षेत्रको ७० प्रतिशत र कम्पनीको ३० प्रतिशतको लगानी रहनेछ ।

बेनी बन्दै १८ मेगावाट
दोस्रो स्थानमा १८ मेगावाटको विद्युत् उत्पादनको काम तीव्र रूपमा अघि बढेको छ । करिब तीन अर्ब रुपियाँको लगानीमा चार वर्षभित्र सम्पन्न गर्ने गरी छ वर्ष अघि निर्माण थालिएको आयोजनालाई शर्त पालना नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न निर्माण रोकेपछि निर्माण ढिला भएको थियो । यता केही समययता निर्माण सुचारु भइरहेको छ ।
अपर सोलुखोला हाइड्रोपावर प्रोजेक्ट अन्तर्गत बेनी हाइड्रोपावर प्रा. लि.ले बेनी ९ मा ड्याम राखेर सुरुङबाट पानी लगेर तामाखानी १ मा पावरहाउस रहने आयोजनाका प्रबन्ध निर्देशक पीजी शेर्पाले जानकारी दिनुभयो । साढे दुई किलोमिटर लामो सुरुङको धेरैजसो काम सकिएको छ । यसमा स्थानीय, बैङ्क तथा एनआरएनले लगानी गरेका छन् ।

तीन दशकअघिको आयोजना
स्विस सरकारको सहयोगमा करिब तीन दशकअघि निर्माण भएर स्थानीयलाई हस्तान्तरण गरी सञ्चालनमा आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको कुल विद्युत् उत्पादन छ सय किलोवाट छ । कम्पनीले सदरमुकाम सल्लेरी तथा आसपासका क्षेत्रका करिब एक हजार छ सयभन्दा बढी ग्राहकलाई विद्युत् उपलब्ध गराएको छ । यो आयोजनाले विगतमा देशका प्रमुख सहरमा विद्युत् कटौती भए पनि सल्लेरी र आसपास भने उज्यालोमा रहेको स्थानीय आङदामी शेर्पा बताउनुहुन्छ ।

माथिल्लो सोलुखोला पूरा
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लि.द्वारा भर्खरै निर्माण सकिएको २३.५ मेगावाटको सोलु जलविद्युत् आयोजना महŒवपूर्ण आयोजना हो । नेपाल सरकारले अध्ययन गरेर निजीक्षेत्रलाई निर्माण गर्न दिएका नेपालका छ आयोजना (सुपर सिक्स) मध्येको एक आयोजना सन् २०११ बाट प्रारम्भिक काम सुरु गरी २०१४ बाट निर्माणको काम थालेको थियो ।
पूर्ण स्वदेशी लगानीमा निर्माण भएको आयोजनाको लागत चार अर्ब ४६ करोड रहेको आयोजनाका साइट प्रशासन प्रमुख बद्रीमान श्रेष्ठले जानकारी दिनुभयो । नेपालकै पहिलो सेडिकन प्रविधिको डिसेन्डर प्रयोग गरिएको छ । नदी प्रवाहमा आधारित आयोजनाको तल्लो भागमा १७० मिटर लामो टनेल, तीनसय नौ मिटर ‘लो प्रेसर’ र चारसय मिटर ‘हाई प्रेसर’ पेनस्टक पाइप छ ।
विद्युत्गृहमा ११.७५ मेगावाट विद्युत् उत्पादन गर्ने दुईवटा जेनेरेटर रहेको आयोजनाबाट वार्षिक १३२.५ गिगावाट आवर विद्युत् उत्पादन हुने बताइएको छ । आयोजनामा लक्ष्मी बैङ्कको नेतृत्वमा आठवटा बैङ्क र एउटा जलविद्युत् लगानी तथा विकास कम्पनी गरी ७५ प्रतिशत लगानी गरेका छन् भने २५ प्रतिशत कम्पनीले लगानी गरेको जनाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभीको सोलु कोरिडोर अन्तर्गत लाम्मानेमा निर्माण हुने सबस्टेसनमा जडान हुनुपर्नेमा हालसम्म निर्माण नभएकाले विद्युत् उत्पादन रोकिएको कम्पनीले जनाएको छ ।

तल्लो सोलु ठूलो आयोजना
एस्सेल क्लिन सोलु हाइड्रोपावर प्रा.लि.ले तिङ्ला क्षेत्रमा निर्माण भइरहेको तल्लो सोलु जलविद्युत् आयोजनाबाट ८२ मेगावाट विद्युत् उत्पादन हुनेछ । यसको काम तीव्र गतिमा भइरहेको छ भने करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । सरदर वार्षिक उत्पादन ४२५.४६ गिगावाट छ । चार हजार २६० मिटरको लम्बाइको हेडरेस सुरुङ बनाइने एस्सेल क्लिन सोलु हाइड्रोपावर प्रा.लि.ले जनाएको छ ।

छयासी मेगावाटको आयोजना
यो सोलुखोलाको पानीबाट अन्तिम आयोजना निजीक्षेत्रको पूर्ण स्वदेशी लगानीमा बन्न लागेको नेपालकै सबैभन्दा ठूलो आयोजना हो । ८६ मेगावाटको हाइड्रो भेन्चर प्रालिले साहस ऊर्जा कम्पनीको पूर्ण लगानीमा निर्माण गर्न लागेको आयोजनाको काम करिब ४५ प्रतिशत सकिएको छ । निर्माणको जिम्मा लिएको इटालियन कम्पनी सीएमसीले काम छोडेपछि अलपत्र रहेको आयोजना अहिले सीई कन्स्ट्रक्सनले गर्दैछ ।
सोलुखुम्बुको तिङ्लाबाट ४.५ किलोमिटर लामो सुरुङ मार्गमार्फत पञ्चनको मैकुबेँसी जलप्रवाह पु¥याएर निर्माण गरिने आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड छ भने आयोजनाले वार्षिक ५२०.८२ गिगावाट आवर विद्युत् उत्पादन गर्नेछ । यसमध्ये सुख्यायाममा १९.४५ प्रतिशत र वर्षायाममा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाको अहिले सुरुङ तथा अन्य संरचनाको निर्माण भइरहेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?