logo
२०८१ बैशाख १४ शुक्रवार



सीमा विवाद सम्बन्धमा परिणाममुखी पहल गर्न सरकारलाई काँग्रेसको ध्यानाकर्षण

राष्ट्रिय |


सीमा विवाद सम्बन्धमा परिणाममुखी पहल गर्न सरकारलाई काँग्रेसको ध्यानाकर्षण


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २६ गते । नेपाली काँग्रेसले सीमा विवाद सम्बन्धमा परिणाममुखी पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उसले भारतीय सीमा सुरक्षा बल रहेको कालापानी लगायतको भूभाग नेपाली भूमि रहेकोमा स्पष्ट रहेको जनाएको छ ।
ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसले सीमा विवादमा राष्ट्रिय एकता निर्माण भएको कालखण्डमा परिणाममुखी पहल गर्न सरकार समक्ष आग्रह गरेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, “कालापानी पूर्वका सबै भूभाग फित्र्ता लिन सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ, नेपाल सरकारलाई खुला र प्रष्ट समर्थन रहनेछ ।”
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको विषयमा चिकित्सा शिक्षा अध्ययनरत मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनलाई यथाशिघ्र सम्बोधन गर्न माग गर्नुभयो । उहाँले समस्या समाधानको लागि सरकार असफल भएको टिप्पणी गर्नुहुँदै तत्काल प्रभावकारी पहलकदमीका लागि आग्रह गर्नुभयो ।
निर्वाचन आयोगको भूमिकामा प्रश्न
नेपाली काँग्रेसले आचारसंहिता लागू भएपछि रिक्त पद समेत पूर्ति गर्न नपाइने प्रष्ट व्यवस्था उल्लेख हुँदाहुँदै निर्वाचन आयोगले प्रदेश प्रमुखहरुको बर्खास्त प्रकरणमा एकांगी धारणा सार्वजनिक गरेकोमा आपत्ति जनाएको छ । उसले सवैंधानिक आयोगले सरकारको कदममा निरिहता प्रकट गर्नुलाई लोकतान्त्रिक अभ्यासका लागि सुखद संकेत नरहेको दाबी गरेको छ । प्रवक्ता शर्माले आचार संहिता विपरितको कार्यबारे केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिले केही दिनभित्रै आयोगको नेतृत्वलाई भेटेर ध्यानाकर्षण गराउने जानकारी दिनुभयो ।
प्रवक्ता शर्माले उपनिर्वाचन केन्द्रित नेपाली काँग्रेसका मुद्दा र धारणाहरु केही दिनमा सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?