logo
२०८१ बैशाख २६ बुधवार



भोकमरीका कारण हरेक ५ सेकेण्डमा एकजना बालबालीकाको मृत्यु

राष्ट्रिय |


भोकमरीका कारण हरेक ५ सेकेण्डमा एकजना बालबालीकाको मृत्यु


सुरेशकुमार यादव

काठमाडौं असोज २९ गते । कृषि विकास तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले विश्वभर ८२ करोड मानिस खाद्य अभावको चपेटामा परेको बताउनु भएको छ ।

विश्व खाद्य दिवसको उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले विश्वभर अझै करिव ११ प्रतिशत अर्थात् ८२ करोड मानिस खाद्य अभावको चपेटामा रहेको बताउनुभयो । विश्वमा हरेक ५ सेकेन्डमा भोकमरीका कारण ५ वर्ष मुनिका एकजना बालबालीकाको मृत्यृ हुने तथ्याङ्क छ । एसिया तथा प्यासिफिक क्षेत्रमा कूल भोकमरीबाट ग्रस्त जनसंख्याको दुइ तिहाई जनसंख्या यही क्षेत्रमा रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

दक्षिण एसीयाली मुलुकहरुमा मात्र ५० करोडभन्दा बढी मानिस दीर्घकालीन खाद्य असुरक्षाको अवस्थामा रहेको उल्लेख गर्दै उहाँले संयुक्त राष्ट्रसंघको पहलमा दीगो विकासका लक्ष्यहरु कायम गरिएको छ त्यसमा सन् २०३० सम्ममा विश्वव्यापी रुपमै भोकमरीको अवस्था शुन्यमा झार्ने लक्ष्य रहेको सन्देशमा भन्नुभएको छ ।

पछिल्ला दुई दशकमा विश्वले खाद्य सुरक्षामा राम्रो उपलव्धी हासिल गरेपनि पनि सन् २०१५ देखि खाद्य सुरक्षाको अवस्था क्रमशः खस्किँदै गएको तथ्याङ्कले देखाएको छ । सन् २०५० सम्म विश्वको जनसंख्या करिव १० अर्व पुग्ने र त्यति जनसँख्यालाई आवश्यक खाद्यान्न आपूर्ति गर्न हालको उत्पादन बढाएर दोव्वर बनाउनु पर्ने मन्त्री खनालको सन्देशमा उल्लेख छ ।

नेपालको संविधान, २०७२ ले खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतालाई नागरिकको मौलिक हकको रुपमा सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री खनालले उल्लेखित मौलिक अधिकारलाई कार्यान्वयन गर्न “खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५” समेत जारी भइसकेको बताउनु भएको छ । यस ऐनले प्रत्येक नागरिकलाई खाद्य अधिकार तथा खाद्य सुरक्षाको हक हुने तथा प्रत्येक किसानलाई खाद्य सम्प्रभुताको अधिकार हुने व्यवस्था गरेको छ ।

नेपाल सरकारले कृषि उत्पादन वृद्धि तथा कृषि व्यवसायीकरण मार्फत खाद्य पोषण सुरक्षा बढाउन प्रविधि विकास र प्रसारको साथै अनुदानमा रासायनिक मल, प्रागांरिक मल, उन्नत बीउ उपलव्ध गराउँदै आएको छ । साथै कृषि ऋणमा व्याज अनुदान, कृषिमा यान्त्रीकिकरण, भण्डारण र बजार व्यवस्थापन लगायतका क्षेत्रमा बिशेष सहुलियत र अनुदानको व्यवस्था गरेको छ ।

साथै जोखिम व्यबस्थापनका लागि कृषि बिमा प्रिमियमको ७५ प्रतिशत अनुदान उपलब्ध गराउने कार्यक्रम समेत बिगत वर्षहरुदेखि नै संचालनमा रहेको उहाँले दावी गर्नभएको छ ।

सन् २०१८ मा प्रकाशित विश्व खाद्य संकट प्रतिवेदनले नेपालका करिव ३४ लाख मानिसको लागि खाद्य सहयोग आवश्यक रहेको र करिव ६४ लाख मानिस दीर्घकालीन खाद्य असुरक्षाको अवस्थामा रहेको देखाएको छ । २०७३ सालमा गरिएको नेपाल जनसंख्या तथा स्वास्थ्य सर्भेक्षणले देशको अझै पनि आधाभन्दा बढि जनसंख्या खाद्य असुरक्षाको अवस्थामा रहेको देखाएको थियो ।

नेपालको सन्दर्भमा पाँच वर्ष मुनीका बालबालिकाको दीर्घकालीन कुपोषणको दर करिव ३६ प्रतिशत रहेको छ भने बच्चा तथा वयस्कहरुमा मोटोपनाको समस्या पनि तीब्र रुपमा बढ्दै गएको छ ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर १६ अर्थात आजकै दिन विश्वका करिव १५० देशमा विश्व खाद्य दिवस मनाइन्छ । नेपालमा सन् १९८१ देखि मनाउन थालिएको यो ३९ औं दिवसको रुपमा मनाइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?