logo
२०८१ बैशाख १५ शनिवार



पानी वितरणमा सहजता

राष्ट्रिय |


पानी वितरणमा सहजता


गोरखापत्र समाचारदाता काठमाडौँ, असोज ६ गते ।काठमाडौँ उपत्यकामा पाँच/छ दिन बिराएर खानेपानी वितरण हुँदै आएकोमा हाल दुई–दुई दिनमा वितरण गर्न थालिएको छ । बाग्मतीमा पानीको मात्रा बढेकाले काठमाडौँका विभिन्न स्थानमा आपूर्ति सहज भएको छ । वितरणको तालिका परिवर्तन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले महाङ्काल, महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न थालेको छ । खानेपानीमन्त्री बिना मगरको निर्देशनमा केयूकेएलले काठमाडौँका मुख्य ठाउँहरूमा पानी वितरणलाई तीव्रता दिएको मन्त्रालयले जनाएको छ । वर्षात्को समयमा बाग्मतीमा पानीको बहाव बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरण गरिएको केयूकेएलका कम्पनी सचिव मिलन शाक्यले जानकारी दिनुभयो । पुरानै वितरण लाइनबाट पानीको आपूर्ति भइरहेको सचिव शाक्यले बताउनुभयो । शाक्यले भन्नुभयो, “वर्षात्मा बाग्मतीमा आएको पानीलाई प्रशोधन गरी वितरण गरिएको हो, पाँच÷छ दिन बिराएर वितरण गर्दै आइरहेका थियौँ, अहिले दुई दिन बिराएर वितरण गरेका छौँ ।’’ उहाँका अनुसार महाङ्कालचौरस्थित पानी ट्याङ्कीमा दैनिक डेढ करोड लिटर पानी थपिन्छ । महाङ्कालचौर शाखाको पानी अहिले चाबहिल, कपन, मैँजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानोबानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आइरहेको छ । महाङ्कालचौरबाट ९० हजार धारामा पानी वितरण हुँदै आएको छ । महाराजगञ्जको ट्याङ्कीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको शाखा प्रमुख रमेश केसीले जानकारी दिनुभयो । महाराजगञ्ज शाखाबाट चक्रपथ, महाराजगञ्ज, लाजिम्पाट, गैह्रीधारा, कपुरधारा, रानीबारी, सामाखुसी र असनमा पानी हुने गर्छ । यस क्षेत्रका आठ हजार धारामा पानी वितरण गरिँदै भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?