logo
२०८१ बैशाख १४ शुक्रवार



सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने इच्छा छ: प्रचण्ड

राष्ट्रिय |
फिचर |


सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने इच्छा छ: प्रचण्ड


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने इच्छा भएको बताउनुभएको छ । अध्यक्ष दाहालले आउने दशक समाजवाद निर्माणको दशक हुने भन्दै नेपाली क्रान्तिको भविश्य उज्ज्वल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास छ नेपालको भविश्य उज्जल छ । चुनौति छन्, टेढोमेढो छ बाटो, घुम्ती र मोडहरु छन् । यद्यपि, क्रन्ति र हिजो देखेको सपनाहरु सफल पार्न सम्भव छ । यसलाई कसैले पनि रोक्न सक्दैन ।

” पूर्व प्रधानमन्त्री दाहालले राजधानीमा शनिबार आयोजित ‘पूँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ पुस्तक लोकार्पण कार्यक्रममा भन्नुभयो, “समाजवादको झण्डा झुक्न दिइने छैन । पूँजीवादको अगाडि घुँडा टेकिने छैन ।” उहाँले समाजवादको कुन बाटो भन्ने विषयमा ‘ग्रेट डिबेट’ मा आफूहरु रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी समाजवादको नयाँ बाटो खोजेर अगाडि बढ्छौ या पूँजीवादको अगाडि आत्मसमर्पण गर्छौ । हाम्रो अगाडि यक्ष प्रश्न भनेकै यहि नै छ ।” उहाँले समाजवादी लडाई लडेरै मर्ने इच्छा व्यक्त गर्दै भन्नुभयो, “दलाल पूँजी र नोकरशाही पूँजीको लागि आत्मसमर्पण गर्छौ या समाजवादी बाटोमा जान्छौ ? लडाई जारी छ ।

यो लडाईमा तपाई कुन कित्तामा उभिनु हुन्छ ? म चाहिँ समाजवादी कित्तामा नै उभिएर, समाजवादी लडाई लडेरै मर्ने छु ।” उहाँले समाजवाद या पूँजीवाद भन्ने बहसमा नेतादेखि कार्यकर्तासम्म एउटा ऐतिहासिक अग्निपरीक्षा र चुनौतिको सामना गर्ने प्रक्रियामा रहेको बताउनुभयो । उहाँले नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने विषयमा विश्वमा भएका क्रान्ति र प्रतिक्रान्तिका तमाम् घटनाहरुको संश्लेषणसहित ठूलो बहस र संघर्षको बीचबाट गुज्रन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसको निम्ति नयाँ प्रयोगको बीचबाट गुज्रन जरुरी छ । संसारको लागि समाजवादको अवको मोडल यो भनेर दिनसक्ने ठाउँमा हामी छौ । हामीले हिम्मत हार्नु हुँदैन । हामीले आफ्नो प्रयास छाड्नु हुँदैन ।” उहाँले कम्युनिष्ट आन्दोलनलाई फेरि पनि लोकप्रिय बनाउने, कम्युनिष्ट आन्दोलनलाई सहि दिशातर्फ अगाडि बढाउने, राष्ट्रको एकता र स्वाधिनता सुदृढ बनाउनको लागि कम्युनिष्ट पार्टीहरुको एकता जरुरी छ भन्ने सचेत सोंचका साथ पार्टी एकता गरिएको समेत बताउनुभयो ।

उहाँले क्रान्तिकारी कार्यकर्ता वा नेताको चाहनाले मात्रै क्रान्ति पूरा नहुने आफ्नै अनुभव समेत बताउनुभयो । उहाँले भन्नुभयो, “चीनमा माओत्सेतुङले १९४९ मा सफल क्रान्ति गरेजस्तै जनमुक्ति सेना लिएर जनताको विशाल फौज लिएर काठमाडौँ आउन चाहन्थे म ।

म जति चाहने नेपालमा अहिलेको यो कालखण्डमा अर्को कोही पात्र छैन । म त्यसरी नै चाहन्थे ।” उहाँले थप्नुभयो, “किन कि १० वर्षको जनयुद्ध मार्फत् गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, सामाजिक न्याय, समानुपातिकता, समावेशीतासहित जनगणतन्त्रको स्पष्ट उद्देश्यका साथ लडाईको मोर्चामा अगाडि बढेको पार्टी र त्यसको नेताको हैसियतले सम्पूर्ण रुपले क्रान्ति सफल पार्ने चाहना अरुमा के हुन सक्छ र ?” उहाँले भन्नुभयो, “शान्ति प्रक्रियामा नआएर युद्धमै रहेको भए के हुन्थ्यो अहिले ? मैले ठीक गरे कि बेठिक गरे ? के हुन्थ्यो देश अहिले ? गणतन्त्र, संघीय, समावेशी र समानुपातिक भइहाल्थ्यो ? त्यो होइन, झन ठूलो निरंकुशता आउने खतरा थियो ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?