logo
२०८१ बैशाख १४ शुक्रवार



प्रचण्डको अध्यक्षतामा बैठक बस्ने

राष्ट्रिय |


प्रचण्डको अध्यक्षतामा बैठक बस्ने


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अब अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा अध्यक्ष ओली सिङ्गापुर प्रस्थान गर्नुअघि बिहीबार बोलाउनुभएको सचिवालय बैठकमा उहाँले आफ्नो अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसी सहमतिका आधारमा पार्टीका निर्णयहरू गर्न प्रस्ताव गर्नुभयो । उहाँको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकार गरेको जानकारी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयो ।
यसअघि दुई अध्यक्षमध्ये एक जना अनुपस्थित हुँदा बैठक बस्दैनथ्यो तर अब अध्यक्ष ओलीको अनुपस्थितिमा पनि सचिवालयको बैठक बसेर निर्णयहरू लिन सकिने सहमति बैठकले गरेको छ । एकताको बाँकी कार्य पूरा गर्न बुधबार सचिवालयको बैठक बसे पनि समय अभावका कारण कुनै निर्णय नगरी त्यो बैठक बिहीबारका लागि सारिएको थियो ।
बिहीबारको बैठक एजेन्डामा प्रवेश नै नगरी सिङ्गापुरमा हुने प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारबारे छलफल भएको थियो । स्वास्थ्यलाभको कामना गर्दै सबै सदस्यले उहाँलाई शुभकामना दिनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । अब एकताका बाँकी काम अध्यक्ष ओलीको अनुस्थितिमा पनि अगाडि बढ्ने भएको छ । अध्यक्ष प्रचण्डको अध्यक्षतामा बस्ने बैठकबाट छलफल गरी सर्वसहमतिले निर्णय हुन्छ । केही समस्या भए अध्यक्ष ओलीसँग फोनमा पनि परामर्श हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?