logo
२०८१ बैशाख १४ शुक्रवार



१५० स्थानमा सरकारी जग्गा मिचिएको उजुरी

राष्ट्रिय |


१५० स्थानमा सरकारी जग्गा मिचिएको उजुरी



सरोज आचार्य

काठमाडौँ, भदौ ५ गते । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगमा १५० स्थानमा सरकारी जग्गा मिचिएका उजुरी परेका छन् ।
आयोगमा परेका उजुरीमध्ये कतिपय गम्भीर प्रकृतिका छन् भने केही संस्थागत र व्यक्तिगत छन् । गत जेठ २० गतेबाट आयोगले काम थालेको हो । आयोगका सचिव एवं भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव शङ्करबहादुर थापाका अनुसार गुठी जग्गा मिचिएकोबारे हालसम्म परेको उजुरी थोरै छ । गुठी संस्थानले खासै विवरण पठाएको छैन ।
मुलुकका हरेक स्थानमा आयोगले छानबिन गरिरहेकोबारे सूचना सम्प्रेषण गरिरहेका छौँ भन्दै सचिव थापाले भन्नुभयो, “सरकारी निकायलाई पनि पत्राचार भइरहेको छ ।” मिचिएका जग्गाबाहेक सरकारले जग्गा अधिग्रहण गर्दाको जग्गाको अवस्था र मुआब्जा दिइएको÷नदिइएको वा जग्गाको लगत कट्टा भए÷नभएको भन्ने विषयमा पनि आयोगले जाँचबुझ गरिरहेको छ ।
सरकारले जग्गा अधिग्रहण गर्ने गरेको सडक, विद्युत्, खानेपानीलगायत आयोजना, परियोजनाका कार्यालयलाई यस विषयको कामकारबाहीबारे जानकारी दिन आयोगले सबै मन्त्रालयलाई पत्राचार गरिसकेको छ । मौजे पशुपति जनिएका तर हराइरहेका पशुपतिनाथको २३१ रोपनी जग्गाको विषयमा पनि यही सेरोफेरोमा अध्ययन थालिएको पशुपति क्षेत्र विकास कोषका अधिकारीले जानकारी दिएका छन् ।
अध्ययनपछि यसको विवरण आयोगमा प्रस्तुत हुन्छ । शङ्खमूल, पाटन दरबारस्थित ठूलो घण्ट आसपासका गुठी जग्गा, मैतीदेवी मन्दिरका जग्गालगायत देवस्थलका जग्गाको पनि अध्ययन थालिएको छ । गुठी संस्थानले जनकपुरमा गुठीको पचासौँ बिघा जग्गा अतिक्रमण गरेको विवरण आयोगसमक्ष पठाएको छ । संस्थानका प्रशासक नारायण चौधरीका अनुसार काठमाडौँ कमलपोखरीको उत्तरी सीमा मिचिएको विषयमा पनि आयोगमा पत्र दर्ता गरिएको छ ।
संस्थानले विभिन्न समयमा जग्गा अधिग्रहण गर्दा सरकारले तिर्न बुझाउन बाँकी ३१ अर्ब रुपियाँ बक्यौता रहेको पनि आयोगलाई जानकारी दिएको छ । गुठी संस्थानको अभिलेखअनुसार काठमाडौँमा मात्र लालमोहर, सनद, सवालअनुसार आधा दर्जनजति गुठीका पोखरी मिचिएको वा लोप भएको विवरण छ ।
काठमाडौँ महानगरपालिको वडा नं. ११ कार्यालय त्रिपुरेश्वरमा र ट्राफिक प्रहरी कार्यालय, कमलपोखरीमा वडा प्रहरी प्रभाग र युवा क्लब, नन्दीकेश्वर बहालमा स्थानीय क्लब, वनकालीमा वनकाली धर्मशाला लगायतका गुठी सम्पत्ति अर्कैको भोगचलनमा रहेको संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?