logo
२०७८ मंसिर १३ सोमवार



आगन्तुक चरा जाडो छल्न नेपाल आउने क्रम जारी

खुला |
पर्यटन |


आगन्तुक चरा जाडो छल्न नेपाल आउने क्रम जारी


दीपा चाैधरी

काठमाडौं, कार्तिक २३ गते । आगन्तुक चराहरु जाडो छल्न नेपाल आउने क्रम जारी  छ । हिउँदको समयमा नेपालमा नियमित आउने आगन्तुक चराहरु धेरैजसो आइसकेको र आउने क्रम दिसेम्बरसम्म जारी रहने चरा विशेषज्ञ डा.हेमसागर बरालले बताउनुभयो । उहाँका अनुसार यो समयमा आउने चरा जाडो छल्न लामो दूरीको यात्रा गरी नेपाल आउने गर्छन् ।

“ यसरी नेपाल आउने चराहरुको बासस्थान नयाँ हुने र प्राकृतिक तथा मानविय शिकारको अत्याधिक जोखिम हुने गर्छ,” विशेषज्ञ डा.बरालले भन्नुभयो, “ हिउँदको समयमा चिसो छल्न र ग्रीष्ममा बच्चा कोरल्न चराहरु नेपालमा आउँछन्, ऋतुअनुसार बसाइँसराई गरी नेपाल आउने चराहरु मध्ये हाँस प्रजातिका चरा, सिलसिलिया, ख्यालख्याले महाचिल जस्ता चराहरु धेरै संकटमा छन् । यिनीहरुको संख्या वर्षेनी घट्ने क्रममा रहेको छ ।” घट्ने क्रममा रहेका चराहरुको बास स्थान बिग्रनु, चोरी शिकारी, करेन्टलगाएर ठूलो संख्यामा चरालाई मार्ने, विषादीको प्रयोग, जलवायु परिवर्तन जस्ता कारणहरु मुख्य रहने गरेकाले वर्षेनी घट्ने चराको संख्या बढेको उहाँले बताउनुभयो ।

अनुकूल मौसम, सुरक्षित बासस्थान, चरन, प्रजनन्का लागि चराहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ गर्छन् । “ नेपालको धेरै अग्लो ठाउँमा पनि माछा पाइने गरेको छ, यसको कारण पनि चरालाई जान्छ,” डा. बरालले भन्नुभयो, “ चराले खाएको माछामा फूल हुन्छ, त्यो फूल राम्रोसँग नपच्दा चराको दिसा पानीमा पर्यो भने माछाको जन्म हुन्छ ।” यसरी चराले एक ठाउँबाट अर्को ठाउँमा वनस्पतिलगायत जीवजन्तु सार्न मद्दत गर्छ ।

प्राकृतिक हिसाबले चरा वातावरणीय उच्च सूचकको रुपमा रहेको डा. बरालले बताउनुभयो । “ तराईको आदिवासी थारुलाई नै उदाहरणको रुपमा लिन सकिन्छ जुन समुदाय प्रकृतिसँग एकदम नजिक छ जस्को लागि माछा नभइ नहुने प्रजाति हो, यसको गुण सार्ने काम पनि चराले गर्दै आएको छ ।” माछालाई थारु समुदायको विवाहमा शुभ संकेटको रुपमा प्रयोग गरिने र माछा नभइ विवाह नहुने उहाँले बताउनुभयो । डा.बरालका अनुसार नेपालमा करिब नौ सय प्रकारका चरा, दुई सयभन्दा बढी प्रजातिका माछा र सयभन्दा कम प्रजातिका भ्यागुता छन् । यिनीहरु मध्ये चराको संख्या नै धेरै रहेको र मानव जिवनमा चराको भूमिका पनि धेरै रहेको छ । “ यी चराहरु वर्ष भरि नेपालमा बस्दैनन्,” उहाँले भन्नुभयो, “ अन्य देशबाट बसाइँ गरेर नेपाल आउँछन् भने यहाँका रैथाने चराहरु अन्त जान्छन् । यसरी वर्षौंदेखि चराको बसाइँसराई हुँदै आएको छ ।

खास गरी हिउँदको समयमा उत्तरी भू–भागमा अत्यधिक चिसो र भारी हिमपात हुने भएकाले जाडो छल्न रुस, चीन, मंगोलिया, यूरोप, कोरिया र तिब्बतबाट चराहरु नेपालमा आउने गरेको उहाँले बताउनुभयो । हिउँदमा आगन्तुक चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म रहन्छ र चैतसम्म आफ्नो स्थायी बसोबासमा प्रजनन्का लागि फर्किसक्ने हुन्छ भने ग्रिष्माकालीन आगन्तुक चराहरु फेब्रुअरीदेखि आगस्टसम्म रहन्छन् यिनीहरु करिब छ महिनाको बसाइपछि आफ्नै ठाउँमा फर्किेने गरेको डा. बरालको भनाइ छ ।

नेपालमा सिमसार क्षेत्र धरै रहेकाले हिउँदमा आगन्तुक चरा गर्मीयामको शुरूआतसँगै आफ्नो बास स्थान फर्किसक्दा फेरि दक्षिणी मुलुकहरू भारत, श्रीलंका र अफ्रिकाबाट हजारौं ग्रीष्मकालीन आगन्तुक चरा नेपाल आइपुग्ने बताउनुभयो । उहाँका अनुसार नेपाल चराको लागि मध्य एसियाली उडान मार्गमा अवस्थित छ । चराको बसाइँसराइले मानिसको पारिस्थितिक प्रणाली, राष्ट्र र संसारलाई जोडेको छ । चराको प्रजनन्का लागि नेपालको हावापानी उपयुक्त छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?