logo
२०७८ मंसिर १९ आईतवार



सडक दुर्घटना र मानसिक स्वास्थ्य

विचार/दृष्टिकोण |


सडक दुर्घटना र मानसिक स्वास्थ्य


डा. नरेन्द्रसिंह ठगुन्ना

चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनहरू र निजी साधनको समेत प्रयोग गरेर गन्तव्यमा पुग्ने गरिन्छ । यो समयमा सडक दुर्घटना धेरै बढ्नुले मानवीय क्षति हुनुका साथै ठूलो सार्वजनिक समस्याका रूपमा देखापरेको छ । प्रहरीको तथ्याङ्कअनुसार दशैँ अवधिमा असोज २१ गतेदेखि ३१ गतेसम्म मात्र देशभर भएको दुर्घटनामा ६७ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको छ । दशैँको समयमा भएको दुर्घटनामा १७ जना गम्भीर घाइते भए भने छ जना सामान्य घाइते भएका छन् । २६ असोजको दिउँसो नेपालगञ्जबाट मुगु आउँदै गरेको बस छायानाथ रारा नगरपालिका–७, पिनागाउँको तपने खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।
असोज ३० गते देशका विभिन्न भागमा भएका दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । असोज ३१ गते मात्र देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ सङ्गठनका अनुसार सवारी दुर्घटनामा वार्षिक १३ लाखभन्दा बढीले ज्यान गुमाउने गरेका छन् भने दुईदेखि पाँच करोड मानिस घाइते हुने गरेका छन् । भारतमा हरेक वर्ष एक लाख ५० हजारभन्दा बढी मानिसले सडक दुर्घटनाबाट ज्यान गुमाउने गरेको पाइन्छ भने नेपालमा हरेक वर्ष दुई हजार तीन सयभन्दा बढी मानिसले सडक दुर्घटनाबाट ज्यान गुमाउने गरेको तथ्याङ्क छ ।

ट्राफिक व्यवस्थापन महाशाखाका अनुुसार नेपालमा वार्षिक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पछिल्लो समयमा बढ्दो क्रममा छ । आर्थिक वर्ष २०६८/६९ मा १८३७, आर्थिक वर्ष २०६९/७० मा १८१६, आर्थिक वर्ष २०७०/७१ मा १७८७, आर्थिक वर्ष २०७१/७२ मा २००४, आर्थिक वर्ष २०७२/७३ मा २००६, आर्थिक वर्ष २०७३/७४ मा २३८४, आर्थिक वर्ष २०७४/७५ मा २०८७ र आर्थिक वर्ष २०७५/७६ मा २७७९ रहेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म ३० वर्षमा आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा धेरै १० हजार ३० वटा दुर्घटना भएको थियो भने त्यसपछि आर्थिक वर्ष २०७७/७८ मा नौ हजार ५४५ वटा दुर्घटना भएको थियो ।

सवारी दुर्घटनाका कारण
सवारी दुर्घटना हुनुमा चालक, बाटो, यान्त्रिक गरी तीन कारणलाई मुख्य मानिन्छ । सवारी दुर्घटनाको मुख्य कारणमध्येको एक यान्त्रिक कारण हो । विश्वका विभिन्न देशमा भएको अध्ययनअनुसार १२ प्रतिशत यान्त्रिक कारणले दुर्घटना हुने गरेको तथ्याङ्क छ । चालकको मानसिक स्वास्थ्यको अवस्थाको पनि महìवपूर्ण भूमिका रहेको हुन्छ । दुर्घटनाको लगभग ९५ प्रतिशत जोखिमपूर्ण ड्राइभिङ व्यवहारका कारण भएको छ । जोखिमपूर्ण ड्राइभिङ व्यवहार निम्नानुसार छन्– पैदल यात्रीलाई रोक्न असफल, धम्की वा अपमानजनक शब्दहरू र इसाराहरू, अन्य सवारीसाधनको पिछा गर्नु, कसैलाई बाटो दिन बाध्य पार्नु, अनुचित बाटो र लेन परिवर्तन गर्नु, सिग्नलबिना लेन परिवर्तन गर्नु, ओभरटेक गर्नु, अन्य सवारीसाधनलाई रोक्नु, लेन परिवर्तन गर्नु, अरूलाई जानबाट रोक्नुजस्ता देखिएका छन् ।
नेपालमा सवारी दुर्घटना हुनुमा कुनै एक कारण मात्र जिम्मेवार देखिँदैन । सवारी दुर्घटनाका कारण हरेक वर्ष ७४ प्रतिशतको ज्यान चालककै लापरबाहीका कारण गएको छ । त्यसैगरी ओभरस्पिड, मादक पदार्थ सेवन (मापसे), ओभरटेक, मेसिनमा खराबीलगायतका कारण दुर्घटना हुँदै आएका छन् । सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवी चालकको कमी, मापदण्डविपरीत बनेका सडक संरचना, सवारीसाधन प्रयोगकर्तामा सवारी नियमको ज्ञानको अभाव, सवारीसाधनको कमजोर अवस्था, सडक प्रयोगकर्ताको लापरबाही सडक दुर्घटना निम्त्याउने प्रमुख कारण बनेका छन् । समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएकोे छ । साना सवारी चालकले लापरबाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्ने, सडक साँघुरा र खाल्डाखुल्डी आदि पनि दुर्घटनाका कारण बनिरहेका छन् ।

मानसिक समस्या
विभिन्न अध्ययनले देखाएअनुसार सवारी दुर्घटना हुनुमा चालकको मानसिक स्वास्थ्य अवस्थाको पनि महìवपूर्ण भूमिका रहेको हुन्छ । केही मानसिक विकारहरू सडक दुर्घटनाको घटनालाई प्रभावित गर्छन् । चालकमा केही मानसिक स्वास्थ्यको समस्याहरू जस्तै, निन्द्रासम्बन्धी समस्या, अल्कोहलसम्बन्धी समस्या, डिमेन्सिया, अल्जाइमर, स्किजोफ्रेनिया, चिन्ता, डिप्रेसन र पोस्ट–ट्रमेटिक तनाव विकार भएमा दुर्घटनाका कारण बन्ने सम्भावना हुन्छ । तनाव, डर, चिन्ता र भावनात्मक अवस्थाले चालकको ड्राइभिङ क्षमतालाई प्रभावित गर्न सक्छ ।
निद्राको कमीले सवारी दुर्घटनाको कारण बन्छ । निद्राको कमीले सङ्ज्ञानात्मक कमजोरी र स्मृति ह्रास निम्त्याउँछ । निद्रा अभाव र आरामबिना घण्टौँ ड्राइभिङ गर्दा सवारी दुर्घटनाको जोखिम बढ्दछ । अवरोधात्मक निद्रा (एपनिया) एक गम्भीर चिकित्सा अवस्था मानिन्छ । रातमा पुनस्र्थापनात्मक निद्राको कमीका कारण, अवरोधक स्लिप एपनियासँग मानिसलाई अक्सर दिनको समयमा सुत्ने, थकान र चिडचिडाहट बढी हुन्छ ।

अटेन्सन डिफिसिट हाइपरएक्टिव डिसअर्डर (एडीएचडी)को समस्या ट्राफिक दुर्घटनाका लागि एक जोखिम कारकका रूपमा परिचित छ । विगतमा गरेका अनुसन्धानले ड्राइभिङ र अटेन्सन डिफिसिट हाइपरएक्टिव डिसअर्डर (एडीएचडी)सँग व्यक्तिबीच सकारात्मक सम्बन्ध देखाइएको छ । ‘अटेन्सन डिफिसिट हाइपरएक्टिव डिसअर्डर (एडीएचडी) दिमागसँग सम्बन्धित विकार हो, जुन बच्‍चा र वयष्क दुवैमा हुन्छ । यो रोग भएमा व्यक्तिको व्‍यवहार परिवर्तन, स्मरण शक्ति कमजोर एवं कुनै कुरामा एकाग्र हुन नसक्ने हुन्छ । ‘अटेन्सन डिफिसिट हाइपरएक्टिव डिसअर्डर’ (एडीएचडी)को समस्या भएमा २.४ प्रतिशत व्यक्तिमा अरू मानसिक समस्याजस्तै वडरलाइन पर्सनालिटी डिसअर्डर, एन्टिसोसल पर्सनालिटी डिसअर्डर, वाइपोलार डिसअर्डर, निन्द्रा मनोरोग, लागूऔषधिको दुरुपयोग, जीएडी र मेजर डिपरेसन पनि देखिने गर्छ ।
वयष्कमा एडीएचडीका लक्षणहरूमा क्रियाकलाप व्यवस्थित गर्न कठिनाइ हुने, सजिलैसित कुनै पनि कुराबाट ध्यान हटिहाल्ने, योजनाबद्ध नहुने, सम्पूर्ण ध्यान केन्द्रित गर्न कठिन हुने, विर्सने, कुरामा टालमटोल गर्ने, सङ्ज्ञानात्मक समस्या, छिटै कुनै पनि कुराले बेचैन भइहाल्ने, ड्रग वा नशाको लत हुने, पारिवारिक र अरूसँगको सम्बन्धमा समस्या देखिने हुन्छ ।

सुरक्षासम्बन्धी व्यवस्थामा उदासीनता
नेपालमा सडक सुरक्षाका साथै सवारी दुर्घटना न्यूनीकरणको विषयलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न ऐन, नियम, निर्देशिका तथा कार्ययोजना पनि जारी भएका छन्, जसमा सवारी तथा यातायात व्यवस्थापन ऐन– २०४९, दुर्घटनाको पहिचान र उपचार– २०५४, सडक उपभोक्ता निर्देशिका– २०५६, राष्ट्रिय यातायात नीति– २०५८, सवारी तथा यातायात व्यवस्थापन निर्देशिका– २०६०, रणनीतिक सडक सञ्जाल गुरुयोजना– २०६२, सार्वजनिक यातायात आचारसंहित– २०६८, सवारी प्रशिक्षण विद्यालय पाठ्यक्रम– २०६९, नेपाल सडक मापदण्ड– २०७०, बस बडिविल्डिङ मापदण्ड– २०७४, स्कुल बस निर्देशिका– २०७४ रहेका छन् । यद्यपि कार्यान्वयनको पक्ष भने अत्यन्त फितलो रहेको छ ।
सवारी दुर्घटना दिन प्रतिदिन वृद्धि हुँदै गए पनि यसलाई न्यूनीकरण गर्ने प्रयास निकै कमजोर देखिएको छ । हामीसँग भएका नीति, नियम र कार्ययोजनाहरू कार्यान्वयन हुन सकेका छैनन् र सवारी सुरक्षासम्बन्धी दीर्घकालीन रणनीतिको खाँचो रहेको छ । अबको १५–२० वर्षमा नेपालमा कति सवारीसाधन भित्रिनेछन् र तिनीहरूका लागि कस्तो सडक पूर्वाधारको निर्माण गर्ने, सवारी व्यवस्थापन कुन निकायमार्फत कसरी गर्ने, यसका लागि जनशक्ति र पूर्वाधार कस्तो हुनुपर्ने, सडक प्रयोगकर्तालाई सडक सुरक्षासम्बन्धी कसरी चेतना प्रदान गर्नेलगायतका सवालमा हामीसँग स्पष्ट कार्यदिशा नभएको र केही कार्ययोजना भइहाले पनि कार्यान्वयनको पक्ष अत्यन्त फितलो रहेको छ ।

दुर्घटना न्यूनीकरणमा मनोविद्
सार्वजनिक यातायातजस्तो आमनागरिकसँग अन्योन्याश्रित सम्बन्ध जोडिएको तथ्य मनन गर्दै सरकारले आफ्नो प्रभावकारी उपस्थिति दर्शाउन सक्नुपर्छ । राज्यले व्यवसायीको हितलाई समेत ध्यानमा राख्दै उनीहरूसँगको छलफल वा परामर्शबाट सवारीसाधनको अनुगमनमा कडाइ, रुट परमिट नलिएका साधनको तत्काल खारेजी, नियम उल्लङ्घन गर्नेलाई जरिवाना, क्षमताभन्दा बढी यात्रु बोक्नमा सख्त प्रतिबन्धजस्ता प्रक्रिया अपनाउन आवश्यक छ ।
सवारी दुर्घटना शून्यमा ल्याउन नसकिए पनि विभिन्न उपायमार्फत धेरै हदसम्म कम गर्न सकिन्छ । भारत, श्रीलङ्का, घाना, जर्मनी, बङ्गलादेश, इथोपिया, फिजी, डेनमार्कलगायतका देशहरूले सडक सुरक्षा परिषद् गठन गरी सवारी दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका निभाइरहेको हुँदा नेपालमा पनि यस्तो परिषद्को गठन गरी सवारी दुर्घटना न्यूनीकरणको अभ्यास थालनी गर्न सकिन्छ । ड्राइभरको तन्दुरुस्तीका बारेमा न्युरोसाइकलोजिकल परीक्षणको माध्यमबाट मानसिक स्वास्थ्यको जोखिम, सडक मूल्याङ्कन र ड्राइभिङ सिम्युलेटर परीक्षण एक निष्कर्षमा पुग्नका लागि
प्रयोग गरिनुपर्छ ।

मानसिक स्वास्थ्यसम्बधी समस्याको कारणले अधिकांश दुर्घटना हुने विभिन्न अध्ययनले देखाएको हुँदा मनोविद्हरूको विशेषज्ञ सेवाका लागि परिषद्मा स्थान दिनुपर्छ । लाइसेन्स प्रदान गर्दा मानसिक, सङ्ज्ञानात्मक, मनोगात्यात्मक सीपको परीक्षण गर्ने, मनोवैज्ञानिक परीक्षणको माध्यमबाट मानसिक स्वास्थ्य परीक्षण गर्ने, तनाव व्यवस्थापन, स्व–हेरचाहका तरिका, पर्याप्त निद्रा र कार्यस्थलको सकारात्मक सुस्वास्थ्यको स्थापना गरी क्षतिलाई कम गर्न सकिनेतर्फ सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?