logo
२०८१ बैशाख १५ शनिवार



बेमौसमी वर्षा, पुलमाभन्दा सडकमा बढी क्षति

राष्ट्रिय |


बेमौसमी वर्षा, पुलमाभन्दा सडकमा बढी क्षति


काठमाडौं, कात्तिक ६ गते । महाकाली नदीमा आएको बाढीले बगाएको तीन सय मिटर सडक सञ्चालनमा आउन दुईदेखि तीन हप्ता लाग्ने भएको छ । मंगलबार महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिका–१२ ऐरी ओदालीस्थित तीन सय मिटर कालोपत्रे सडक बगाएको थियो । उक्त सडक तत्काल सञ्चालनमा ल्याउन दुईदेखि तीन हप्ता लाग्ने सडक विभागले जनाएको छ ।

मनसुन सकिएलगत्तै अनपेक्षित रुपमा तीन दिन लगातार परेको वर्षाले महाकाली नदीमा आएको बाढीले तटबन्धबिनै निर्माण भएको पक्की सडक बगाएको थियो । उक्त सडक रड बिछ्याएर बनाउन करिब दुई वर्ष लाग्ने भएकोले यसलाई तत्काल सञ्चालनमा ल्याउने तयारी भइरहेको सडक विभागका निर्देशक अर्जुन जंग थापाले बताउनुभयो । खोलालाई मोडेर सडक खोल्ने तयारी भएको उहाँले बताउनुभयो । यसरी सडक खोल्न दुईदेखि तीन हप्ता लाग्ने उहाँको भनाइ छ ।

यो पटक अनपेक्षित रुपमा तीन दिन लगातार परेको वर्षापछि आएको बाढीपहिरो र डुबानबाट सडक सञ्जालमा धेरै क्षति भएको बताउनुभयो । उहाँले यस पटक पुलमा भन्दा धेरै क्षति सडक सञ्जालमा भएको बताउनुभयो । नदीको उच्च बहावका कारण सडक खण्ड बगाएको हो । बाढीले भुजेल खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग बगाएको हो । नदीमा आएको बाढीले सडक कटान गरेको उहाँले बताउनुभयो ।

सडक विभागका अनुसार अनपेक्षित रुपमा तीन दिन लगातार परेको वर्षापछि आएको बाढीपहिरो र डुबानबाट १७ वटा सडक र पुलमा क्षति पुगेको छ । जसमध्ये सात वटा सडक अझै अवरुद्ध रहेका छन् भने सात वटा राजमार्ग एकतर्फी रुपमा सञ्चालमा रहेको विभागले जनाएको छ ।

कालिकोटको सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पीपलकोट–खुलालु–मान्मा–नाग्मा–जुल्मा सडक अझै अवरुद्ध रहेको विभागले जनाएको छ । त्यस्तै मनाङको डुम्रे–बेशीसहर–चामे सडकको निगालीघारी, बेशीसहर–चामे सडकको खोत्रो र बेशीसहर–चामे सडकको दानाक्यु सडक खण्ड अझै अवरुद्ध रहेको छ । त्यस्तै बझाङको जालिबगर, नारुगाड, दार्चुलाको दार्चुला बोर्डर को ३ कि.मि वर, किम्तडी र डडेलधुराको सकायल–रडुवा सडक खण्ड अझै अवरुद्ध रहेको विभागले जनाएको छ ।

यसैगरी सिन्धुलीको कमेरे फाँट र खुर्कोट घुर्मी खण्डको अक्करे भिर तथा सोखु खोला सडक खण्ड, सल्यानको अरिंग्लेफेदी सडक खण्ड, धनकुटाको लेउती खोला सडक खण्ड, धनकुटाको लेउती खोला सडक खण्ड, डोटीको गोल्डेन–गैरा सडक खण्ड र डोटीकै रामपुर–कोराल सडक खण्डका र डडेलधुराको गैरा–भातकाउडा सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

विभागका अनुसार बाढीपहिरो र अन्य कारणबाट २०७८ को कात्तिक ४ गतेसम्म २४३ वटा सडक तथा पुल मा क्षति पुगेको छ । जसमध्ये सात वटा सडक सञ्जाल अझै अवरुद्ध छन् भने १३७ वटा सडक खण्ड एकतर्फी सञ्चालनमा रहेका छन् । त्यस्तै ९९ वटा सडक दुईतर्फी रुपमा सञ्चालनमा रहेको विभागले जनाएको छ ।

यसैगरी हुलाकी सडक खण्ड अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा निर्माणधीन पुलको पाया (पायल) पनि भासिएको छ । तीन दिनको लगातारको वर्षाले कमला नदीमा आएको बाढीले निर्माणधीन पुलको धनुषातर्फबाट ३ नम्बरको पाया भासिएको विभागले जनाएको छ । पुलमा यो पटकको बाढीपहिरो र डुबानले खासै धेरै क्षति नभएको निर्देशक थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?