logo
२०८० चैत्र ६ मंगलवार

  सुदूरपश्चिम बाढी अपडेट  



कर्णालीले हुलाकी राजमार्ग बगायाे, दक्षिणी क्षेत्र जलमग्न

पढ्नै पर्ने |
राष्ट्रिय |


कर्णालीले हुलाकी राजमार्ग बगायाे, दक्षिणी क्षेत्र जलमग्न
हुलाकी राजमार्ग कटान गर्दै कर्णाली । तस्बीर सौजन्यः लोकबहादुर बुढा


एकिन्द्र तिमिल्सेना
टीकापुर (कैलाली), कात्तिक ३ गते । टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरमा निर्माणधीन तटबन्ध भत्काएर गाउँ पसेको कर्णालीको बाढीले तल्लो शाहीपुर, सिमे्रनी सत्तीको पूर्व भाग हुदै अर्नवाफाँटा, कुमालगाऊँ, चौगुर्दीमा डुबान र कटान गरिरहेको छ ।
टीकापुर नगरपालिका वडा नं ८ स्थित बनगाऊ क्षेत्रमा हुलाकी राजमार्ग बगाएको छ । हुलाकी राजमार्ग कटान गरेर ३०० मिटरको फैलावटमा कर्णाली बगिरहेको वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले जानकारी दिनुभएको छ । वडाध्यक्ष ठकुल्लाका अनुसार भारतले कैलाशपुरी बाँध बन्द गरिरहेकाले पानी थुनिएर दक्षिणबाट भरिदै हुलाकी राजमार्ग नजिक पुग्न लागेको र सीमा क्षेत्रमा पानी भरिइरहेको जानकारी दिनुभयो । बाढीले हुलाकी राजमार्गस्थित जीतु कटेज, माउण्टेन होटलमा क्षति पु¥याएको छ । हाल बाढी बगिरहेको क्षेत्रमा कर्णाली तटबन्ध बन्नु अघि पनि बाढी पसेकाले बस्ती पातलो नै छ ।
बाढी पसेको क्षेत्रका मानिसहरु टीकापुर नगरपालिका वडा नं ५ बसन्तास्थित त्रिभुवन राष्ट्रिय मावि, वडा नं ८ को राष्ट्रिय आधारभूत विद्यालय सूर्यपुर र विभिन्न स्थानमा बनेका उच्चा घरमा राखिएको छ । यस्तै जमरा कुला र त्यसका शाखा कुलामा आएको बाढीले प्रभावितहरुका लागि टीकापुर नगरपालिका वडा नं १ स्थित कर्णाली मावि र खड्ग स्मृति माविमा राख्ने तयारी भैरहेको टीकापुर नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन उपशाखाका प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो । डुवानका कारण फसेका मानिसहरुलाई उद्धारका लागि टीकापुर नगरपालिकाको एउटा र सशस्त्र प्रहरीको एउटा ¥याफ्ट प्रयोग गरिन लागेको चौधरीले जानकारी दिनुभयो । नगर प्रमुख तपेन्द्रबहादुर रावलले बजार क्षेत्रमा छ वटा जेसीवी प्रयोग गरेर पानी निकास गरिरहेको र नेपाली सेना, सशस्त्र प्रहरीले बुधबार विहानै टीकापुर नगरपालिका वडा नं ८ बञ्जरिया क्षेत्रमा फसेका मानिसहरुलाई उद्धार गरिरहेको जानकारी दिनुभयो ।
शाखा कुलाेमा पसेको बाढीले क्षति, मुक्त कमैंयाका ११ घर भत्किए
कर्णाली नदीको बाढी रानी र जमरा कुलामा पसेर त्यसका शाखा कुलाको वरिपरि क्षति पु¥याइ रहेको छ । रानी कुलामा आएको बाढीले टीकापुर नगरपालिका वडा नम्बर १ को शक्तिनगर, वडा नंम्बर २ को विजयनगर हुदै दक्षिणका बस्तीमा डुबान गरिरहेको छ ।
रानी कुलाको बाढीले शक्तिनगरमा आठ वटा घर भत्किएका शिक्षक पे्रमलाल चौधरीले जानकारी दिनुभएको छ । त्यस्तै विजयनगरमा २ वटा घर बाढीले भत्काएको छ भने एउटा घर हात्तीले भत्काएको स्थानीय भागिराम चौधरीले जानकारी दिनुभएको छ । मंगलबार राति रानीकुला पुलमा अडकिएका मुडा हटाइए पनि पानी ओभरफ्लो भएर बाढी बस्ती हुदै बगिरहेको छ । विजयनगरमा मंगलबार राति ११ बजे आएका दुईवटा हात्तीले तिलकराम चौधरीको घर भत्काई दिएका छन् । जमरा कुलामा आएकाईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले हिजो साँझसम्म बाढी पसेका ठाउका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको र राति १० बजेपछि टीकापुर बजार क्षेत्रमा माथिल्लो क्षेत्रबाट आएको बाढीले प्रभावितलाई उद्धार गरिएको तर मानवीय क्षति भने विहानसम्म नभएको जानकारी दिनुभयो ।
यस्तै जानकी गाउँपालिका वडा नं ९, ६ र ३ मा पनि बाढी पसेर क्षति गरेको छ । यहाँ रानी जमरा कुलरिया सिचाई प्रणालीको नहर भत्किएर बाढी पसेको छ । जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महत्तोका अनुसार कर्णालीमा माछा मार्न गएका जानकी गाउँपालिका वडा नम्बर ८ पूर्व खैरिफाँटाका तीन जना नदीको टापूमा अडकिएका छन् ।
बाढीको सतह थोरै घट्यो
कर्णाली नदीको बाढीको सतह थोरै घटेको छ । बुधबार विहान ७ः०० बजेको रेकर्ड अनुसार बाढीको सतह १२ मिटर रहेको छ । कर्णालीमा बाढी ११ मिटर पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ । हिजो राति ८ बजे अधिकतम् १३ मिटर १० सेन्टिमिटर रेकर्ड कायम गरेको बाढी राति १० बजेबाट बिस्तारै घटिरहेको चिसापानी कर्णालीका गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभएको छ । आज कैलालीको आकाशमा बादल लागे पनि पानी भने परेको छैन ।
कैलालीमा ४ वेपत्ता
कैलालीको लम्कीचुहा नगरपालिका वडा ३ का ३ जना र गोदावरी नगरपालिकामा १ जना बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार नदिमा लम्कीचुहा नगरपालिका वडा नं ३ ढुङ्गेबजारका खडकबहादुर घर्तिमगर, बिक्रम घर्तिमगर, खडक रानामगर, सोमबार कर्णालीमा माछा मार्न गएको र घर नफर्केको बताइएको छ भने गोदावरी नगरपालिका वडा नं ८ स्याउलेका गणेश आउजी पनि मंगलबारै खुटिया खोलामा ढुङ्गा निकाल्न गएका बेला बगेर बेपत्ता हुनुभएको हो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?