logo
२०७८ कार्तिक १० बुधवार



हाङ्झाउको सौन्दर्य

शनिवार |


हाङ्झाउको सौन्दर्य


जीवनाथ धमला

सुन्दरताको शायद कुनै परिभाषा हुँदैन । सुन्दरताले मनलाई प्रसन्न बनाउँछ । यसले आँखा, मन र भावनालाई अव्यक्त आनन्द दिन्छ । सुन्दरता दृश्यको त्यस्तो प्रभाव हो, जुन हृदयमा तत्क्षण एकाकार भएर अनुभूतिको तहमा अवतरण हुन्छ । वास्तविक र प्राकृतिक सुन्दरतासामु पुगेपछि आँखाहरू प्रश्नहीन बन्छन् । शरद ऋतुको स्वच्छ मौसममा पूर्वको डाँडाबाट उदाएको सूर्योदय होस्, फेवा वा राराका मधुर तरङ्गहरूमा टल्पलाइरहेका हिमालहरू हुन्, लेकहरूमा राताम्मे फुलेका गुराँसहरू वा छङ्छङाइरहेका अग्ला छाँगा–छहरा हुन्, नेपालमा मन नै लोभ्याउने प्राकृतिक दृश्यहरूको कमी छैन । हामीमा कमी छ, ती सुन्दर ठाउँहरूको महत्व अनि तिनले दिने जीवनदायी आनन्द र ऊर्जालाई चिन्ने सामथ्र्यको । आफ्नैमा छन् सौन्दर्यका खित्काहरू अनि आफ्नैमा छन् प्रकृतिका अन्तहीन मुस्कुराहटहरू ! तिनलाई हाम्रो मानसिक प्रवृत्ति र भौतिक अतिक्रमण अनि लुछाचुँडीबाट जोगाए पुग्छ । यस सुन्दर धर्तीलाई हामीले स्वार्थ र लिप्साका नङ्ग्राहरूले घायल नपारे पुग्छ । यसलाई हाम्रा विषालु प्रवृत्तिका काँडाहरूले नकोत¥याए पुग्छ । त्यति मात्र भए पनि भविष्यका सन्ततिले देखिरहन पाउने थिए, सेता चुलीहरू, तिनका काखमा टाँसिएका हरिया पहाडहरू, तिनबाट बगिरहेका दुग्धधारा झैँ वेगिला झरनाहरू अनि सुकुमार सौन्दर्यले शोभायमान लेकबेँसीहरू ।

आफ्नोमा विशेष अपनत्व त रहन्छ नै तर सुन्दरताको अनुभूतिका लागि भौगोलिक सीमा कहाँ बाधक बन्दोरहेछ र ! त्यसैले त सौन्दर्यप्रेमीहरू प्रकृतिका निर्विकार काखहरूमा पुगेर लुट्पुटिन र आफूलाई नै बिर्सेर स्वर्गीय आनन्दको तृष्णा मेट्न जति टाढा अनि जहाँसुकै भए पनि पुग्दारहेछन् ।
नेपालबाट विभिन्न सञ्चारगृहका कर्मचारी र अन्य सञ्चार संस्थासम्बद्ध व्यक्तिहरूसहित हामी २० जनाजति मिडिया टिममा सहभागी भएर पन्ध्रदिने चीन भ्रमणका लागि गएका थियौँ । १४ जुन, २०१७ का दिन, दिउँसो साढे तीन बजेतिर साओ लियाङले हामीलाई चीनको दक्षिण–पूर्वस्थित चेच्याङ प्रान्तमा पर्ने हाङ्झाउको सौन्दर्यको प्रतीक ‘पश्चिमी ताल’ तिर लिएर गए । हाङ्झाउ शहर चेच्याङको प्रान्तीय राजधानी पनि रहेछ । त्यहाँ फुचाउबाट आइपुगेका थियौँ । फुचा(उबाट त्यहाँ पुग्न झण्डै पाँच घण्टा लामो रेलयात्रा गर्नुपरेको थियो, हाइ स्पिड टे«न (तीव्र गतिको रेल) मा । त्यहाँ पुग्दा निकै थाकिएको पनि थियो । लियाङले पश्चिमी तालतर्फ लैजाने कुरा गरेपछि मन खिचिइहाल्यो । केहीबेर अघिमात्र रेल स्टेशनदेखि होटलसम्मको झण्डै आधा घण्टाजतिको बसयात्रामा देखिएका हाङ्झाउका शहरी दृश्यले मनलाई प्रफुल्लित बनाइसकेका थिए । हरियालीभित्र लुकेको अनि वातावरणीय व्यवस्थापनको सर्वोत्कृष्ट कौशलले सिँगारिएको हाङ्झाउ शहरको विगत र वर्तमानबारे छोटो जानकारी हामीलाई बसमा चढ्ने बित्तिकै दिइएको थियो ।

तत्कालीन चेच्याङ प्रान्तीय नेतृत्वको हैसियतमा रहेर वर्तमान राष्ट्रपति सी चिन फिङले सन् २००२ देखि २००७ सम्म कार्यभार सम्हालेको समयका बारेमा हामीलाई पर्याप्त जानकारी दिइयो । उनको नेतृत्वमा त्यसबेला चेच्याङका प्राकृतिक स्रोतसाधनको उच्च व्यवस्थापन एवं औद्योगिक विकासका दीर्घकालीन आधारशीलाको निर्माणका लागि योजनाबद्ध ढङ्गमा काम गरियो । स्वदेशी तथा विदेशी पुँजीपतिहरूलाई आकर्षित गरियो । गाउँगाउँमा आर्थिक क्षेत्रहरू स्थापित भए । तत्कालीन प्रान्तीय प्रमुख सीको नेतृत्वमा चेच्याङले विकासको गतिमा तीव्र फड्को मार्दै छोटो समयमा नै चेच्याङ चीनको सबैभन्दा बढी र चाँडो आर्थिक वृद्धिदर कायम गर्ने प्रान्त बन्यो । त्यसबेला सीले ‘आजको चेच्याङ भोलिको चीन’ भन्ने विचारलाई मनमा राखेर चेच्याङको निर्माणमा त्यहाँका जनतालाई सरिक हुन आह्वान गरेका थिए । सीको प्रत्यक्ष नेतृत्वमा निर्मित चेच्याङको समृद्धिका दृश्यहरूले हाम्रा आँखालाई झिमिक्क हुन दिइरहेका थिएनन् । व्यक्तिमा रहेको सामथ्र्यको परीक्षण उसलाई दिइएको जिम्मेवारीबाट गर्न सकिन्छ । चेच्याङमा सीले आफ्नो दूरदर्शी नेतृत्वको सफल परीक्षण गरेका थिए ।

यसबेला भने सीको कार्यकलामा निर्मित चेच्याङको सुन्दर चित्रले हाम्रो मनलाई प्रसन्न बनाउँदै राजधानी हाङ्झाउको भुइँमा टेकेर चौतर्फी आँखा फैलाउन अधीर बनाइरहेथ्यो । होटल नरादामा पुगेपछि आधा घण्टामा लवीमा जम्मा हुने र वेस्ट लेक (पश्चिमी ताल) तर्फ जाने कुरा साओले गरेपछि हामी त्यही अनुसार जम्मा भयौँ । तालका काल्पनिक लहरहरूसँगै म पौडिन थालेँ । होटलबाट छुटेको २० मिनेट जतिमा तालको किनारमा पुगेर बस रोकियो । हामी डिलमा उभिएर तालको विस्तृततातिर आँखा फैलाउन थाल्याँै ।
मानव सीप र कौशलले सिँगारिन पायो भने प्रकृतिले कतिसम्म लोभ्याउन सक्ने रहेछ भन्ने कुराको चिनियाँ नमुना थियो हाङ्झाउको पश्चिमी ताल । दशाँै हजार पर्यटकका आँखाहरू तालको लहरसँगै टल्पलाएका थिए, लहरिइरहेका थिए ।
मैले यसबेलासम्म देखेका ठाउँहरूमध्ये प्राकृतिकरूपमा सबभन्दा व्यवस्थित र मौलिक स्वच्छताको आकर्षणलाई बचाएर राखिएका पर्यटकीय स्थलहरूमध्ये यो ताल सबभन्दा सुन्दर थियो । त्यसो त म कति नै त्यस्ता राम्रा ठाउँमा पुगेको हुँदो हुँ र ! नेपालमा सुन्दरस्थलहरू अनगन्ती छन् तर ती या प्राकृतिक दुर्गमताका कारण एकलासको शून्यताले छोपिएका छन्, या मानवीय अतिक्रमणका कारण सौन्दर्य लुटिएको अवस्थामा नियास्रिएका छन् । देशका प्राकृतिक सम्पदास्थलहरूलाई एकपछि अर्को गरी सम्झन पुगेछु म केही क्षण । भो, तुलना गरेर केही हुँदैन, हामी दशकाँै पछि छौँ, हाङ्झाउवासी चिनियाको व्यवस्थापकीय मिहिनतासँग तुलना गर्दा ।

अलि परका किनारमा सल्बलाइरहेका मानिसहरूको प्रतिविम्ब पानीका लहरसँगै टल्पलाएर हाम्रा आँखा ठोक्किइरहेछ । चारैतिर हरियो जङ्गल देखिए पनि खास जङ्गल भने तालको पूर्वपट्टिको भागमा पर्छ । पश्चिम, उत्तर र दक्षिणतर्फ भने हरियालीले ढाकिएको शहरी क्षेत्र छ । झट्ट हेर्दा भने जङ्गल जस्तो तर नजिकै ठूला होटलहरू, पर्यटकीय परिभ्रमणका लागि निर्मित साँघुरा पैदलमार्गहरू, बिसौनीहरू, दृश्यावलोकनका लागि बनाइएका अग्ला संरचनाहरू, संरक्षित सांस्कृतिक मठमन्दिर, चिया चौतारी आदि छन् त्यहाँका नवनिर्मित उद्यानहरूमा । शहरी इलाकामा जोडिएको घनाजङ्गल र सुन्दर वाटिका क्षेत्रहरू वारपार दूरी चार/पाँच कि.मि. जति होला, उभिएको ठाउँबाट अनुमान गर्दा ।
कञ्चन सफा पानीका मन्द लहरहरू किनारमा ठोकिएर फर्कँदैछन् अविरल । किनारलाई होचो पर्खालले छेकिएको छ । त्यसमाथि स्टिलका बारहरू, त्यसयता पैदलमार्ग अनि साइकल ट्रयाक, बीचबीचमा रङ्गीन गलैँचा जस्तै भुँइफूलको फूलबारी, भुँइभरि चित्ररचना गरेजस्तो !

मोटरबोटहरूको ताँती किनारभरि छ । आ–आफ्नो पालोमा पर्यटकलाई चढाउन चालकहरू सजग छन् तर तँछाड र मछाडको घुइँचो छैन । एउटा जान्छ अनि अर्को आउँछ, त्यो जान्छ अनि अर्को, एक÷दुई मिनेटमै ती डुङ्गाहरू पर्यटकलाई लिएर तालको सफर गराउन गइहाल्छन् ।
डिलमा उभिएको केहीबेरमा हामीलाई एउटा डुङ्गा (ठूलो खाले मोटरबोट) मा चढ्न निर्देशन दिए हाम्रा पथप्रदर्शकले । तुरुन्तै डुङ्गा हेलियो, ठूला लहरहरूको ताँती फैलिँदै गयो, परपरसम्म । हामी चाइनिज चिया (तातो पानीभन्दा खासै फरक नपर्ने) घुट्क्याउँदै बह्याँै । गति ठिक्क थियो । हामी जतिजति तालको केन्द्रतिर पुग्यौँ, त्यतित्यति परसम्मका दृश्यहरूले झन्झन् लोभ्याउन थाले । पारि जङ्गलको बीचमा अग्लाअग्ला प्यागोडा शैलीका गोलाकार मन्दिरहरू र त्यहाँ पुग्ने सिँढीहरूमा मानिसको ताँती देख्दा त्यतातिर पुग्न मन लागेको त थियो तर डुङ्गाबाटै देखेर चित्त बुझाउनुप¥यो । ससाना मन्दिरहरू पनि जङ्गलभित्र मनग्गे देखिन्थे । ताल प्राकृतिक हिसाबले मात्र नभई सांस्कृतिक हिसाबले पनि उत्तिकै महŒवपूर्ण रहेछ । क्विन्ताङ्ग नदीको तटवर्ती इलाकामा अवस्थित त्यस सुन्दर तालको अवलोकन गरी आनन्द लिन दिनहुँ हजारौँ मानिस आउँदारहेछन् । सन् २०११ देखि त्यस प्राकृतिक सम्पदालाई युनेस्कोले विश्वसम्पदा सूचीमा समावेश गरेको रहेछ । प्रान्तीयस्तरमा मात्र नभएर यस ताललाई एक उत्कृष्ट चिनियाँ पर्यटकीय गन्तव्यका रूपमा व्यवस्थित गरिएको रहेछ ।

ताल क्षेत्रमा मानौँ कुनै विशेष उत्सव हुन लागिरहेको छ । रुखमुनि चौतारीमा बसेर तालको चहलपहल हेर्नेहरू कैयौँ छन् । साङ्गीतिक फोहराहरू नजिकै उभिएर तालको आनन्द लिनेहरूको शिष्ट चहलपहल परैबाट देख्न सकिन्छ । घाम डाँडामाथि पुग्नै आँटेका छन्, पातलो बादलको सप्कोबाट चियाइरहेका घामका किरणहरू झुप्पाझुप्पामा डोलिएर अलिपर तालमा अझै ओर्लिइरहेका देखिन्छन् । दक्षिणतिरको आकाशमा अलि घना बादल लागेको छ । हामीलाई आधा घण्टामा पहिलेकै ठाउँमा ल्याएर ओराल्यो डुङ्गाले ।
पश्चिमी तालको सदाबहार प्राकृतिक सौन्दर्यबाट प्रेरित भएर हजाराँै वर्ष पहिलेदेखि नै स्रष्टाहरूले अनेकौँ काव्य, कविताको रचना गर्दै आएको बताइन्छ । स्रष्टासाधकलाई तालले अन्त्यहीन सिर्जनशक्ति प्रदान गर्दै आएको सत्यलाई सामुन्ने उपस्थित ताल र त्यस वरपरको शब्दातीत सौन्दर्यले ध्वनित गरिरहेथ्यो । प्रकृतिप्रेमी स्रष्टा नभएको मुलुक संसारमै छैन होला । प्रकृतिमा सौन्दर्य नहुँदो हो त कविताको जन्म नै हुने थिएन ।

स्रष्टाहरूले यसै तालको सुन्दरतामा मुग्ध भएर कैयौँ कविता वा काव्य सिर्जना गरिसकेका छन् । प्रसिद्ध चिनियाँ कविहरू वाई जुई, सु सी, सु झियो आदिले यस तालको सौन्दर्यलाई विषय बनाएर थुप्रै कविता लेखे । ताल स्रष्टाहरूका लागि शताब्दीऔँदेखि सिर्जनाको ऊर्जास्रोत बन्दै आएको छ । त्यो थाहा पाउँदा मनमनै एउटा प्रश्न झुलुक्क उदाएर तुरुन्त अस्तायो, फेवा वा राराको सौन्दर्यमा लठ्ठिएर नेपाली स्रष्टाद्वारा सिर्जित कविता, काव्य कति होलान् ?

छेउको हाङ्झाउ शहर पश्चिमी तालको सौन्दर्यले धपक्क बलेको छ । ताल जति सुन्दर छ, शहर त्यति नै सुन्दर छ । इतिहासदेखि नै हाङ्झाउको प्रसिद्धि युरोपमा फैलिइसकेको कुरा केही पाठ्यसामग्रीमा उल्लेख छ । तेह्रौँ शताब्दीमा विश्व प्रसिद्ध इटालियन यात्री मार्कोपोलोले हाङ्झाउलाई विश्वकै सबैभन्दा सुन्दर शहर भनेर तारिफ गरेको जानकारी पाइन्छ । वर्तमानमा यस शहरले इतिहासको त्यो गौरवलाई झन् बढाउँदै लगेको अनुभूति हुन्छ । हाङ्झाउ र निकटको पश्चिमी ताल एकअर्काका पूरक बनेका देखिन्छन् । दुवैप्रति त्यहाँ पुग्ने पर्यटक मनैदेखि प्रसन्नता प्रकट गर्दछन् । हुन पनि तालको संरक्षणका लागि हाङ्झाउले देखाएको तत्परता र मिहिन व्यवस्थापन विश्वभरिका प्राकृतिक संरक्षणसँग सम्बद्ध सङ्घसंस्था वा सरकारी निकायका लागि एक उत्कृष्ट नमुना हुनसक्छ ।

प्रकृतिद्वारा निर्मित सिर्जनामा मानवनिर्मित सिर्जना थपिँदा सौन्दर्यमा दोब्बर वृद्धि हुँदोरहेछ । प्राकृतिक सम्पदाले यसरी नै मानवीय सिर्जनात्मक सम्मान पाउने हो भने मानव बस्ती कति सुन्दर देखिँदा हुन् । हाङ्झाउ शहरले पश्चिमी ताललाई त्यही सिर्जनात्मक सम्मान दिएर विश्वकै लागि पर्यटकीय गन्तव्यको नमुना बनाएको छ । मनमनै कामना गरेँ, हाम्रो पोखरा र फेवालाई कसरी सुन्दरतम बनाउने भन्ने सोच लिएर नगरका जिम्मेवार व्यक्तिहरू नमुनाका लागि चेच्याङको हाङ्झाउ आएर हेरुन्
एकपटक ! प्राकृतिकरूपमा हाम्रो फेवा र पोखराको स्वरूप हाङ्झाउ र पश्चिमी तालभन्दा कैयाँै गुना सुन्दर छ तर सुन्दर मानवीय भावनाको छिनोले फेवा र पोखरालाई कँुद्न सकेको भने पाइँदैन । फेवाबाट ब्युँझिने माछापुच्छे« हिमालको सौन्दर्य झँै अर्को मनमोहक दृश्य अन्यत्र कहाँ देख्न पाइएला र !

हामी मोटरबोटबाट ओर्लेर छोटो समयका लागि तालको डिलमा टहलियौँ । साँझ पर्न लागेको थियो । साओ लियाङले ‘अब जाने कि?’ भनेर सचेत गराए । हामी पार्किङ्स्थलतिर लाग्यौँ तर पानीका नीला तरङ्गहरू आँखामा नाचिरहे । तालको सौन्दर्यले मनलाई खिचिरह्यो । सौन्दर्य आनन्दानुभूतिको अन्त्यहीन स्रोत रहेछ । त्यसैले त महान् कवि किट्सले भनेका रहेछन्, “सुन्दर वस्तु सधँैका लागि आनन्दको स्रोत बन्दछ ।”
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?