logo
२०७८ कार्तिक २ मंगलवार



कोरोनाको मारमा परेका 'होमस्टे' प्रवर्द्धन गर्न तालिम र पूर्वाधार माग

पर्यटन |


कोरोनाको मारमा परेका 'होमस्टे' प्रवर्द्धन गर्न तालिम र पूर्वाधार माग
तस्बिर साभार : नेपाल पर्यटन बाेर्ड


काठमाडौं, भदौ २२ गते । कोरोना भाइरस (कोभिड–१९) महामारीले प्रभावित बनेको होमस्टे (घरवास) व्यवसायलाई थप प्रवर्द्धन गर्न तालिम र भौतिक पूर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्न व्यवसायीहरुले माग गरेका छन् । अर्थतन्त्रको मुख्य आधार पर्यटन भएकाले प्रवर्द्धनमा पहिलो कार्यक्रम होमस्टे (घरबास) बाटै शुरु गर्नुपर्ने होमस्टे (घरबास) एसोसिएसन नेपालका उपाध्यक्ष यदुमणि निरौलाले माग गर्नुभयो ।

अर्थतन्त्र कमजोर भएका देशका ठूलाे खर्चभन्दा थाेरै खर्चमा रमाउने पर्यटक धेरै भएकाले पर्यटन प्रवद्धनकाे शुरुवाती पहल होमस्टेबाट शुरु गर्नुपर्ने उहाँको सुझाव छ । गाउँ पर्यटन विकासको आधार नै होमस्टे भएकाले स्थानीय तहका जनप्रतिनिधिसहित व्यवसायीहरुलाई तालिम दिन व्यवसायीहरुको माग छ । ग्रामीण जीवनलाई जीविकोपार्जनमा पूर्णरुपमा सहयोग गर्ने, सेवासँगै नाफामूलक व्यवसाय गर्न सकिने र होमस्टे व्यवसाय परिवार मिलेर गर्न सकिने भएकाले सेवासँगै आर्जन पनि हुने होरिजन होमस्टे पाल्पाका प्रमुख धानीस्वर बस्यालले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन प्रवर्द्धन शाखाका उपसचिव नरहरि घिमिरेले होमस्टे प्रवर्द्धनमा भौतिक पूर्वाधार निर्माणदेखि तालिमका कार्यक्रम सञ्चालनको तयारी गरेको बताउनुभयो । स्थानीय खाना, सामाग्री र सत्कार कसरी गर्नेसम्बन्धी तालिम, सोलार सिष्टम वितरणदेखि सामुदायिक होमस्टेलाई भवन निर्माण गर्ने घिमिरेले बताउनुभयो । मन्त्रालयले होमस्टेमा आएका पाहुना पर्यटकको तथ्याङक सङ्कलन गरी स्थानीय उत्पादन विक्री वितरणमा सहयोग गर्न प्राविधिक सहयोग समेत गर्ने उहाँले बताउनुभयो ।

होमस्टेलाई प्रवद्र्धन गरे गाउँ रमणीय बनाउन सकिने, पूर्णरुपमा बासको सुरक्षा दिन सरकारले कोभिड खोप लगायतका कार्यक्रमलाई तत्कालै ल्याउन सुझाव दिएका छन् । सरकारले दर्ता प्रक्रियालाई सहज गरेको छ । प्रदेश १ सरकारले होमस्टे सञ्चालन कार्यविधि ल्याएर घरेलु तथा साना उद्योग कार्यालयलाई जिम्मा दिएर दर्ता प्रक्रिया शुरुगरेको छ । संखुवासभामै पहिलो पटक खाँदबारी होमस्टे दर्ता गर्नुभएकी सुनीता ढुङगाना भन्नुहुन्छ, दर्तासँगै सञ्चालनमा थप अनुदान र प्रवर्द्धनमा सहयोग गरे सानो सहयोगमा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ । आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाइमा पर्ने र जीविकोपार्जनमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ । न्यानो आतिथ्यतासँगै स्थानीय परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले होमस्टेबाट आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित हुनेगरेको घिमिरेले बताउनुभयो ।

स्थानीय तह, प्रदेश सरकारहरुले होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरी प्रवर्धनको काम शुरु गरेको छ । पर्यटकहरु सुविधासम्पन्न ठूला होटलमाभन्दा पनि गाउँमा रमाउन थालेकाले सबैको रोजाइमा होमस्टे पर्न थालेको होमस्टे (घरबास) एसोसिएसन प्रदेश १ का अध्यक्ष विनोद सुव्वा गुरुङले बताउनुभयो । ग्रामीण भेगका कतिपय ठाउँमा बेलुकाको समयमा बास बस्न आएका पाहुनाहरुलाई आफ्नो भान्सा चुलोमा जे पाकेको छ त्यहि खान दिने गरिन्छ । त्यसबापत न्यूनतम् रकम मात्र लिने चलन थियो, यसकै आधुनिक रुप होमस्टे (घरवास) भएको अध्यक्ष गुरुङले बताउनुभयो ।

२०५४ सालबाट स्याङजाको सिरुबारीमा पहिलो पटक होमस्टे पर्यटन शुरु भएपछि हाल करिब ४५ जिल्लाका एक हजार आठसय घरले होमस्टे सञ्चालन गर्दैआएको एसोसिएसनको तथ्याङक छ । होमस्टेको रुपमा प्रख्यात रहेका लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, पसगाउँ, सिउरुङ, रसुवाको बृद्धिम, इलामको श्रीअन्तु, चितवनको सैराहा, कैलालीको माघी, भादागाउँ नवलपरासीको अमलटारी, बर्दियाको ठाकुरद्वारा, सङ्खुवासभाको खाँदबारीलगायत छन् । अन्यत्र पनि विस्तार हुने क्रममा छन् ।

पर्यटन प्रवर्द्धनको मुख्य आधार होमस्टे भएको बताउँदै यसका लागि राज्यले महत्वकासाथ प्रवर्द्धनका कार्यक्रमहरु ल्याउनुपर्ने सामुदायिक विकास विज्ञ सुभाषचन्द्र देवकोटाले बताउनुभयो । पर्यटन नीति २०६५ ले पर्यटन सेवाबाट हुने लाभ स्थानीय समुदाय र जनतासम्म पु¥याउनु पर्ने र ग्रामीण पर्यटकीय क्रियाकलापको विस्तार तथा अभिवृद्धि गर्ने तथा ग्रामीण पर्यटनलाई गरिबी निवारणसँग आबद्ध गरी राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने कुरा उल्लेख गरेको छ । यसमा राज्यले कार्यन्वयनमा ढिलाई गर्न नहुने उहाँको सुझाव छ ।

सरकारले होमस्टे सञ्चालन कार्यविधि २०६७ ल्याएर हाल व्यवस्थापन गर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन प्रवद्र्धन शाखाका उपसचिव नरहरि घिमिरेले बताउनुभयो । कार्यविधिले होमस्टे दर्ता भएपछि कम्तीमा साढे ६ फिट लम्बाइ र तीन फिट चौडाइ भएको खाट हुनुपर्ने, एउटा कोठामा दुईवटा खाट राख्न सकिने, ओछ्यानमा सेतो तन्ना, सिरक, सिरानी र एउटा तौलिया हुनुपर्ने उल्लेख छ । कोठामा चिया टेबल, दुईवटा कुर्सी, ऐना, चप्पल, डस्टबिन, डोरम्याट, भित्तामा आकर्षक पर्यटकीय नक्सा, उज्यालोको व्यवस्था, शौचालय हुनुपर्ने नियम तोकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप