logo
२०७८ असोज ३ आईतवार

दैनिक अध्यावधिक

image
656

सङ्क्रमित

image
1413

निको भएका

image
12

मृत्यु भएका

मिति:आश्विन ३, २०७८ (१६:२०)
स्राेत:https://covid19.mohp.gov.np/



विस्तारै उठ्दै कोरोनाले थलिएको पोखराको पर्यटन

पढ्नै पर्ने |


विस्तारै उठ्दै कोरोनाले थलिएको पोखराको पर्यटन


वासुदेव पौडेल
गण्डकी, साउन १७ गते । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदुर बेरोजगार बनेका छन् । गतवर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटन सम्बद्ध सङ्घसंस्थाले प्रवर्धनात्मक कार्यक्रमका गतिविधि अघि बढाएका थिए । त्यसक्रममा मर्दी हिमाल पदयात्रादेखि धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवर्धनका कार्यक्रम सम्पन्न भएका थिए । कोरोनाको दोस्रो लहर बढेपछि यी सबै क्रियाकलाप पुनः ठप्प बनेको पर्यटन अझै सुनसान छ ।

पर्यटनलाई पुनःचलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै सङ्घीय सरकारसँग खोपको सुनिश्चितताको माग गरेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा पछिल्ला दिनमा प्रदेशका मुख्यमन्त्रीदेखि सम्बद्ध मन्त्रीलाई भेटी पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल खोपको व्यवस्था गर्न माग गरिएको छ ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई आफूहरूलाई पहिलो चरणमा होटल तथा रेष्टुरेन्टसहितका मजदूर एवं व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको पाँच हजार खोप तत्काल आवश्यक भएको बताउनुहुन्छ । “पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा खोप आवश्यक भए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने गरी पाँच हजार खोप व्यवस्था गर्न माग गरेका छौँ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यवसाय जीवन
रक्षा कोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको दाबी गर्दै उहाँले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज आगामी दुई
वर्षसम्म तिर्नसक्ने कुनै सम्भावना नभएकाले कर्जा तालिकालाई
पुर्नतालिकीकरण गर्नुपर्ने बताउनुभयो ।

मौद्रिक नीतिमा आगामी आर्थिक वर्ष २०७८/०७९ मा पर्यटन प्राथामिकता
प्राप्त क्षेत्रका रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत
व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउनुपर्नेमा व्यवसायीको जोड छ ।
पोखराको पर्यटनमा सम्भावना देखेर नै लगानीका लागि हात बढाएका व्यवसायीलाई एकपछि अर्को गर्दै आएको कोरोना कहरका शृङ्खलाले मर्माहत बनाएको छ । ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्र«े, अन्नपूर्णलगायतका हिमाल, तालमा टलपल पानी पर्यटकको स्वागत गर्न नपाउँदा फिका जस्तै बनेका छन् ।

पर्यटन क्षेत्र अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको र सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहने पर्यटन व्यवसायीलाई हालसम्म पनि कोरोनाको खोप नदिँदा आफूहरूलाई चिन्तित बनाएको व्यवसायी बताउँछन् ।

विगतमा नियमित मात्र नभई नेपाल भ्रमण वर्ष, गण्डकी प्रदेश भ्रमण वर्ष आदिका नाममा यहाँका पर्यटन व्यवसायीले अधिकतम पर्यटक भित्र्याउने लक्ष्यका साथ ठूलै लगानीमा पूर्वाधार निर्माण गरेका थिए । जनस्तरबाट समेत ठाउँठाउँमा पर्यटन लक्षित पूर्वाधार विकासलाई निरन्तरता दिइएको छ ।

कोरोनाका कारण देशका अधिकांश आयोजनासँगै विकास निर्माणमा पनि असर परेको अवस्थामा पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा जनस्तरबाट विशाल महादेवको मूर्ति निर्माण गरिएको छ । पुम्दीकोटमा यतिखेर ५१ फिट उचाइको महादेवको मूर्ति स्थापना गरिएसँगै सो स्थानमा आन्तरिक पर्यटक पुग्ने क्रमले गति लिन थालेको छ ।

पछिल्ला दिनमा निषेधाज्ञा खुकुलो बन्दै गएपछि आन्तरिक पर्यटकको चाप बढ्न थालेकाले आगामी दिन यो स्थल यस क्षेत्रको महत्वपूर्ण गन्तव्यस्थल बन्ने पोखरा महानगरपालिका–२२ का वडासदस्य मातृका बरालले बताउनुभयो ।

कोरोनाको डर हुँदा पनि सबैको साथ र सहयोगमा निर्माण कार्यले निरन्तरता पाउँदा महादेवको मूर्ति राख्न सम्भव भएको बताउँदै उहाँले विस्तारै कोरोनाको प्रभाव कम हुँदै पर्यटनमा नवीनतम् आशा र विश्वास पलाएर जाने विश्वास व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष एवं निर्माण समितिका संयोजक चन्द्रकान्त बरालका अनुसार पुम्दीकोटका प्रचुर पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै विशाल महादेवको मूर्ति निर्माणका लागि अभियान थालिएको थियो । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ ।

पुम्दीकोटमा मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरु महाराज आश्रम पनि निर्माण भइसकेका छन् । समितिले गुरुयोजनाअनुसार आगामी दिन शान्ति आश्रम, सुमेरु पर्वत, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर आदि पनि निर्माण गरिने जनाइएको छ । त्यस्तै मूर्ति परिसरमा गणेश, मनोरेल, १०८ धारा, पाँच फिट अग्लो शिवलिङ्ग स्थापना गरिने संयोजक बरालले जानकारी दिनुभयो ।

कोरोनाका बाबजुद पनि स्वास्थ्य सजगता अपनाइ दैनिक २०–२५ जनाले निरन्तर काम गरेका कारण मूर्ति राख्न सम्भव भएको समितिले जनाएको छ । यहाँबाट फेवातालसहितको पोखराबजार, अन्नपूर्ण, माछापुच्छ«ेलगायत हिमशृङ्खला एकसाथ देख्न सकिन्छ । चाँडै नै कोरोना कहर हट्ने र पर्यटनमा आशा जगाउने बरालले बताउनुभयो ।

तथ्याङ्कअनुसार पोखराका होटेल तथा रिसोर्टमा ७०० व्यवसायी आबद्ध छन् । यस व्यवसायमा पर्यटन व्यवसायीको आफ्नो लगानी ५० अर्ब छ भने बैंकको लगानी ७५ अर्ब छ । यस व्यवसायबाट १२ हजार २९८ जनाले रोजगारी पाएका छन् । त्यस्तै रेष्टुरेन्ट तथा बारतर्फ १०० जना व्यवसायी आबद्ध छन् । यसमा रु. एक अर्ब व्यवसायीको आफ्नै लगानी छ भने तीन अर्ब बैंकको लगानी छ । ट्रेकिङ एजेन्सिजतर्फ १५९ व्यवसायी आबद्ध भएका छन् र यसमा व्यवसायीको आफ्नै रु. ३२ करोड लगानी छ । यसमा ४२ करोड ९७ लाख ६० हजार बैंकको लगानी छ । यसबाट एक हजार २७२ जनाले रोजगारी पाएका छन् । ट्राभल्स एजेन्सिजतर्फ १८१ जना व्यवसायी आबद्ध भएकामा उनीहरूको आफ्नै लगानी रु ७९ करोड ७५ लाख ५० हजार छ भने रु. १८ करोड ६० लाख ९५ हजार बैंकको लगानी छ ।

पोखरामा पर्यटन सम्बद्ध प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्युपमेन्ट सप, इम्ब्रोडयरी एण्ड गार्मेन्ट सप, पर्यटक यातायात व्यवसायी, गाउँ पर्यटन, पर्वतारोहण आदिमा व्यवसायीको करौडौँ रुपैयाँ लगानी छ भने बैंकको लगानी पनि त्यत्तिकै छ । पोखरामा सबै किसिमका पर्यटनसम्बद्ध व्यवसायमा झण्डै २१ हजार जनशक्तिले रोजगारी पाएका छन् । कोरोना कहरका कारण व्यवसाय नै बन्द हुँदा यस क्षेत्रमा खटिने जनशक्तिलाई कसरी जोगाउने भन्ने चिन्ता छ ।

पोखराका साथै गण्डकी प्रदेशका विभिन्न जिल्लाका गाउँमा घरबास कार्यक्रमअन्तर्गत पनि ठूलै लगानी भइसकेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताउनुभयो । कोरोनाको कहर विस्तारै कम हुँदै जाने र पर्यटन क्षेत्र चलायमान हुने विश्वासका साथ गाउँ पर्यटनलाई प्रविधिमैत्री बनाउन पहल गरिएको उहाँले बताउनुभयो ।

प्रदेशमा सञ्चालित घरबास सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहयोग एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको संयोजनमा हालै होमस्टे मोबाइल एप सेवा सञ्चालनमा ल्याइएको छ ।

“प्रदेशभित्रका घरबासलाई अनलाइन प्रविधिमार्फत बुकिङ गर्न मिल्ने, पैसा तिर्न मिल्ने सुविधा एवं सबै घरबासबारे बुझ्न मिल्ने गरी होमस्टे मोबाइल एप सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो ।

मोबाइल एप पहिलो चरणमा यो भिटोफ गण्डकी प्रदेशबाट सञ्चालन हुने र सम्बन्धित होमस्टे सक्षम भएपछि उनीहरूले नै सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । एपमार्फत हाल ५० वटा होमस्टे बुकिङ गर्न मिल्ने छ भने अन्य २५४ होमस्टेका विवरण त्यहीबाट जानकारी लिन सकिने छ । पोखराको पर्यटनलाई विसं २०७२ को विनाशकारी भूकम्पसहित त्यसयता भएका नाकाबन्दी, टर्किस् एयरको जहाज दुर्घटना, अन्नपूर्ण क्षेत्रको हुदहुद आँधी, डेङ्गु, बर्डफ्लू, बाढीपहिरोजस्ता धेरै घटनाक्रमले प्रभावित पारे पनि यति लामो समयसम्म प्रभावित भएको भने पहिलो पटक हो ।

पछिल्ला वर्षमा सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएका थिए भने सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० को भने शुरुआतदेखि नै कोरोना कहरका कारण पर्यटक आवागमन प्रभावित बनेको छ । नेपाल आउने पर्यटकमध्ये पोखरा क्षेत्रमा करिब ४० प्रतिशत आउने गरेका छन् ।

हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्य पोखरामाम बास बसेका थिए । त्यस समयमा पोखरामा त्यस्तो पर्यटकीय पूर्वाधार केही बनिसकेको पनि थिएन । त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएसँगै यहाँको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेका थिए । हिप्पी पर्यटकको आगमनपछि थलिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि विस्तारै फस्टाउन थालेको हो ।

माछापुच्छे« हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङ्कोट, विश्वशान्ति स्तूपा, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट, भरतपोखरीस्थित मल्लकालीन कोटभैरव जस्ता धेरै स्थान यहाँका पर्यटकीय आकर्षण हुन् । महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य हुन् ।

यी स्थानका अतिरिक्त रामसार सूचीमा सूचीकृत फेवातालसहित पोखराकै कमलपोखरी, लेखनाथ क्षेत्रका वेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता तालले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ । पोखरा हुँदै हिमालपारीको जिल्लास्थित पवित्र तीर्थस्थल मुक्तिनाथको दर्शनमा जाने दर्शनार्थी हुन् वा यही आसपासका तालबाराही, विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेवलगायतका स्थलमा दर्शनका लागि पनि पर्यटक आउने गर्दछन् ।

कोरोना कहरका बाबजुद पनि चाँडै नै पर्यटन क्षेत्र चलायमान बन्ने विश्वासका साथ पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटकीय ‘ब्रान्डिङ’ गर्ने विषयलाई प्राथमिकतामा राखिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो । ब्रान्डिङकै क्रममा विगतमा प्याराडाइज पोखराका नामबाट परिचित पोखरालाई अब ‘पोखरा, पियोर एज प्याराडाइज’ भनी उल्लेख गरिएको भण्डारीले जानकारी दिनुभयो ।

पर्यटन क्षेत्रलाई बचाउनका लागि त्यहाँ काम गर्ने मजदरलाई टिकाउनु जरुरी भएकाले उनीहरूलाई आगामी दिनमा पदयात्रा मार्गको संरक्षण, मर्मतसम्भार आदिमा लगाउने लक्ष्य राखिएको भण्डारीले जानकारी दिनुभयो ।

“घरबासका पूर्वाधार विकास आदिका लागि पनि पर्यटन क्षेत्रका मजदुरलाई रोजगारी सिर्जना गर्ने सोचका साथ समुदायमा आधारित रोजगारी सिर्जना गर्ने किसिमका कार्यक्रम पनि अघि बढाउने सोचमा छौँ”, उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?