logo
२०८१ बैशाख १५ शनिवार

  एमाले कार्यदल बैठक  



सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने

मुख्य समाचार |


सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने


लक्की चाैधरी

काठमाडौं, असार २५ गते । नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको कार्यदलले सहमतिको साझा मस्यौदा तयार गरेको छ । तर त्यसको अन्तिम रुप भोलि दिने निर्णय गरेको छ । आज सिंहदरवारमा करिब सात घण्टा लामो छलफलबाट कार्यदलले सो मस्यौदा तयार गरेको हो । कार्यदलका सदस्य तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकमा सहमतिको मस्यौदा तयार गर्ने काम भएको र भोलि त्यसलाई अन्तिम रुप दिने तयारी भएको जानकारी दिनुभयो ।

कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई अन्तिम रुपदिन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने कार्यदलले बताएको छ । दुई नेताहरुको सहमतिपछि मात्र मस्यौदाले अन्तिम रुप लिने कार्यदलका सदस्यहरुको भनाई छ । गत सोमबारदेखि सहमतिका लागि सक्रिय कार्यदलका सदस्यहरुले आज सहमतिको मस्यौदा गर्न लामो समय लगाउनुभयो । कार्यदलका सदस्यहरुको सुझाव र विचारलाई संश्लेषण गर्न समय लागेको कार्यदलका सदस्य रघुजी पन्तले बताउनुभयो ।

कार्यदलले करिब टुङ्गो लगाएको विषयमा भोलि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग कार्यदलका नेताहरुले छलफल गर्ने उहाँले जानकारी दिनुभयो । दश सदस्यीय कार्यदलका सदस्यहरुबीच पार्टी एकताको विषयमा मोटामोटी सहमति बनेपनि के के विषय र सहमतिको मोडालिटीबारे अझै जानकारी गराइएको छैन । अध्यक्ष ओली र नेता नेपालबीच अन्तिम सहमति बनेपछि मात्र त्यसलाई संयुक्त विज्ञप्तिकोरुपमा दस्तावेज सार्वज्निक गर्ने तयारी एमालेले गरेको छ ।

कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले सहमतिको दस्तावेज तयार भएको र भोलिको बैठकबाट अन्तिमरुप दिने बताउनुभयो । “लामो छलफल, संवाद र प्रयासबाट कार्यदलले सहमतिको दस्तावेज तयार पारेको छ, भोलि नै अन्तिम रुप दिएर सार्वजनिक गर्छौ” उहाँले भन्नुभयो । पार्टी एकता हुनेमा अब कुनै कसर बाँकी नहुने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ । त्यस्तै नेता नेपालको तर्फबाट भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त रहनुभएको छ । 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप