logo
२०८१ बैशाख १५ शनिवार



जन्मेको ११ दिनमा छावाको न्वारन, शहीदको नाउँबाट नामकरण

पढ्नै पर्ने |
खुला |


जन्मेको ११ दिनमा छावाको न्वारन, शहीदको नाउँबाट नामकरण


लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, बैशाख ३१ गते । चितवन राष्ट्रिय निकुञ्जको सौराहा खोरसोर स्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा एघार दिन अघि जन्मिएको हात्तीको छावाको शुक्रवार न्वारन गरिएको छ ।
बैदिक तथा परम्परागत बिधि अनुरुप न्वारन गरिएको भाले छावाको नाउँ ‘शेषचन्द्र गज’ राखिएको छ । पहिले पहिले राजा, महाराजाका नाउँबाट हात्ती तथा हात्तीको बच्चाको नामाकरण गरिने गरिन्थ्यो । यसपटक भने संरक्षणका कामको क्रममा शहिद भएका व्यक्तिको सम्झनामा यो छावाको नामाकरण गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ सालमा कार्यालयका कामका लागि हिडिरहेका राष्ट्रिय निकुञ्जका कर्मचारीलाई गोली हानी हत्या गरिएका हरित शहिद शेषचन्द्र चौधरीको सम्झनामा छावाको नाउँ राखिएको हो ।
प्रमुख संरक्षण अधिकृत बरालले भन्नुभयो, पहिले हात्तीको छावाको नाउँ राजा, महाराजाका नाउँबाट राख्ने गरिन्थ्यो । यो पटक भने हामीले संरक्षणको काममा हिड्दा हिड्दै बीरगति प्राप्त गर्नुभएका हरित शहिदको सम्झनामा छावाको नाउँ राखेका छौँ ।
को हुन् शेषचन्द्र चौधरी ?
शेषचन्द्र चौधरी चितवन राष्ट्रिय निकुञ्जका सिनियर गेमस्काउटमा कार्यरत इमान्दार कर्मचारी हुनुहुन्थ्यो । २०७१ साल असोज ९ गते कार्यालयको कामले कसराबाट माडी हुँदै ठोरी जाने क्रममा गैँडा तथा बाघ तस्करहरुले बाटोमा घेरा हालेर गोली हानेका थिए । उहाँको तत्कालै मृत्यु भएको थियो । संरक्षणका काममा रहेका बेला तस्करहरुले गोली हानेर शहिद भएका चौधरी सम्भवः नेपालका पहिलो हरित शहिद हुनुहुन्छ ।
घटना भएको लगत्तै नेपाल प्रहरीको विशेष टोली र नेपाली सेनाको अप्रेसन चलेपछि चौधरीलाई हत्या गर्ने समुहका पाँचै जना पक्राउ परेका थिए । पक्राउ परेका मध्य दुई जना अदालतबाट धरौटी छुटेपनि तीन जना अझै कारागारमा रहेको जानकारी प्रमुख संरक्षण अधिकृत बरालले दिनुभयो ।
सामान्य आर्थिक अवस्था भएका चौधरीको हत्यापछि उहाँको एउटा छोरालाई चितवन राष्ट्रिय निकुञ्जले सवारी चालकको जागिर प्रदान गरेको छ ।
निकुञ्जभित्र छिरेर गैँडाको खाग तस्कर गरेको धेरै व्यक्तिहरुलाई चौधरीको नेतृत्वमा निकुञ्ज प्रशासनले पक्राउ गरेको थियो । सोही रिसिबी साध्नका लागि चौधरीलाई बाटो कुरेर हत्या गरेको अभियुक्तले स्वीकार गरेका थिए ।
चौधरीका सम्झनामा घटना स्थलमा चौतारो र यात्रु प्रतिक्षालयको निर्माण गरिने जानकारी निकुञ्ज कार्यालयले दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?