logo
२०८१ बैशाख १५ शनिवार



एकतीस वर्ष पुरानो सुकुम्बासी बस्ती जहाँ न्यूनतम पूर्वाधार छैन

पढ्नै पर्ने |
प्रदेश |


एकतीस वर्ष पुरानो सुकुम्बासी बस्ती जहाँ न्यूनतम पूर्वाधार छैन
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर छ स्थित लमहाको सुकुम्वासी बस्ति ।


मनोज तिमलसिना
रौतहट,फागुन १३ गते । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ६ स्थित लमहा जंगल छेउका सुकुम्बासीले बस्न थालेको ३१ वर्ष भयो । सो स्थानमा कुनै पूर्वाधार नबन्दा जीवन कष्टकर छ। भूमिहीन यहाँका बासिन्दाले व्यवस्थित बास र सुविधा माग्दै पटकपटक जनप्रतिनिधि गुहारे पनि कसैले सुनुवाइ नगरेको गुनासो छ ।
पूर्वपश्चिम लोकमार्ग खण्डमा रहेको लमहा क्षेत्रमा १४ घरधुरी छन् । वि.स २०४४ सालमा बसोवास शुरु भई ३१ वर्ष पुरानो यो बस्तीमा विद्युत्, खानेपानी, विद्यालय कुनै सुविधा छैन । जंगलको रहेको यो बस्तीमा चुनावमा आश्वासन मात्र पाउँछन् । राष्ट्रिय वनक्षेत्र भएकाले कुनै किसिमको सरकारी सुविधा नदिन डिभिजन वन कार्यालयले सम्बन्धित निकायलाई दबाब दिँदै आएको छ ।
आफूहरूलाई सरकारले अन्यत्र जमिन दिएर सारिदिए राम्रो हुने यस बस्तीकी स्थानीय फूलमाया पुलामी बताउनुहुन्छ । बस्तिको समस्या राख्दै आएको तर पनि हालसम्म कसैले आश्वासन पुरा नगरेको उहाँको दुःखेसो छ । यहाँका स्थानीय लामो समयदेखि लमाहा खोलाको कुवाको पानी पिउन बाध्य छन् । पहिलो दुई सय मिटर दुरीमा खोलाको डिलमा कुवा थियो तर अहिले भने अलि नजिक रहेको पुलामीले बताउनुभयो । गर्मी याम र वर्षाको समयमा यहाँ खानेपानीको समस्या रहने गरेको छ ।
यहाँ बिजुली बत्तिको सुविधा छैन् । सोलार र टुकीकै भरमा छ,यो बस्ती । विद्यालय नभएकाले सवैजसो बालबालिका खेलेर र बाख्रा चराएर दिन बिताउँछन् । विद्यालय र बजार जानका लागि जंगल पार गरेर सात किमी पूर्वको चन्द्रनिगाहपुर र १२ किमि पश्चिमको निजगढ पुग्नुपर्छ । २०४४ सालमा मकवानपुरको धियाल र डाङडुङे गाउँबाट बस्ती हटाइएपछि उनीहरु यहाँ आएका हुन । भनसुन गर्ने र हुनेखानेलाई सरकारले जमिन दिएर राखेको र पहुँच नभएकालाई पाखा लगाएको उहाँको गुनासो छ । बस्तीका सवैजसोकोे आर्थिक अवस्था यस्तै दयनीय छ । पुरुष मजदुरी र महिला बालिबालिका बाख्रापालनमा ब्यस्त रहन्छन् । यहाँको बस्तीमा वन्यजन्तुको डर रहँदै आएको छ । पन्चायतकालका तत्कालीन वनमन्त्री हेमबहादुर मल्लको पालामा पहाडको बस्ती हटाएर गुजरा नगरपालिकाको नयाँ बस्ति कटानी गाउँमा सारिएको थियो ।
स्थानीयले चन्द्रपुर नगरपालिकाका मेयर, संघीय सांसद र प्रदेश सांसदहरूलाई खानेपानी र विद्युत् जोड्न भने पनि कसैले सुनुवाइ नगरेको अर्का स्थानीय फूलमाया पहरीको भनाइ छ । बन क्षेत्र भएकाले डिभिजन वनले विद्युत्, स्कुल र खानेपानीलगायत संरचना बनाउन नमिल्ने भनेपछि नगरपालिकाले समेत पुर्वाधार विकास गर्न नसकेको हो । यस बस्ती नै स्थानान्तरण गर्नुपर्ने डिभिजन वन कार्यालय,रौतहटका प्रमुख विनोद सिंह बताउनुहुन्छ ।
लमाहाको बस्तीमा सुविधा पु¥याउने वा स्थानान्तरण गर्ने कुनै योजना नरहेको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले बताउनुभयो । यस बस्तीमा सरकारले लागू गरेको आधारभुत शिक्षा, स्वास्थ्य र पोषण कार्यक्रम पुग्न सकेको छैन । यस सुकुम्बासी बस्तीमा व्यवस्थित गर्ने वा स्थानान्तरण गर्ने भन्ने ध्यान दिनुपर्ने पूर्व सांसद देवेन्द्र पटेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?