logo
२०७८ मंसिर ११ शनिवार



राजा वीरेन्द्र, टेलिभिजन र आजको सन्दर्भ

विचार/दृष्टिकोण |


राजा वीरेन्द्र, टेलिभिजन र आजको सन्दर्भ


डा.कुन्दन अर्याल

आर्थिक अभावबाट ग्रस्त विकासोन्मुख देशमा टेलिभिजन सेतो हात्ती साबित हुने दाबीलाई गलत साबित गर्दै नेपालको पहिलो टेलिभिजनले आज छत्तीसौँ वार्षिकोत्सव मनाउँदैछ । नेपालमा टेलिभिजनको सामाजिक इतिहास नेपाल टेलिभिजनको स्थापनाभन्दा केही पुरानो अवश्य छ । तर नेपाली समाजमा टेलिभिजन संस्कृतिको द्रूत विकास भने पञ्चायती शासन व्यवस्थाको अन्तिम समयतिरदेखि नै भएको हो । राजा वीरेन्द्रले व्यक्तिगतरूपमा अभिरुचि दर्शाउँदै नेपालमा टेलिभिजन प्रसारण सुरु गराउँदा उहाँको खास मनसाय जेसुकै होस्, बितेका साढे तीन दशकमा यसले नेपाली चेतनास्तरलाई उकास्न उल्लेखनीय योगदान गरेको छ ।
एकसय ७० वर्ष पहिले प्रधानमन्त्री श्री ३ जङ्गबहादुरले युरोप भ्रमणबाट फर्किंदा आफूसँग ल्याएको छापा यन्त्रले नेपालको छापा इतिहासको ढोका खोलेको थियो । उनकै सन्तती चन्द्रशम्सेरले त्रिचन्द्र कलेजको स्थापना गर्दा आफ्नै खुट्टामा बञ्चरो हानेको ठानेका थिए भने जङ्गबहादुरले पनि पक्कै जनचेतना फैलाउन त्यो प्रेस नेपाल ल्याएका थिएनन् । त्यसपछिको समयमा पनि पहिले राणाहरूले र पछि पञ्चायतकालमा राजाहरूले जसरी छापा उद्योगलाई निर्वाध फस्टाउन दिएनन्, त्यस दृष्टान्तबाट पनि जङ्गबहादुरले किन छापा यन्त्र नेपालमा भित्र्याए भन्ने अनुमान लगाउन सकिन्छ । सञ्चारका साधनहरू मानसिक उत्पादनका साधन वा मानिसको मनोविज्ञानमा प्रभाव पार्ने माध्यम हुन् । उत्पादनका साधनमाथि जसको स्वामित्व रहन्छ, राज्यको वास्तविक शक्ति उसैसँग हुन्छ । त्यसैगरी राज्यको शक्ति बल प्रयोग गर्ने संस्थाहरूमा मात्र आधारित हुँदैन । सांस्कृतिकरूपमा कायम गरिने शक्ति पनि उत्तिकै महìवपूर्ण हुन्छ । सांस्कृतिक माध्यमबाट कायम गरिएको झूठो चेतना च्यात्न सक्नेहरू नै मुक्ति र स्वतन्त्रताको कुरा गर्छन् । यस मामिलामा जङ्गबहादुर र उनका सन्ततीको केही न केही बुझाइ थियो । त्यसैले जङ्गबहादुरले आफ्नो हातमा सांस्कृतिक वा मानिसको मन मस्तिष्कमा प्रभाव पार्ने साधनलाई आफू अनुकूल प्रयोग गर्न छापा यन्त्र आफैँसँग ल्याई आफ्नै नियन्त्रणमा राखेका थिए ।
आमरूपमा सञ्चारका साधनहरूमाथि बन्देज लगाइने र आफ्नो नियन्त्रणमा भने केही सीमित माध्यमहरूको सञ्चालन गराउने चलन विश्वव्यापीरूपमै देखिएको हो । त्यसैले एउटा शक्तिशाली प्रसारण माध्यमको स्थापना गर्दै आफ्नो शासन सत्ताको सांस्कृतिक महìव प्रभावकारीरूपमा बताउन खोज्नु वा विमर्शबाट प्राप्त हुने शक्तिलाई प्रचारका माध्यमले हासिल गर्न खोज्नु अलोकतान्त्रिक व्यवस्थाका शासकहरूको स्वभाव नै हुन्छ । राजा वीरेन्द्रबाट नेपालमा पनि आधुनिकताको एउटा प्रतीक भित्र्याउन नेपाल टेलिभिजनको स्थापना गराएइएकाे हाे भन्न सकिन्छ । तर यो धारणाले विषयको खास गहिराइ समेट्दैन ।
नेपालमा गिद्धे प्रेसदेखि गोरखापत्र, रेडियो नेपाल, गोरखापत्रकै अङ्ग्रेजी संस्करण द राइजिङ नेपाल अनि नेपाल टेलिभिजनको स्थापना तत्कालीन राज्य व्यवस्थाको सांस्कृतिक औजारकैरूपमा भएको थियो । विवेकशील राणा शासकका रूपमा सुपरिचित देवशम्सेरले गोरखापत्र सुरु गराउनुअघि पनि विशिष्ट बेलायती पाहुनाका लागि ‘बे्रकफास्ट’ सँगै अखबार प्रस्तुत गर्ने प्रयोजनका लागि कुनै अखबार छापिएको थियो भन्ने दाबी स्वर्गीय मदनमणि दीक्षित बेलाबेला गर्नुहुन्थ्यो । त्यस्तो दाबीलाई आजसम्म कसैले पुष्टि गरेको छैन । तर जेजसरी भए पनि गोरखापत्र सुरु भइसकेपछि समेत यो बन्द होस् भन्ने कामना पनि पछिका राणा शासकहरूले गरेका थिए भन्ने विषयमा पर्याप्त चर्चा भएका छन् । फ्रेञ्च विद्वान सिल्भाँ लेवी, काठमाडौँस्थित बेलायती रेसिडेन्सीलगायत विदेशी व्यक्ति वा संस्थाको चासोका कारण पनि चन्द्रशम्सेरका पालामा यो बन्द हुन नसकेको चर्चा पनि हुने गरेकै छ ।
सात सालमा स्थापित नेपालको पहिलो लोकतन्त्रको कालमा आमसञ्चारका विषयमा अस्थीर सरकारहरू धेरैथोरै अलमलमै रहे । तर पञ्चायतको सुरुवातदेखि नै राजा महेन्द्रले सांस्कृतिक शक्तिलाई व्यवस्थितरूपमा प्रयोग गर्ने लक्षण देखाए । गोरखापत्र दैनिक हुन गयो, राइजिड नेपालको सुरुवात भयो । द राइजिड नेपालको नामकरण नै राजा स्वंयले गरेको तथ्य पुराना पत्रकारहरूको स्मृतिमा छ । राजा महेन्द्रले देश, नरेश र व्यवस्थाप्रति बफादार नागरिक बनाउने संस्कृतिको पक्षपोषण गर्ने उद्देश्यका साथ चलचित्रहरू पनि निर्माण गराए । केवल आफू अनुकूल आमसञ्चार क्षितिजको निर्माण गर्न राजा महेन्द्रले सके जति गरे । उनका जेठा सुपुत्र राजा वीरेन्द्रले त्यस दिशामा गरेको सबैभन्दा उल्लेखनीय कार्य नेपाल टेलिभिजनको स्थापना नै थियो । तर संसारका कैयौँ सभ्यतामा देखिएका छन्, यस्ता साधन वा माध्यममा विद्यमान सत्ताका लागि अनपेक्षित प्रभावहरूसमेत पार्ने ‘साइड इफेक्ट’ का पक्षहरू पनि अन्तरनिहित हुन्छन् । अनपेक्षित असर नै थियो नेपाल टेलिभिजनको जसले गर्दा २०४६ सालको जनआन्दोलनका क्रममा राजाको पञ्चायती व्यवस्था झनै बद्नाम हुन पुग्यो । आफ्नो छत्तीसौँ वार्षिकोत्सवका अवसरमा नेपाल टेलिभिजनले सञ्चालन गरेको एक अन्तर्वार्ताका क्रममा कुनै बेलाकी विख्यात अङ्ग्रेजी समाचार प्रस्तोता तथा हाल महिलामाथि हुने सबै प्रकारका भेदभावविरुद्धको संयुक्त राष्ट्र सङ्घीय समितिकी अध्यक्ष वन्दना राणा भन्दै हुनुहुन्थ्यो, ०४६ सालको आन्दोलनताका कैयौँ पटक स्थिति सामान्य छ भन्ने किसिमको समाचार
प्रसार गर्नुपथ्र्याे ।
बाहिर आन्दोलन चर्किरहेको हुन्थ्यो । तर उहाँहरूले सिंहदरबारबाट केही भएको छैन, पसल बजार खुला छन् भन्दै पुरानो तस्बिर देखाउँदै समाचार पढ्नु पथ्र्याे । स्वर्गीय दुर्गानाथ शर्माले आफ्नो संस्मरणमा नेपाल टेलिभिजन भर्खर–भर्खर स्थापना भएको समयमा काठमाडौँमा निकै फैलिएको सरकार विरोधी प्रचारको खण्डन गर्न खोज्दा शून्य हात लागेको प्रसङ्ग उल्लेख गर्नुभएको छ । तत्कालीन सोभियत सङ्घको चर्नोविलमा आणविक दुर्घटना भएर विकिरणका कारण विषमा परिणत भइसकेको पाउडर दूध नेपालमा प्रयोग भइरहेको छ भन्ने समाचारको खण्डन गर्नु थियो । नेपाल दुग्ध संस्थानका महाप्रबन्धकले दूध खाएको दृश्यसहितको समाचार नेपाल टेलिभिजनमा महìवका साथ प्रसार गरियो । तर त्यो समाचारले स्थितिलाई झन् चर्कायो ।
आजको नेपाल टेलिभिजनका लागि बाहिरी र आन्तरिक अवस्था भिन्न छ । कार्यक्रम, उत्पादन र वितरणमा नयाँ प्रविधिलाई यसले आत्मसात् गरिसकेको छ । कतिपय विकसित देशमा समेत एक दशकभन्दा केही अघि मात्र व्यापक परिमाणमा सुरु भएको ‘हाई डिफिनिसन’ (एचडी) प्रसारण अर्थात् फराकिलो र ‘कृस्टल क्लियर’आकृति देखाउने डिजिटल सङ्केतको प्रयोग यसका पाँच वटै च्यानलहरूमा भइरहेको छ । तस्बिरलाई वास्तविकताको धेरै नजिक पु¥याउने नेपाल टेलिभिजनका सबै जीवन्त एचडी च्यानलहरू युट्युवमा उपलब्ध भइरहेका छन् । नेपाल टेलिभिजनले आफ्ना कार्यक्रमहरू दर्शकको अनुकूलताअनुसार उपलब्ध हुने प्राविधिक व्यवस्था गरेको छ । जसरी आज इन्टरनेट प्रविधि र स्याटेलाइट प्रसारणले आममानिसको टेलिभिजन प्रयोगको शैलीमा भिन्नताल्याएको छ, त्यसैगरी नेपाल टेलिभिजनले पनि आफूलाई आजको सन्दर्भमा समेत प्रमुख आमसञ्चार माध्यमका रूपमा कायमै राख्ने प्रयत्न गर्दै आएको छ । बदलिएको समय–परिस्थितिसँगै यसका आन्तरिक पक्षहरूमा परिवर्तन भएका छन् । जसरी कार्यक्रम उत्पादन र वितरण मात्र होइन, विषयवस्तुका दायरामा पनि फराकिलोपना आएको छ, त्यसैगरी अब यो अग्रणी प्रसारण संस्थाले आत्मविश्वासका साथ देशको समग्र टेलिभिजन क्षितिजलाई मार्गदर्शन गर्न सक्नुपर्छ ।
नेपाल टेलिभिजनको सुरुवात र इतिहासका कतिपय पक्षहरू यसलाई वर्तमानमा पनि सशक्त आमसञ्चार माध्यमका रूपमा कायमै राख्न सहायक भइरहेका छन् । तर यसको यहाँसम्मको यात्रा एनालगबाट एचडीसम्मको प्रविधिक विकासको यात्रा मात्र होइन । दिनभरि मात्रै प्रसारण हुने एउटा च्यानलबाट पाँच–पाँच वटा च्यानल वा चौबीस घण्टे च्यानलसम्मको विकास यात्रा मात्र होइन । यसबीच सिंहदरबारभित्र र यस बाहिरको समाजमा पनि युगान्तकारी परिवर्तन भइसकेको छ । कार्यक्रममा विविधता र बहुलवादको सोच प्रतिविम्बित हुनै पर्ने संवैधानिक व्यवस्था भएसँगै यसप्रतिको अपेक्षा अझ बढेको छ । यसको बलियो भौतिक संरचना, संस्थागत अनुभव र दक्ष जनशक्तिलार्ई भविष्यमा पनि प्रभावकारीरूपमा अघि बढाउन केही समयानुकूल नीतिगत व्यवस्था गर्नुपर्ने विषयमा राजनीतिक वा प्रशासनिक तहमा मतैक्य कायम भइसकेको छ । तर संसारभरकै निरन्तर चलिरहेको टेलिभिजनमाझ उतार चढावको पर्याप्त अनुभव सँगालेको आमसञ्चार माध्यमका रूपमा दरिएको यो संस्था खासगरी राजनीतिक इच्छाशक्तिका कारण विधिवत सार्वजनिक प्रसारण संस्थामा रूपान्तरित भएको छैन ।
यो कस्तो किसिमको सार्वजनिक प्रसारण संस्थामा रूपान्तरित होला ? यसको आर्थिक स्वायत्तता र विषयवस्तुको निर्माण र प्रस्तुतिसम्बन्धी स्वतन्त्रताको विषयलाई कसरी निरूपण गरिएला ? प्रश्नहरू छन् । तर यो व्यवस्था र संविधानप्रति प्रतिबद्ध सबै राजनीतिक शक्तिहरूले यही संविधानअनुकूलको इमानदार प्रतिबद्धता प्रकट गरेको खण्डमा मतैक्य कायम नहुनु पर्ने कारण छैन । नेपाली समाजको सञ्चार अभ्यासको उल्लेखनीय इतिहासको यो धरोहरलाई यही दिशामा अग्रसर गराइएपछि नै आजको नेपाली टेलिभिजन च्यानलहरूको बृहत् क्षितिजमा यसलाई विशिष्ट स्थानमा विधिवत् आसिन गराउन सकिनेछ ।
(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?