logo
२०८१ बैशाख १५ शनिवार



बिग बैश लिगमा होबर्ट हुरिकेनले सन्दीप लामिछानेलाई अनुबन्धन गर्यो

पढ्नै पर्ने |
खेलकुद |


बिग बैश लिगमा होबर्ट हुरिकेनले सन्दीप लामिछानेलाई अनुबन्धन गर्यो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ४ गते । होबर्ट हुरिकेनले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बिग बैश लिगको आगामी संस्करणको लागि अनुबन्धन गरेको छ । यसअघि पछिल्लो संस्करणमा सन्दीपले मेलबर्न स्टार्सको प्रतिनिधित्व गर्नुभएको थियो । उक्त सम्झौताको म्याद सकिएपछि सन्दीपको बीग बैश लिगको यात्रा अन्योलमा रहेको थियो ।
सन्दीपको अनुबन्धनसँगै होबर्टले आफ्नो टोलीको घोषणा गरेको छ । २० वर्षीय सन्दीपसँग बिहीबार बिहान सम्झौता हस्ताक्षर भएको सन्दीपका ब्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । उहाँ डिसेम्बर दोस्रो वा तेस्रो साता लिग खेल्न अष्ट्रेलिया प्रस्थान गर्नुहुनेछ ।
इन्डियन प्रिमियर लिगमा देल्ही क्यापिटल्ससँग अनुबन्धनमा रहेका सन्दीपले पछिल्लो संस्करणमा एउटै खेलमा अवसर पाएनन । अष्ट्रेलियाका पूर्ब कप्तान रिक्की पोन्टिङ प्रमुख प्रशिक्षक रहेको देल्हीले उहाँको स्थानमा अक्षर पटेल, अमित मिश्रा र रबिचन्द्रन आश्विनलाई पहिलो रोजाइमा राखेको थियो । देल्हीले फाइनलमा मुम्बईसँग हार बेहोरेको थियो । सन्दीप भने लिगकै एउटै खेलमा अवसर नपाई तितो अनुभव लिएर नेपाल फर्किनुभएको थियो ।
बिग बैश लिगमा आबद्ध भएसँगै सन्दीपले पुनः आफूलाई प्रमाणित गर्ने प्लेटफर्म पाउनुभएको छ । लिगको पहिलो दुई सिजनमा सन्दीपले २० खेलमा १९.८० को औसतले २६ विकेट लिनुभएको छ । अघिल्लो दुई संस्करणमा हरियो क्यापमा सजिएका सन्दीपले आगामी संस्करणमा बैजनी रङ्गको क्यापमा सज्जिने अवसर पाएकोमा उत्साहित रहेको प्रतिक्रिया दिनुभएको छ ।
हुरिकेनका प्रमुख प्रशिक्षक एडम ग्रिफिथले बलिङ्ग आक्रमणमा सन्दीपको उपस्थितिले अतिरिक्त आकर्षण थप्ने प्रतिक्रिया दिनुभयो । उहाँले सन्दीपमा उक्त क्षमता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन्दीपले कसरी खेल परिवर्तन गर्न सक्छ, हामीले नियालेका छौं, खेलको कुनै अवधिमा पनि बलिङ गर्न सक्ने र विकेट लिने क्षमता रहेकोले होबर्टको बलिङमा सन्दीपको उपस्थितिले आयाम थपिनेछ ।”
होबर्ट हुरिकेनमा सन्दीपको अनुबन्धनसँगै उसको टोलीले पूर्णता पाएको छ । टोलीमा स्कट बोल्याण्ड, टिम देविड, जैक डोरन, नाथन एलिस, जैम्स फौकनर, पिटर हैण्ड्सकम्ब, बेन म्याकडेमोट, रिलि मेरेडिथ, देविड मुडी, मिसेल ओवेन रहेका छन् । त्यसैगरी, टिम पैन, विल पार्कर, डी आरसी शर्ट, म्याथ्यु वाडे, निक विन्टर र म्याच राइट घरेलु खेलाडीको रुपमा रहनेछन् ।
विदेशी खेलाडीहरुमा उसले देविड मलान, सन्दीप लामिछाने र कीमो पौललाई भित्र्याएको छ । विल जैक्स र कोलिन इन्ग्राम होबर्टबाट बाहिरिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?