logo
२०८१ बैशाख १५ शनिवार



बाँकेमा दुई वर्षिय बालिकासहित ४१ जना संक्रमणमुक्त भएर घर फर्किए

पढ्नै पर्ने |
प्रदेश |


बाँकेमा दुई वर्षिय बालिकासहित ४१ जना संक्रमणमुक्त भएर घर फर्किए


सिराज खान

नेपालगञ्ज, असोज ४ गते । बाँकेमा दिनदिनै संक्रमणमुक्त भएर घर फर्किनेहरु बढ्दै गएका छन् । सो क्रममा आइतबार पनि जिल्लामा एक दुई वर्षिय बालिका र ७० वर्षय पुरुषसहित ४१ जना संक्रमितहरु संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले आईतबार एक २ वर्षिय बालिका र ७० वर्षिय पुरुषसहित बाँकेबाट ४१ जना कोरोना संक्रमित निको भएर घर फर्किएको बताउनुभयो । उहाँले भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा रहेका ८ महिला र ३३ पुरुष गरेर ४१ जनालाई आइतबार डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।
१४ दिनसम्म आइसोलेसनमा रहँदा उहाँहरुलाई कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएपछि स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार डिस्चार्ज गरेर घर पठाईएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार यसरी निको भएर आइतवार घर फर्किनेहरुमा २ वर्षिय बालिकादेखी ७० वर्षिय पुरुषसम्म रहेका छन ।
संक्रमणमुक्त भएर फर्किएका ४१ जनासँगैै बाँकेमा कोरोनामुक्त भएर घर फर्किनेको सँख्या १ हजार २४४ पुगेको छ । जिल्लामा हालसम्म १ हजार ५९० जनामा संक्रमण पुष्टि भएको र ती मध्ये १ हजार २४४ जना निको भएर घर फर्किसकेको तथा १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार अझैपनि ३३६ जना संक्रमितहरु विभिन्न आइसोलेसन सेन्टर र अस्पतालहरुमा उपचाररत भर्ना रहेका छन् । ती मध्ये भेरी अस्पतालको बिशेष कोरोना वार्डमा भर्ना रहेका २ जना संक्रमितको अवस्था निकै गम्भीर रहेको अस्पतालले जनाएको छ ।

यसैबीच नेपाल सरकारबाट कोरोना ३ लेभल अस्पतालका रुपमा मान्यता पाएको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालले कोभिड १९ का तीन जना अतिनै गम्भीर संक्रमितको उपचार गरेर ज्यान जोगाईएको जनाएको छ ।
नेपालगञ्ज वडा नं. १, घम्बोजी बस्ने वर्ष ६५ की अमृता थापा, नेपालगञ्ज १८ कारकाँदो बस्ने ४८ वर्षिय दुर्गा बहादुर कार्की र कैलालीको धनगढीमा घर भएका ४८ वर्षिय तिर्थराज भट्को जटिल उपचार गर्न सफल भएको अस्पतालका सहायक निर्देशक नितेष कुमार कनोडियाले बताउनुभयो ।
उनिहरुको उपचारकालागि आवश्यक रेमडिसिभर उपलब्ध नहुँदा समेत अस्पताल व्यवस्थापनले बाहिरबाट मगाई तिनै जना बिरामीलाई २४ सै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानीमा आईसियु कक्षमा राखी उपचार गरीएको कनोडियाले बताउनुुभयो
विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरुको अनवरत प्रयासपछि उनिहरुको सफल उपचार गरी डिस्चार्ज गर्न सफल भएको अस्पतालद्धारा जारी गरिएको विज्ञप्तीमा जनाईएको छ । उनिहरुको उपचारमा कन्सल्टेण्ट फिजिसियन डा. अनिल श्रेष्ठ, डा. श्याम विक र डा. प्रवेश पन्तको नेत्तृत्वमा स्वास्थ्यकर्मीहरु खटिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?