logo
२०८१ बैशाख १४ शुक्रवार

  दुई हजार बढी शव चिर्ने स्वास्थ्यकर्मीकाे अनुभव  



'बालबालिकाको शव चिर्दा मन कटक्क खान्छ, आमा हुँ नि म पनि'

पढ्नै पर्ने |


'बालबालिकाको शव चिर्दा मन कटक्क खान्छ, आमा हुँ नि म पनि'


अमृतप्रसाद पौडेल

बेनी, असोज १ गते । बेनी अस्पतालको शवगृहमा जब स–साना बालबालिकाहरुको शव चिर्न पर्छ नि तब म पनि त आमा हुँँ नि मन कटक्क खान्छ । तैपनि मृतकका आफन्तहरु पीडाले छट्पटिदै रुने, कराउने गर्दा भित्र आफूले शव चिर्नु कठिन त पक्कै छ नि । काम गर्नुपूर्व र काम गरेपछि मन त कुँडिन्छ नै तर पनि आफ्नो जिम्मेवारी नै त्यही भएकोले गर्नैपर्छ । यो कुनै चलचित्र वा एकादेशको कथा नभई बेनी अस्पतालको शवगृहमा पोष्टमार्टमको समयमा शव चिर्ने सहयोगी लक्ष्मी किसानको यथार्थ हो । ‘मृत्यु भएको धेरै समय भएर सडिसकेका शवहरु पनि आएका हुन्छन्, तैपनि मैले आफूले पाएको जिम्मेवारीको काम त गर्नैप-यो नि हैन र ?’

डाक्टरले मृत्युको कारण हेर्नका लागि उपस्थित भएपछि शव चिरेर अदालत, प्रहरी र डाक्टरले खोज्ने रिपोर्टमा उल्लेख गर्ने विषयवस्तुहरु दुरुस्तसँग निकाल्ने जिम्मेवारी छ लक्ष्मीको । सबैले लक्ष्मी सिस्टर भन्ने उहाँ बेनी अस्पतालमा २०६२ सालदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत हुनुहुन्छ । बागलुङ नगरपालिका–३, की लक्ष्मीका श्रीमानले २०५७ देखि बेनी अस्पतालमै पोष्टमार्टममा काम गर्ने गरेको भए पनि २०६२ मा श्रीमान्ले छाडेपछि लक्ष्मीले सोही काम थाल्नुभएको हो । एउटा छोरी अहिले बेनीमै १२ कक्षा पढ्छिन् भने छोराले कक्षा ४ मा पढ्छन् । बागलुङबाट बेनीमा आएर कार्यालय सहयोगीको रुपमा कार्यरत लक्ष्मीको १५ वर्ष बेनी अस्पतालकै शव पोष्टमार्टम गरेरै बित्यो ।

कुनै घटना वा दुर्घटना हुन्छ, कसैले आत्महत्या गर्लान् वा भवितव्यमै कसैको ज्यान जाला, उनीहरुको मृत्युको कारण खुल्न नसकेपछि घटनास्थलमा प्रहरी पुग्छ । मानवको मृत शरिरलाई ल्याएर बेनी अस्पतालको शवगृहमा राखेपछि खोजी हुने नाम हो लक्ष्मी सिस्टर । मृत शरिर जब अस्पतालको शवगृहमा पुगेपछि प्रहरीको पत्रसहित आउने टोलीले र मृतकका आफन्तले खोजी गर्ने गर्छन् लक्ष्मी सिस्टरलाई । उहाँले नै पछिल्लो १५ वर्षदेखि बेनी अस्पतालको शवगृहमा पोष्टमार्टमका लागि राखिएका शवहरु चिर्ने काम गर्नुहुन्छ ।

बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर सागर लामिछाने भन्नुहुन्छ– ‘म बेनी आएपछिको पछिल्लो एक वर्षमा मैले १९ वटा पोष्टमार्टम गर्ने समयमा कुनै पनि शवहरुको म्यानेज गर्ने, अङ्गहरु चिरफार गर्ने, ‘ह्याण्डल’ गर्ने जस्ता सबै काममा उहाँले बिमति जनाउनुभएन । आफ्नो काम गर्नका लागि निडर, कर्तव्य र जिम्मेवारीमा निकै बफादार हुनुहुन्छ लक्ष्मी दिदी ।’ पद कार्यालय सहयोगी भए पनि तर उहाँको जिम्मेवारी र पोष्टमार्टममा उहाँले निभाउने भूमिकाको विषयमा हामी डाक्टरहरुले कल्पना गर्न नसक्ने प्रकारका पोष्टमार्टम समेत उहाँले ढुक्कसँग व्यवस्थीत तबरले अंगहरु निकालिदिने र चिरफार गर्ने गर्नुहुन्छ– डा. लामिछानेले बताउनुभयो ।

‘कुनै पनि काम गर्दिन र कुनै पनि समयमा काम गर्दिन नभन्नु नै लक्ष्मीको सबल पक्ष हो, मध्यरात होस् वा बिहान, साँझ र दिउँसो लक्ष्मीले देखेका र भनेका काम सबै गर्छिन्’, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भन्नुभयो । पोष्टमार्टम गर्नका लागि आएका शवहरु चिर्नु, बाथरुम तथा ट्वाइलेटहरुको सरसफाइको नेतृत्व लक्ष्मीकै हो । अस्पतालभित्रै बस्ने लक्ष्मी करारको कर्मचारी भए पनि १५ वर्षदेखि निरन्तर यही काम गर्नु उनको जिम्मेवारीकै उपज हो, अध्यक्ष कटुवाल भन्नुहुन्छ । ‘करारमा रहेकी लक्ष्मीलाई म अध्यक्ष भएर आएपछि अस्पतालको दरबन्दी कोटामा राखिदिएको छु, उहाँको जिम्मेवारी र लगावले गर्दा अहिलेसम्म कसैले पनि उनको बिरुद्ध गुनासो गरेको सुनेको छैन’, उहाँले भन्नुभयो ।

अध्यक्ष कटुवालका अनुसार लक्ष्मीलाई बार्षिक रुपमा अस्पतालबाट इन्सेन्टिपवापत रकम आउँछ भने अन्य अवस्थामा आवश्यकता अनुसारको भत्ता पनि हुन्छ । राज्यले तोकेको कार्यालय सहयोगीको तलब पछिल्लो करिब एक वर्षदेखि लक्ष्मीले पाउँदै आउनुभएको छ ।

बेनी अस्पतालकी लक्ष्मी सिस्टरले कहिल्यै पनि लास सडेको, वा अन्य कारण देखाएर चिरफार गर्नका लागि कहिल्यै आनाकानी गर्नुहुन्न । अस्पतालले आवश्यक ठानेर खबर गरेको जुनसुकै समयमा पनि उपलब्ध हुने उहाँको सानो पद भनिने भए पनि निकै ठूलो जिम्मेवारीका साथ खट्नुहुन्छ । उहाँको सहयोगले गर्दा डाक्टरले सही रिपोर्ट दिने, प्रहरीले सही अनुसन्धान गर्ने, सरकरी वकिलले त्यही अनुसारको अभियोजन तयार गर्दै अदालतबाट निष्पक्ष न्याय सम्पादनसम्म भूमिका खेल्छ ।

म्याग्दी जिल्ला अस्पताल १५ बेडबाट ५० बेड क्षमतामा स्तरोन्नति हुँदै आफ्नो नाम फेरेर बेनी अस्पताल भयो, कच्ची भवनहरु पक्की बन्नका लागि अन्तिम तयारीमा छन्, तर १५ वर्षदेखि निरन्तर लक्ष्मीको जिम्मेवारी उही र भूमिका अब्बल नै छ । लक्ष्मी भन्नुहुन्छ– ‘पहिलाभन्दा धेरै डाक्टरहरु हुनुभयो, कर्मचारीहरु पनि धेरै भएका छन्, मैले पनि एक वर्षमा १३०–१३५ लासहरुको पोष्टमार्टम गर्ने काममा सहयोगी भूमिका गरेको छु, मलाइ प्रति लास दुईसय रुपियाँमा कर काटेर आउँछ ।’ सुरुमा त गाह्रै भयो, कुनै तालिम लिएको होइन, डाक्टरहरुले भने अनुसार काम गर्दै जाँदा मैले सिकेको हुँ –लक्ष्मीले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?