logo
२०८१ बैशाख १४ शुक्रवार



बाँकेमा मंगलबार थप ४२ जना संक्रमणमुक्त भएर घर फर्किए

प्रदेश |


बाँकेमा मंगलबार थप ४२ जना संक्रमणमुक्त भएर घर फर्किए


सिराज खान

नेपालगञ्ज, भदौ ३० गते । मंगलबार बाँकेबाट डाक्टर, पत्रकार, नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी लगायत गरेर ४२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किनु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मंगलबार कोरोना जितेर घर फर्किनेहरुमा १८ जना महिला र २४ जना पुरुष गरी ४२ जना रहनु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले मंगलबार डिस्चार्ज हुनेहरुमा भेरी अस्पतालका एक डाक्टर, एक पत्रकार, जिल्ला प्रहरी कार्यालय बाँकेका ९ प्रहरी, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी तथा एनआइसी एसिया बैंक, नबिल र माछापुच्छ्रे बैंकका कर्मचारी लगायत ४२ जना रहेको बताउनुभयो । यो सघैँ बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७८ पुगेको छ ।

जिल्लाका कोरोना सम्पर्क व्यक्ति श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ३ जना समेत गरी ३८६ जना संक्रमित अझै उपचाररत हुुनुहुन्छ ।

बाँके जिल्लामा हालसम्म भेटिएका जम्मा संक्रमितको संख्या १ हजार ४६९ रहेको छ भने भने ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । यसैबीच कोरोना भाइरसको संक्रमणबाट गम्भीर भएका संक्रमितको उपचारका लागि बाँकेमा प्लाज्मा थेरापी शुरु गरिएपछि प्लाज्मा दिनेहरु पनि बढ्दै गएका छन् ।

भेरी अस्पतालका प्लाज्मा सम्पर्क व्यक्ति डा. खगेन्द्रजंग शाहले प्लाज्मा थेरापीकै कारण सल्यानका गम्भीर संक्रमित निको भएको कुरा सार्वजनिक भएपछि प्लाज्मा दिन चाहेको भनि धेरैले सम्पर्क गरेको बताउनुभयो ।

उहाँले हालसम्म सात जनाले प्लाज्मा प्रदान गरिसकेको जनाउँदै प्लाज्मा दिनेहरु बढ्दै गएपछि गम्भीर अवस्थाका संक्रमितको उपचारमा सहज भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?