logo
२०८१ बैशाख १४ शुक्रवार



कोरोना जित्नेहरूको गुनासोः ‘कोरोना सहजै जितियो, समाजको मन जित्न गाह्रो भयो’

पढ्नै पर्ने |


कोरोना जित्नेहरूको गुनासोः ‘कोरोना सहजै जितियो, समाजको मन जित्न गाह्रो भयो’


नवीन शिशिर विक
बागलुङ, भदौ ५ गते । बागलुङ नगरपालिका–१३ सागर पाठक गत फागुन महिनामा आफन्त भेट्न भारत जानुभएको थियो । पाठक भारत जानु र भारतमा बन्दाबन्दी सुरु सँगसँगै भयो । बन्दाबन्दीकै समयमा घर फर्कनुभएका पाठक कोरोना सङ्क्रमित भएर आउनुभयो ।
भारतबाट फर्केपछि बागलुङ बजारको एक होटलको क्वारेन्टाईनमा बस्दै गर्दा उहाँलाई कोरोना सङ्क्रमण पुष्टिभयो । उहाँलाई उपचारको लागि धौलागिरी बहिरा विद्यालयको प्रि–आइसोलेसनमा राखेर उपचार सुरु भयो । करिब दुई हप्ताको आइसोलेसनको बसाइपछि उहाँले कोरोना पराजित गर्दै किनै उत्साहको साथ आफ्नो गाउँघर फर्कनुभयो ।
स्वास्थ्यकर्मीले आइसोलेनबाट बिदाइ गर्दा दिएको निर्देशन अनुसार उहाँ गाउँ पुगेपछि एकान्तवासमा बस्नुभयो । कुनै पनि प्रमाण उपचार विधि, खोप र औषधि नभएको रोगले समातेपछि निको हुन्छ कि हुन्न, भन्नेमा शङ्का थियो तर पनि निरन्तरको शारीरिक अभ्यास, अधिकार तातोपानीको प्रयोग, लसुन, बेसारको पानीको प्रयोगले छोटो समयमै सङ्क्रमणमुक्त भएर घर जाने मौका मिल्यो ।
महामारी जितेर घर फर्कँदाको अनुभव सुनाउँदै पाठकले भन्नुभयो, ‘युद्ध जितेर फर्केको सिपाहीमा जस्तो उत्साह र ऊर्जा थियो । तर उहाँको उत्साह धेरै बेर टिकेर जति बेला उहाँ आफ्नो घर पुग्दा छरछिमेक र समाजले गरेको व्यवहारको अनुभव गर्नुभयो ।
‘उत्साहका साथ घर फर्केको थिए तर समाजका मान्छे मसँग डराउने, मबाट टाढा भाग्ने गरेको देख्दा, धिक्कार रैछ भन्ने लाग्यो ।’ कारोना सहजै जिते पनि समाजका मन जित्न नसकेको पाठकको गुनासो छ ।
पाठक मात्रा होइन बानपा–५ सुमित परियारको अनुभव पनि त्यस्तै छ । भारतमा रोजगारी गुमेपछि घर फर्किँदा कोरोना सङ्क्रमित हुनुभएको छ । दुई हप्ताको अस्पताल बसाइपछि घर फर्कनुभएका परियारलाई समाजले हेर्ने दृष्टिमा फरक रह्यो । ‘पहिले पहिले लाहुरे आयो भनेर सबै घरमा आउँथे’ यसपालि रोग जितेर आउँदा घरमा आउने कोही भएनन् । सङ्क्रमणमुक्त भए पनि कोरोना सर्ने डरले छरछिमेकी डराउने गरेको परियारले बताउनुभयो ।
बागलुङ नगरपालिका–१० भकुण्डेका हिमाल थापाले भने समाजबाट थप उत्साह र साथ पाएको अनुभव सुनाउनुभयो । 'स्वास्थ्यकर्मीको सल्लाहबमोजिम दश दिन एकान्तबासमा बस्छौँ भन्दा पनि गाउँलेले घरै जानुपर्छ भनेर लिन आउनुभयो', उहाँले भन्नुभयो, 'बिरामीलाई उत्साह दिएर समाजले जिउने वातावरण सृजना गर्नु पर्छ ।’
जिल्लाको क्वारेन्टाइन तथा आइसोलेन कक्षमा रहेका व्यक्तिको परिवारमा समेत समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । सङ्क्रमित मात्र होइन, क्वारेन्टाइनमा बसेर घर फर्केकाहरू पनि घृणामा परेका छन्’ धौलागिरी अस्पताल बागलुङका मानसिक रोग विशेषज्ञ डाक्टर धीरेन्द्र पौडेलले भन्नुभयो, ‘यस्तो व्यवहारले समाजमा दीर्घकालीन असर पर्न सक्छ ।' 
स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा कोरोनाबारे व्यापक सचेतना जगाउने, भ्रमण चिर्ने र सङ्क्रमणमुक्त भएकाहरूलाई समाजमा घुलमिल हुन सक्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?