logo
२०८१ बैशाख १५ शनिवार



'सम्पर्कमा आएलगत्तै परीक्षण गराउँदा सङ्क्रमण नदेखिन सक्छ'

स्वास्थ्य |
पढ्नै पर्ने |


'सम्पर्कमा आएलगत्तै परीक्षण गराउँदा सङ्क्रमण नदेखिन सक्छ'


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ३१ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई पाँच दिनपछि मात्रै स्वाब परीक्षण गराउन आग्रह गरेको छ । काठमाडौँ उपत्यकासहित देशैभरि कोभिड–१९ परीक्षण गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । हाल देशैभरि दैनिक रुपमा औसतमा ११ हजार जनाको स्वाब सङ्कलन गरी परीक्षण हुँदैआएको छ।
मन्त्रालयले एक साताअघि सङ्क्रमितको सम्पर्कमा आएको हुनसक्ने सम्भावित व्यक्तिलाई परीक्षण गराउन अपिल गरेको थियो । परीक्षणका लागि मन्त्रालयले काठमाडौँ उपत्यकामा १३ वटा प्रयोगशाला खुल्ला गरेको छ । देशका अन्य भागमा सम्बन्धित प्रयोगशाला तथा निजी प्रयोगशालामा परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको थियो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सम्पर्कमा आएलगत्तै परीक्षण गराए सङ्क्रमणको यथार्थ अवस्था बुझ्न नसकिने भएकोले पाँचदेखि सात दिनपछि मात्रै स्वाब परीक्षण गराउन आग्रह गरिएकाे बताउनुभयाे । उहाँले भन्नुभयो, “ पीसीआर पोजिटिभ आउन पाँच-सात दिन लाग्ने भएकोले तुरुन्त जाँच गराउँदा ‘फल्स नेगेटिभ’ आउने भएकोले पाँच दिन पुगेपछि मात्रै परीक्षण गराउन जानकारी गराइन्छ ।”
सङ्क्रमितको सम्पर्कमा आएलगत्तै स्वाब परीक्षण गराएका कतिपय व्यक्तिमा तत्काल सङ्क्रमण नदेखिएको तर दुई-चार दिनपछि सङ्क्रमण पुष्टि भएको गुनासो बढिरहँदा मन्त्रालयले यस प्रकारको निर्देशन जारी गरेको हो । यस प्रकारको परीक्षणले पीसीआर उपकरणको विश्वसनीयतामाथिसमेत प्रश्न उठाइएको थियो ।
मन्त्रालयले सङ्क्रमितको सम्पर्कमा आएको पाँच दिनसम्म अनिवार्य होम क्वारेन्टिनमा बस्न सुझाव दिएको छ । सङ्क्रमितको सम्पर्कमा आएको केही समयपछि सम्पर्कमा आएकोले सङ्क्रमण सार्ने जोखिम रहेकोले मन्त्रालयले होम क्वारेन्टिनमा बस्न सुझाएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?