logo
२०८० चैत्र ६ मंगलवार

  जब सङ्क्रमित सुरक्षाकर्मीको समूह अस्पताल पुग्यो  



सरसफाइ भयो, झाडी फाँडियाे, थिति बस्याे, रूपै फेरियो

पढ्नै पर्ने |
प्रदेश |


सरसफाइ भयो, झाडी फाँडियाे, थिति बस्याे, रूपै फेरियो


नवराज कट्टेल
विराटनगर, साउन १८ गते । पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आइसोलेसन अस्पतालमा कोरोना सङ्क्रमण भएर भर्ना हुने सुरक्षा निकायकर्मीको सङ्ख्या बढ्दैछ । शुक्रबार राति मात्रै इलामबाट १७ जना सशस्त्र प्रहरी बलका सदस्यलाई आइसोलेसन अस्पताल भर्ना गरिएको हो ।

योसँगै आइसोलेसन अस्पतालमा भर्ना भएका १०३ जनामध्ये ४९ जना सशस्त्र प्रहरी र १८ जना नेपाल प्रहरीका गरी ६७ जना सुरक्षा निकायअन्तर्गतका सङ्क्रमित पुगेका हुन् । लक्षणविहीन पुरुष सङ्क्रमित मात्रै भर्ना गरिने मोरङ सुन्दरहरैँचा गोठगाँउस्थित पीयू आइसोलेसन अस्पतालमा हालसम्म ४५२ भर्ना भएकोमा ३४७ जना डिस्चार्ज गरिएको मेडिकल कलेजका डिन डा. शैलेशमणी पोखरेलले जानकारी दिनुभयो । भर्ना भएकामध्ये अाठ जना बीपी र कोशीको कोभिड–१९ उपचार केन्द्रमा रेफर गरिएका छन् ।

सुरक्षाकर्मीमा सङ्क्रमण पुष्टि भएर अस्पताल भर्ना गर्न थालिएपछि भने अस्पताल व्यवस्थापनमा समेत सहयोग पुगेको छ । अस्पतालको भित्री र बाहिरी स्वरुप पनि बदलिन थालेको छ ।अस्पतालको बाहिरी परिसरको झ्याङ, झोडी र झारपात फाँडिएको छ । भित्री परिसरको सरसफाइदेखि अनुशासन र अस्पतालले तोकेको नियमलाई कडाइपूर्वक पालना गर्ने प्रणाली स्थापित भएको डिन. पोखरेलले जानकारी दिनुभयो ।

पछिल्ला १५ दिनयता सुरक्षा निकायका सदस्यहरू भर्ना हुने क्रम बढेको छ । 'उपचारका हिसाबले नागरिक र सुरक्षाकर्मीबीच कुनै अन्तर छैन', डिन पोखरेलले भन्नुभयो, 'तर सुरक्षाकर्मीको चेन अफ कमाण्डले अस्पतालको वातावरणलाई फरक बनाइदिएको छ ।'

आफैँ सरसफाइ गर्ने, व्यवस्थापन समितिले तोकेको नियम पालना गर्ने र सहयोगी बन्ने भावना सुरक्षा निकाय छ । त्यसले अन्य नागरिकलाई समेत सचेत हुन पाठ सिकाइरहेको छ । मेडिकल कलेजका डिन डाक्टर पोखरेलका अनुसार सङ्क्रमितहरूको उपचारका लागि अहिले १८ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । अस्पतालमा स्वचालित डिस्इन्फेक्सन मेसिन जडान गरिएको छ ।

स्वास्थ्यकर्मी सङ्क्रमित हुने सङ्ख्या बढ्दैजाँदा अस्पतालमा भर्ना भएकाहरूले पनि आफैँ सचेत हुनुपर्ने अवस्था आइसकेको सम्बन्धित क्षेत्रका चिकित्सकहरूको सुझाव छ । कोशीको कोभिड–१९ उपचार केन्द्रमा सुरुदेखि नै सक्रिय रहनुभएका फिजिसियन डा. डेन आचार्यले हरेक नागरिक अनुशासनमा नहरे चुनौती चिर्न कठिनाइ हुने बताउनुहुन्छ ।

सङ्क्रमण पुष्टि भए पनि लक्षण नभएका व्यक्तिहरूले अस्पतालमा आफ्नो स्वास्थ्य हेरचाह आफैँ गर्नुपर्ने डाक्टर डेनको भनाइ छ । उहाँले सङ्क्रमित व्यक्तिले खाना खाएका प्लेटहरू सफाइ कर्मचारीले उठाउँदा उसैलाई सङ्क्रमण सर्नसक्ने जोखिम रहेकोले सावधानीपूर्वक त्यसको व्यवस्थापन तोकिएको स्थानसम्म आफैँ गर्नुपर्ने बताउनुभयो । 'सुरक्षाकर्मीले बुझेजति आम नागरिकले बुझ्ने हो भने सङ्क्रमितहरूको उपचार र अस्पताल व्यवस्थापनमा सहज हुनेछ', डाक्टर डेनले भन्नुभयो, 'सबैलाई जीवनको माया हुन्छ भन्ने भावना आवश्यक छ ।'

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?