logo
२०८१ बैशाख १५ शनिवार



आइसोलेसनमै कोरोना सङ्क्रमित महिलाले जन्माइन् छोरी

फिचर |
पढ्नै पर्ने |


आइसोलेसनमै कोरोना सङ्क्रमित महिलाले जन्माइन् छोरी


दिपकप्रसाद गौतम

वीरगञ्ज, साउन १६ गते ।  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा रहेकी एक ३१ वर्षीया महिलाले वीरगञ्जको नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा शुक्रबार छोरी जन्माउनुभएको छ । कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

बिहीबार साँझ सुत्केरी व्यथाले च्यापेपछि सुत्केरी गराउन ती ३१ वर्षीया महिलालाई नेशनल मेडिकल कलेजको प्रसूती गृहमा लगेर भर्ना गरिसकिएको थियो । सङ्क्रमित महिला सुत्केरी गराउनका लागि मेडिकल कलेजमा भर्ना भएको खबर पाएपछि कोभिड अस्पतालका चिकित्सकले राति साँढे एक बजे ती सङ्क्रमित महिलालाई कोभिड अस्पतालमा ल्याएका थिए ।

बिहीबार राती अबेर आएको पीसीआर परीक्षण रिपाेर्टमा उक्त गर्भवती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो तर साँझ नै सुत्केरी व्यथाले च्यापेपछि सुत्केरी गराउन अस्पताल ल्याइएकाले कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी कुनै पनि परिवार सदस्य र स्वयम् गर्भवती महिलालाई पनि थाहा थिएन ।

अचानक कोभिड अस्पतालको स्वास्थ्यकर्मीसहितको टोली अस्पताल पुगेपछि ती गर्भवती महिला र उनका परिवारका सदस्यलाई कोरोना सङ्क्रमणको बारेमा जानकारी भएको थियो ।
कोभिड अस्पतालमा सुत्केरी गराउने दक्ष जनशक्ति नभएकाले बाहिर अन्य अस्पतालकाे नर्सकाे सहयाेगमा बिहान ४ बजेर १० मिनेट जाँदा बच्चाको जन्म भएको र आमा तथा शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. सिंहले बताउनुभयो ।

नवजात शिशुमा कोरोना भाइरसको सङ्क्रमण छ, छैन भनी परीक्षण गर्न स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि शुक्रबार बिहान नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको डा. सिंहले जानकारी दिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?