logo
२०८० चैत्र ६ मंगलवार



मनसुनी वायुसँगै फेरि सलह भित्रने खतरा बढ्यो, सजग रहन आग्रह

पढ्नै पर्ने |
खुला |


मनसुनी वायुसँगै फेरि सलह भित्रने खतरा बढ्यो, सजग रहन आग्रह


चाँदनी हमाल
काठमाडौँ, असार २६ गते । यतिबेला नेपालमा कोभिड–१९ को महामारी, मनसुनजन्य बाढी, पहिरो र डुबानको विपद्का साथै सलह कीराको प्रकोपले पुनः जोखिम बढाउन सक्ने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले पनि यतिबेलाको हावाको दिशा र वेग सार्वजनिक गर्दै सलहबाट बच्न पूर्वतयारी गर्न भनेको छ । महाशाखाका अनुसार शुक्रबार वायु जमिनको सतहबाट १० मिटरमाथि दक्षिणबाट दक्षिण पश्चिम र समुद्री सतहबाट १५ सय मिटरमाथि दक्षिणहुँदै दक्षिणपश्चिम दिशामा अघि बढेको छ । त्यसैगरी शनिबार र आइतबार पनि यही दिशा भएर वायुको आवागमन रहने जनाइएको छ ।

अहिले पनि नेपालको पूर्वी तराईको बाटोहुँदै न्यूनचापीय रेखा मनसुनी वायु बोकेर नेपाल आइसकेको छ । त्यसैले यो वायुको आडमा भारत नेपाल सीमाक्षेत्र आसपास रहेका सलहको केही झुण्ड नेपाल आउनसक्ने सम्भावना देखिएको केन्द्रले जनाएको छ । जसका लागि विज्ञहरूले किसानलाई खबर गरेर सतर्क रहन र सलह भगाउने पूर्वतयारी थाल्न भनेको किट वैज्ञानिक सुदीप पौडेलले जानकारी दिनुभयो ।

यतिखेर भारतको इलाहावादसम्म आउने सतर्कताको सूचना भारतले जारी गरेको छ । “मनसुनी प्रणाली यतिबेला नै सक्रिय रहेकाले त्यसले एकप्रकारको हावाको पनि सिर्जना गरिरहेको छ, त्यसमा ठूलो झुण्ड आउने भन्दा पनि केही टुक्रिएर सलह नेपाल आउने सम्भावना छ,” उहाँले भन्नुभयो । तर कतिको सङ्ख्यामा आउँछ भन्ने यकिन छैन ।

भारतको राजस्थानबाट दक्षिण वायुको प्रभाव बढदैगएकाले त्यहाँका सलहका झुण्डहरू भारतको हरियाणा, मध्यप्रदेश, उत्तर प्रदेश तथा छत्तीसगढतर्फ बढ्नसक्ने प्रक्षेपण भारतले गरेको छ । त्यसमध्येका केही झुण्डहरू केही दिनमा नेपालमा प्रवेश गर्नसक्ने सम्भावना रहेको नेपालका विज्ञ आकलन गर्छन् । सलह सूचना केन्द्रका अनुसार संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा सलह कता जान्छ भन्ने प्रक्षेपण भइरहेको छ । पछिल्लो विवरण अनुसार भारतको जयपुर र आग्राको बीचमा धौषा भन्ने स्थानमा पाँचवटा झुण्डका सहल करिब ५२५ हेक्टर क्षेत्रफलमा फैलिएर बसेको छ । यिनै झुण्ड हावाको बहावसँगै उत्तरपूर्व गङ्गानगर, ग्वालीयर हुँदै तीन दिनमा इलाहाबादसम्म पुग्ने पूर्वानुमान गरिएको थियो ।

त्यस्तै, राजस्थानको सिकर आसपासका क्षेत्रमा करिब ४०० हेक्टर क्षेत्रफलमा फैलिएका अर्को पाँचवटा झुण्डहरू चुरुक्षेत्र हुँदै उत्तरतर्फ साहजाहाँपुर सीतापुर क्षेत्रबाट अगाडि बढ्नसक्ने पूर्वानुमान गरिएको छ । अनुकुल मौसम भएको अवस्थामा राजस्थान मरुभूमितर्फ जानुपर्नेमा परिवर्तित हावाको बहावसँगै पूर्वउत्तर लाग्ने अनुमान गरिएको छ । पानी परेको बेलामा र रातमा सक्रिय नहुने सलहको त्यो झुण्ड मनसुनी हावाको बहावसँगै नेपाल प्रवेश गर्ने सम्भावना देखिएको हो ।

यसअघि भारतको राजस्थान लगायतका विभिन्न स्थानमा रहेका सलहका झुण्डका केही अंशहरू अम्फान आँधीपछिको पश्चिमी वायुको सहारामा मध्य प्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै उत्तर प्रदेश र विहारमा प्रवेश गरेका थिए । असार ११ र १२ गते हावाको बहावमा एकाएक आएको परिवर्तनका कारण मनसुनको शुरुवात भइसकेपछि पनि हावाको बहाव दक्षिणबाट उत्तर पूवतर्फ मोडिएकोले भारततर्फका सिमावर्ती जिल्लाहरू र्सलाही, बारा, पर्सा, रौतहट, मकवानपुर, रुपन्देहीमा असार १३ गते बिहान भारतको प्रतावगढ तथा वाराणसी आसपासमा आइपुगेको थियो । त्यो सलहको झुण्डबाट छुट्टएिर आएका केही सलहहरू र असार १४ गते लखनउनजिक बाँसी जिल्लामा आइपुगेको सलहको झुण्डबाट छुट्टएिर आएको केही भाग कपिलवस्तुको बुद्धभूमि तथा कपिलवस्तु नगरपालिकामा र असार १५ गते भारतको सोहरतगढमा देखा परेको झुण्डको केही अंश रुपन्देही तथा सोही झुण्डको भारतको उत्तराखण्डतर्फ जाने क्रममा कैलाली तथा डडेल्धुराबाट समेत नेपालको भूभागमा प्रवेश गरेको थियो । उक्त सलहको झुण्डहरू छरिएका र कम सङ्ख्यामा भएका र मौसम अनुकूल नभएकाले तुलनात्मक कम नोक्सानी गरेको देखिएको छ ।

हावाको वहावसँगै उक्त झुण्डका अंशहरू तराई र मध्यपहाडका विभिन्न जिल्लाहरू विशेषगरी सिन्धुली, मकवानपुर, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्गजा, दाङ, प्यूठान, रोल्पा, कास्की, कैलाली, डडेल्धुरा लगायत जिल्लाहरूमा केही हजारदेखि केही लाखसम्मको सङ्ख्यामा देखापरेको र हाल उक्त झुण्डका सलहहरूको उपस्थिति नरहेको अवस्था छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका अनुसार अफ्रिकाको विशेष गरी सोमालियामा बसन्त ऋतुमा तयार भएका सलहका झुण्डहरू गर्मीयामको वंशवृद्धिका लागि भारत तथा पाकिस्तानतर्फ सर्ने गरेको छ । भारत पाकिस्तानको सीमाक्षेत्रमा बसन्त ऋतुमा तयार भएका सलहका झुण्डहरू भारतका पूर्वी तथा उत्तरी राज्यहरू हुँदै नेपालसम्म आइपुगेकोमा मनसुनको शुरुवातपछि राजस्थानतर्फ फर्किने प्रक्षेपण गरिएको छ ।

यी झुण्डहरू इरान तथा पाकिस्तान र अफ्रिकाबाट आएका झुण्डहरूमा मिसिएर राजस्थान र उत्तरी गुजरातमा वंशवृद्धि गरेर जुलाइको अन्ततिर फेरि नयाँ पुस्ताका झुण्डहरू तयार हुनसक्ने प्रक्षेपण गरिएको छ । यसमध्ये केही सलहका झुण्डहरू नेपालका समथर भूभाग र केही पहाडी क्षेत्रहरूसम्म पनि पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?