logo
२०८१ बैशाख २८ शुक्रवार



‘भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघ्यो’

पढ्नै पर्ने |
राष्ट्रिय |


‘भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघ्यो’


लक्की चौधरी
काठमाडाैँ, असार २५ गते । नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतको क्षेत्रलाई संविधान संशोधनमार्फत नेपाली नक्सामा समेटिएपछि भारतीय मिडियाले झुठा र अनैतिक प्रचारप्रसारमा लागेको भन्दै नेपाली नेताहरूले कडा आलोचना गर्नुभएको छ ।

नेपाल–भारतबीच पछिल्लो समय भूमिलाई लिएर तीव्र असन्तुष्टि कायम रहेकाबेला भारतीय मिडियाले नेपाल र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई लक्षित गरी अनर्गल प्रचारमा लागेको देखिन्छ । सो समाचारप्रति लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बिहीबार सामाजिक सञ्जालमा ट्वीट गर्दै भारतीय मिडियाको कडा आलोचना गर्नुभएको छ ।

प्रवक्ता श्रेष्ठले भन्नुभएको छ, “भारतीय सञ्चारमाध्यमले हाम्रो सरकार र प्रमबारे गरेको अनर्गल प्रचारले सीमा नाघ्यो, हद भयो, प्रचार बन्द गर ।” नेपालमा नेपालीले के गर्ने भन्ने आन्तरिक विषय भएको भन्दै उहाँले अगाडि लेख्नुभएको छ, “राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्का छौँ, 'विदेशीको फुटाउ र स्वार्थ पूरा गर' नीति सफल हुन दिनेछैनौँ ।”

त्यस्तै, नेकपाका नेता प्रदीप नेपालले पनि भारतीय मिडियाको समाचारप्रति कडा आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमा बिहीबार उहाँले लेख्नुभएको छ, “नेपाल र नेपाली जनताप्रति ८० प्रतिशत भारतीय सञ्चारमाध्यमहरू असभ्य, घृणितमात्र होइन, शतप्रतिशत झुठा समाचार प्रसारण गर्छन् ।”

सोहीअनुसार नेकपाका स्थायी कमिटी सदस्य एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि भारतीय मिडियाको समाचारप्रति कडा आपत्ति जनाउनुभएको छ । उहाँले ट्विटरमा लेख्नुभएको छ, “नेपालका प्रधानमन्त्री, नेपाली नेताहरू र नेपालको सवालमा भारतीय सञ्चार माध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा लाग्छ, पूर्वीय सभ्यताको उपहास भइरहेको छ ।” भारतीय मिडियाले आफैँलाई नङ्ग्याइरहेको देख्दा दया लागेर आउँछ, उहाँले लेख्नुभएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूले टीभीमा बोलेको कुरालाई तोडमोड गरी गलत प्रचार गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष यादवले भारतीय मिडिया टीभी ९ लाई बुधबार अन्तरवार्ता दिएका थिए । “दिएको अन्तरवार्ताको अघिल्लो र पछिल्लो वाक्य काटी बीचको कुरामात्र राखेर प्रसारण गरिएको छ, यो सरासर अनैतिक काम भयो” यादवले भन्नुभयो । आफ्नो भनाइ बिगारेकोप्रति उहाँले भारतीय मिडियाप्रति रोष प्रकट गर्नुभयो ।

सोहीअनुसार प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पनि भारतीय मिडियाको समाचारप्रति आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “भारतीय टिभी च्यानलबाट नेपाल र नेपालीविरुद्ध अपुष्ट, अक्षम्य, आपत्तिजनक, भ्रामक र अराजक सामग्री प्रसारणमा बढोत्तरी भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।”

एकपक्षीय र अप्रमाणित सामग्री सम्प्रेषण संसारका कुनै पनि कुनामा पत्रकारिताको न्यूनतम धर्मभित्र नपर्ने उहाँले प्रष्ट पार्नुभएको छ । उहाँ अगाडि भन्नुहुन्छ “यो पत्रकारिता नभई गालीकारिता र पर्चाकारिता हो ! यसबारे हामीले समकक्षी भारतीय प्रेस काउन्सिलसमक्ष गम्भीर सरोकार राखेका छौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?