logo
२०७७ जेष्ठ १६ शुक्रवार

सङ्क्रमितको गाउँ मोतीनगर र जवलपुर सिल

प्रदेश |


2020-05-23-14911


लम्की, जेठ १० गते ।  कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित देखिएपछि प्रशासनले कैलालीको टीकापुरमा लकडाउनमा कडाइ गरेको छ । जानकी गाउँपालिकासँग टीकापुर जोडिएको पालिका हो । जानकीमा सङ्क्रमित देखिएपछि टीकापुरमा थप जोखिम बढेको छ । टीकापुर पनि जोखिममा रहेको भन्दै टीकापुर बजार बन्द गरिने तयारी प्रशासनले गरेको छ ।
टीकापुर बजारमा मानिसकोे आवतजावत पूर्णरुपमा बन्द गरिने टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । सङ्क्रमित आएर गाउँमा समेत बसेकाले जानकी गाउँपालिका वडा नं ७ को मोतीनगर र जवलपुर गाउँ सिल गरिएको उहाँले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएका जानकीको मोतीनगर र जवलपुरका दुई युवामध्ये मोतीनगरका युवाको टीकापुर र मोतिनगरमा धेरै मानिससँग सम्पर्क भएको देखिएको भट्टले बताउनुभयो । “सम्भावित जोखिम न्यूनीकरणका लागि लकडाउनमा कडाइ गर्न थालेका छौँ”, प्रहरी नायब उपरीक्षक भट्ट भन्नुहुन्छ, “प्रहरी र स्वास्थ्यकर्मी मिलेर सङ्क्रमितको सम्पर्कमा आएका मानिसको खोजी गरी उनीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ ।”

सङ्क्रमतिमध्ये बाँकेको नेपालगञ्जबाट फर्केका सङ्क्रमित युवा अरु चार जनासहित कोहलपुरबाट एम्बुलेन्समा टीकापुर आएको बुझिएको छ । उनी घर पुगेपछि पनि स्थानीय युवासँग तीन दिन भलिबल खेलेकोे, गाउँमा आफन्त र साथीभाइसँग घुलमिल भएको र टीकापुर बजारमा समेत साथीसँग भेटघाट गरेको बुझिएकाले उनीहरु सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ । सङ्क्रमित तीनै जनाको टीकापुर अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरु भएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य छ । टीकापुर अस्पतालमा १२ श्ययाको आइसोलेसन वार्ड छ । अवस्था जटिल भए बाहिर पठाउन सकिने भए पनि अहिले टीकापुरमै उपचार थालिने अस्पतालका डा जितेन्द्र कँडेलले बताउनुभयो ।

जानकी गाउँपालिकाको क्वारेन्टिनमा ४५ जना थिए । तीन जनामा सङ्क्रमण देखिएपछि क्वारेन्टिनमा बसेका, उनीहरुको सुरक्षा, रेखदेखमा खटेका सबैको स्वास्थ्य परीक्षण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्वारेन्टिनमा प्रत्यक्ष खटेका स्वास्थ्यकर्मी र स्वयंसेवक सेल्फ क्वारेन्टिनमा पठाएका छौँ, सङ्क्रमण देखिएपछि क्वारेन्टिनमा बसेका अन्य नागरिक पनि त्रसित छन् ।” 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?