logo
२०८१ बैशाख १४ शुक्रवार



दाजुभाइ मिलेर बाबुको हत्या, मझेरीमा गाडेको शव निकालियो

खुला |


दाजुभाइ मिलेर बाबुको हत्या, मझेरीमा गाडेको शव निकालियो


विराटनगर समाचारदाता
विराटनगर, जेठ ८ गते । विराटनगर १४ स्थित घरभित्र मझेरीमा गाडेको अवस्थामा बुधबार फेला परेको वृद्धको शव मृतककै दुई छोरा मिलेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक सिताराम चौहानका दुई भाइ छोराले बाबुको हत्या गरेर मझेरीमा गाडेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गरी जिल्ला प्रहरी कार्यालयले हत्यामा संलग्न २९ वर्षे जेठो छोरो रोहित र माइलो छोरो नागेन्द्र चौहानलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार जेठ ३ गते उनीहरूले आवेशमा आएर बाबुको हत्या गरेका हुन् । हत्या गरेको भोलिपल्ट बिहान दुवैजना मिलेर घरभित्रै खाल्डो खनेर शव गाडेका थिए ।  जेठ ३ गते दिउँसो दुवै भाइ विराटनगरको रानीस्थित हडताली हाटमा गएर जुत्ता, मोजा लगायतका कपडा किनेका थिए । कपडा किनेपछि उनीहरू सँगै बसेर मदिरा पिएका थिए । बाबुलाई दिनुपर्ने पैसा जुत्ता र मदिरामा सकेपछि उनीहरू दुवै जना घर फर्किएका थिए । रोहितले बाबुको गालीबाट बच्न र बुवालाई सम्झाउन भनी भाइ नागेन्द्रलाई सँगै घरमा लगेका थिए । नागेन्द्र छुट्टै बस्दै आएका थिए भने उनले अन्तरजातीय विवाह गरेका कारण बाबुसँगको सम्वन्ध सुमधुर थिएन ।

मदिरा पिएर घर पुगेपछि बाबुले रोहितसँग पैसा माग्नुभएको थियो । पैसाकै निहुँमा बाबुछोराबिच झगडा भएको थियो । केहीबेरको झगडापछि रोहित खाटमा सुतेका थिए । त्यहिबेला सीतारामले धकेलेर छोरालाई लडाइदिएको र रोहितले नजिकै भएको कोदालोले बाबुको टाउकोमा हिर्काएका थिए । त्यसपछि माइलो छोरो नागेन्द्रले पनि कोदालो प्रहार गर्छन् र सितारामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सितारामको मृत्युपछि दुवै जना छुट्टिएर जेठ ४ गते बिहानै भेटेर मझेरीमा खाल्डो खनेर बाबुको शव गाडेका थिए ।
प्रायजसो माइलो छोराको घरमा गइरहने बाबु नआएपछि नगेन्द्रकी बुहारीले दिनहुँ फोन गरे पनि फोन उठेको थिएन । घरमा केही शङ्कास्पद अवस्था देखिएपछि श्रीमानसँगै गएर बुहारीले प्रहरीमा उजुरी गरेको एसपी अधिकारीले जानकारी दिनुभयो । लगत्तै प्रहरीले घटनास्थल अवलोकन गरी उत्खनन् गर्दा हत्या गरेर गाडेको शव फेला पारेको थियो । प्रहरीले सुनियोजित नभई तत्कालको आवेगका कारण सितारामको हत्या भएको र दुवै अभियुक्तलाई पक्राउ गरेको बताउनुभएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?