logo
२०८१ बैशाख २६ बुधवार



एक्लै पहाड फोडेर गाउँमा बाटो पु¥याउने  चन्द्रवीर

पढ्नै पर्ने |


एक्लै पहाड फोडेर गाउँमा बाटो पु¥याउने  चन्द्रवीर


गोकर्ण पौडेल

तुलसीपुर, माघ १५ गते । उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उहाँको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गर्नुभएको छ ।
तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पु¥याउने । चार वर्षदेखिको उहाँको सपना एक्लै पूरा गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–३ खमारीका वलीले एक्लैले खनेर गाउँसम्म सडक पु¥याउनुभएको हो । गाउँको नजिकै राजमार्ग छ तर गाउँसम्म पुग्ने गोरेटोबाटो समेत थिएन । हिँड्दा भीरबाट लडेर धेरैका हातखुट्टा भाँचिएका छन् । स्वयम् उहाँको परिवारका १३ जना सदस्यमध्ये नौजना दृष्टिविहीन हुनुहुन्छ ।
वलीले २०७१ सालदेखि घरसम्म पुग्ने बाटो पु¥याउने सपना देख्नुभयो । गाउँघरका कतिपय बुज्रुक व्यक्तिले समेत हुनै नसक्ने काम गर्न थाल्यो भन्दै खिसिट्युरी गर्न थाले । तर उहाँ एक्लैले आँट गरेर बाटो खन्न थाल्नुभयो । बिहान ४ बजे उठेर बाटो खन्न जानुहुन्थ्यो र आँखा देखुन्जेल खन्नुहुन्थ्यो । राजमार्गदेखि सडक गाउँसम्म त पुग्यो नै तर वलीलाई त्यो सडक घरसम्मै पु¥याउनु थियो । वली भन्नुहुन्छ, “बिरामी पर्दा खटियामा बोकेर बिरामीलाई गाडी चढ्ने ठाउँसम्म पु¥याउने बाटो पनि थिएन । तर गत वर्ष मेरै घरकी बुहारी बिरामी पर्दा घरसम्मै एम्बुलेन्स आयो ।”
अहिले गाउँमा जोकोही बिरामी पर्दा एम्बुलेन्स गाउँमै पुग्छ, दिनहुँ अटो, मोटरसाइकल गुड्ने गर्छन् । यस्तो देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको उहाँको भनाइ छ ।
वलीको दैनिकी २०७१ सालदेखि उस्तै छ । बिहान ४ बजे उठ्नुहुन्छ । बाटोमा पहिरो खसेको भए फाल्नुहुन्छ । परिवारका दृष्टिविहीन सदस्यका लागि खाना पकाउनेदेखि घरका हरेक काम एक्लैले गर्नुपर्ने समस्याबीच पनि उहाँले कहिल्यै हार खानु भएन । वली भन्नुहुन्छ, “दुई वर्षअघि नगरप्रमुख घनश्याम पाण्डे आउनुभएको थियो ? हामीले के गर्नुपर्छ भन्नुहोस्, भन्नुभयो । मैले यो बाटो फराकिलो बनाइदिनुहोस्, बाटोमा ह्युमपाइप दिनुहोस् भनेको थिएँ ।”
उहाँको मागअनुसार नै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सडक फराकिलो बनाउनका लागि वडा कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँको अर्को पनि सपना छ, पर्यटकीय स्थल चमेरे गुफासम्म पुग्न खन्न थालिएको पैदल मार्ग पूरा गर्ने । वलीले एक वर्षदेखि घर नजिकैबाट चमेरे गुफासम्म पुग्ने पैदल बाटो निरन्तर खन्दै हुनुहुन्छ । स्वास्थ्यले साथ दिएसम्म बाटो आफै खनेर सक्ने उहाँले बताउनुभयो । वृद्धावस्थाका चन्द्रवीरको परिवार १३ जनाको छ । तर आम्दानीको स्रोत भने वृद्धभत्ता र अपाङ्गता भत्ताबाहेक केही छैन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?