‘पानी घट्ट’ बन्यो अशक्त ध्यानबहादुरको सहारा

पढ्नै पर्ने |
समाज |


2019-12-11-5398


कैलाश लामा

चरिकोट (दोलखा) मङ्सिर २५ गते । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर–९ सुर्के स्थित ध्यानबहादुर जोगीले परम्परागत पानी घट्टबाटै जीविकोपार्जन गरिरहनु भएको छ । घट्टसम्म जान दुई घण्टा र आउँदा दुई घण्टाको समय लगाएर उहाँले घट्टबाट सेवा प्रदान गरिरहनु भएको छ ।

विकास, निर्माणले फड्को मार्ने क्रममा हरेक क्षेत्रमा नयाँनयाँ प्रविधिले ठाउँ ओगटेको अवस्थामा ४५ वर्षीय जोगीले परम्परागत, लोपोन्मुख पानी घट्टबाटै श्रीमती, तीन छोरी र एक छोरा सहित पाँच जनाको परिवार धानेका छन् ।

२०५७ सालमा रुखबाट लडेर खुट्टाको सहायताले हिड्न नसक्ने भएका उनले अरुले जति काम गर्न नसकेपनि हातले सकिने काममा अरु भन्दा कम छैनन् । चार हातखुट्टा टेकेर हिड्ने गरेका उनलाई खुट्टामा एक जोर जुत्ता, घुँडा र हातमा दुई जोर चप्पल गरि तीन जोर जुत्ता चप्पलको सहायता चाहिन्छ । तर हातले गर्ने काममा उहाँ निक्कै फुर्तिला देखिनु भएको छ ।

डोको, डाला, थुन्से, चित्र, भकारी बुन्ने सम्मका सीप जानेका उनलाई सो कामबाट आफू र परिवार धान्न मुस्किल भएपछि २०५० सालमा बुबाले सुरु गरेका पानी घट्ट २०६२ सालदेखि सञ्चालनमा ल्याएका थिए ।

‘अपाङ्ग भएपछि अन्य काममा गाउँलेले विश्वास गर्न छाडे र बुबाको मृत्युु पश्चात् बन्द भएको घट्ट पुनः सञ्चालनमा ल्याएको हुँ ।’ उहाँले भन्नुभयो,‘घट्टमा मकै, कोदो, गहुँ लगाएतका अन्न पिन्न ल्याउने र त्यसैको ज्याला उठाएर आफ्नो र परिवारको जीवन धानेको छु ।’ उहाँले घट्टमा दैनिक १० देखि १५ जनासम्म पिठो पिन्न आउने गरेको बताउनुभयो ।

शारीरिक रुपमा अशक्त ध्यानबहादुरलाई घरदेखि घट्टखोला स्थित घट्ट आउन दुई घण्टा र जान दुई घण्टा लाग्छ । सुख-दुःख घट्टबाट जीवन धानेका ध्यानबहादुरलाई २०७२ सलको भुकम्पले तर्साएका मात्रै थिएनन् घट्ट भत्किएर कमाइ बन्द हुँदा घरपरिवार धान्न नै मुस्किल भएको थियो ।

केहि समयपछि युएनडिपी र हुराडेक नेपालले उत्थानशील पुनर्निर्माण तथा पुनस्र्थापना परियोजना मार्फत तारजाली प्रयोग गरि भुकम्प प्रतिरोधात्मक पानी घट्ट पुनर्निर्माण गरिदिएपछि अहिले घट्ट पुनः सञ्चालनमा छ । दुईवटा पिन्ने ठाउँ रहेको घट्ट भूकम्पीय दृष्टिकोणले अहिले सुरक्षित छ । पिठो पिन्नका लागि आउनेको संख्या पनि उल्लेखनीय छ ।

घट्टमा पिनेको पोठको ढिडो, रोटी, खोले स्वादिलो हुने भएकाले पनि आफू पिठो पिन्न घट्टमै आउने गरेको भीनपा–९ सुर्के फाप्रेलीकी दिलमाया श्रेष्ठ बताउनुहुन्छ । ‘अपाङ्ग मान्छेका घट्टमा पिन्दा उस्को पनि कमाइ हुँने हामीलाई पनि घट्टको पिठो मनपर्ने भएकोले घट्ट आउने गरेको छु’ - उहाँले भन्नुभयो।

छिमेकी,गाउँले र सहयोगी संघसंस्थाको राम्रो साथ पाएका ध्यानबहादुरलाई अब एउटा धान पिन्ने मेसिन चाहिएको छ । ‘छोराछोरी बढ्दै र पढ्दै छन्, खानलाउन दिनै पर्यो, पढाउनै पर्यो ।’ उहाँले भन्नुभयो ।

आफूले पढ्न नसकेपनि उनिहरुको शिक्षामा कुनै कमी हुन नदिनका लागि आम्दानी बढाउन भएपनि धान मेसिन समेत सञ्चालन गर्ने इच्छा रहेको उहाँ बताउनुहुन्छ । उहाँले त्यसको लागि सहयोगीहरुसँग सहयोगको अपेक्षामा राख्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?