logo
२०८१ बैशाख १४ शुक्रवार



स्थानीयको विश्वास ! अन्याय हुनथाले बोल्छ “धज्या ढुङ्गो”

पढ्नै पर्ने |
समाज |


स्थानीयको विश्वास ! अन्याय हुनथाले बोल्छ “धज्या ढुङ्गो”


गोकर्ण दयाल
बैतडी, मङ्सिर ५ गते । कलकल पानी बग्ने बैतडीको ग्वाल्लेक क्षेत्रमा ढुङ्गा बोल्ने गरेको जनविश्वास छ । कुनै प्रकारको अन्याय हुन थाले “धज्या ढुङ्गा”ले आवाज दिने गरेको जनविश्वास रहेको छ ।
दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकको तालकुल्ला सामुदायिक वन र ग्वाल्लेक संरक्षित वनमा रहेको “धज्याढुङ्गा” लाई स्थानीयले बोल्ने ढुङ्गाको रुपमा विश्वास गर्दै आईरहेका छन् ।
ग्वाल्लेक क्षेत्रको प्रत्येक कंकरमा शिव–शंकरको बास छ भन्ने धार्मिक मान्यता रहेको स्थानीय ७० वर्षीय हरिदत्त जोशीले बताउनुभयो । “धज्याढुङ्गा” त्यसैको एक रुप भएको जोशीले बताउनुभयो ।
“धज्याढुङ्गा”का बारेमा जानकार जोशी भन्नुहुन्छ–“ बाईसे/चौबीसे राज्य हुँदा एक गाउँबाट अर्को गाउँमा लडाईँ गर्न जाने टोली (कटक) आउने बेला “धज्याढुङ्गा”ले गाउँलेलाई आवाज दिएर सूचना दिएको जनविश्वास छ ।
जोशीले भन्नुभयो, “यो ढुङ्गा रहेको स्थानलाई पोतेहाल्ने सैनी अर्थात विवाह भएर ग्वाल्लेक गाउँमा आउने नव दुलहीले घाँस दाउराका लागि यो जंगलमा जाँदा आफूले लगाएको पोतेबाट केही दाना निकालेर “धज्याढुङ्गा”मा चढाउने चलन रहेको छ ।”
समुद्री सतहबाट करिब २७ सय मिटर उचाईमा रहेको ग्वाल्लेक क्षेत्रलाई पवित्र धार्मीक तीर्थस्थल मानिन्छ । यहाँ नेपाल र भारतबाट समेत तीर्थालु आउने गरेका छन् । नेपाल सरकारले ग्वाल्लेक क्षेत्रलाई संरक्षित वनका रुपमा समेत समावेस गरी कार्यक्रम अघि बढाईरहेको छ ।
ग्वाल्लेक संरक्षित वनमा संसारबाट लोप भईसकेको र नेपालमा मात्र पाईने सिलङ्गो लगायत सतुवा, पाँच औले, पाखनवेद, सुगन्धवाल, चिराईतो, कौ–कौ, सिमजडी, बोजो लगायत ६५ भन्दा बढी जडीबुटी र बाघ, रतुवा, सुन गोहोरो, कालो भालु, कालिज, कोईली, रहेको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएको छ ।
पर्यावरणीय दृष्टले बैतडीकै सबै भन्दा ठूलो जंगल रहेको ग्वाल्लेक संरक्षित वन क्षेत्रबाट बैतडी सदरमुकामका लागि वृहत् खानेपानी योजना बनाएर खानेपानी आपूर्ति हुँदै आईरहेको छ । धना जंलको विभिन्न ठाउँमा हरियो घाँसमाथि बग्ने पानीका मुहान भेटिन्छन् ।
ग्वाल्लेक क्षेत्र धार्मिक हिसाबले जति महत्वपूर्ण छ पर्यावरणीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले बताउनुभयो । पराजुलीले भन्नुभयो,–“ यसको संरक्षण र सम्वद्र्धनका लागि यो वर्ष नेपाल सरकारले विशेष बजेटको व्यवस्था गरेर संरक्षित वनको कार्य योजना अघि बढेको छ ।”
“धज्याढुङ्गा”को बारेमा भारतीय लेखकले यात्रा सस्मरणमा उल्लेख गरेको तथ्य समेत फेला परेको छ । नेपाली मुलका भारतीय लेखक भवानीदत्त जोशी “पारखी”ले सन् १९७९ मा स्वर्गादपी गरियसी नामको एक भावनात्मक यात्रा सस्मरणमा “धज्याढुङ्गा”को बारेले लेख्नु भएको छ ।
हिन्दी भाषमा लेखिएको उक्त सस्मरणमा जोशीले लेख्नुभएकोछ, “ मेरो जन्मस्थान नेपालको बैतडी पुग्दा मेरी आमाले मलाई त्यो पहाड देखाउनु भयो जहाँ, “धज्याढुङ्गा” छ ।
त्यो ढुङ्गा आवाज दिने गर्छ । एक पटक बैतडी सदरमुकममा रहेको राजा गर्गदेवको कुल्लेककोट दरवारमा चोरी गर्न ग्वाल्लेक क्षेत्रभएर चोरहरू आउँदा “धज्याढुङ्गा”ले आवाज दिएर चोर आउँदै गरेको सूचना दिएको थियो । चोरले फर्कि हेर्दा त्यहाँ कुनै मान्छे थिएन । त्यो आवाज दिने “धज्याढुङ्गा” थियो । त्यसपछि चोरले “धज्याढुङ्गा”मा भाला रोपेर आक्रमण गरेका थिए । भाला रोपिएर रगत बगेपछि त्यो ढुङ्गा दुई चिरा भएर फाँटेपछि उक्त ढुङ्गाको नाम “धज्याढुङ्गा” रहन गयो । ढुङ्गामा आज पनि ती घाउ देख्न सकिन्छ ।”
“धज्याढुङ्गा” हेर्न बैतडी सदरमुकामबाट एक घण्टाको गाडीमा यात्रा गरेपछि दशरथ चन्द नगरपालिका–९, ग्वाल्लेकको सैनीखान पुगिन्छ । स्थानीय बजारका रुपमा रहेको सैनीखानबाट एघण्टा उकालो हिँडेर धना जंगल छिचोलेर “धज्याढुङ्गा” रहेको ठाउँमा पुगिन्छ ।
बोल्ने विश्वस गरिएको “धज्याढुङ्गा”को नामबाटै उक्त डाँडाको नाम रहन गएको ग्वाल्लेकका स्थानीय गोपाल चन्दले बताउनुभयो ।
“धज्याढुङ्गा” रहेको स्थानबाट बैतडी सदरमुकाम, अपी सैपाल हिमशृङ्खला देखि भारतको पञ्चचुली हिमाल र पिथौरागढ जिल्लाको सजिलै अवलोकन गर्न र तस्बिर खिच्न सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?