logo
२०८१ बैशाख १५ शनिवार



डिभीको आकर्षणले राहदानी बनाउने चाप बढ्यो 

पढ्नै पर्ने |


डिभीको आकर्षणले राहदानी बनाउने चाप बढ्यो 


धीरेन्द्रप्रसाद साह,

राजविराज, कात्तिक ३ गते । विभिन्न प्रयोजनका लागि विदेश जान राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा दैनिक तीन गुणा बढीको संख्यामा राहदानीको आवेदन दर्ता भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट दैनिक एक सयदेखि एक सय पचास जनाले राहदानी बनाउनको लागि आवेदन दिन आउने गरेको राहदानी शाखाका नायब सुब्बा तोमप्रसाद दहालले जानकारी दिनुभयो । डाइभर्सिटी भिसा (डिभी) को आवेदनका लागि पासपोर्ट अनिवार्य गरेपछि राहदानी बनाउनेहरुको संख्या दैनिक तेब्बरले बढेको उहाँले भन्नुभयो, यसअघिसम्म दैनिक ४०/५० जना राहदानीको लागि आवेदन दिन आउने गरिन्थ्यो ।

डाइभर्सिटी भिसासँगै विदेशमा रोजगारी, चिकित्सक अध्ययनका लागि राहदानी अनिवार्य गरेकोले राहदानी बनाउनेहरुको संख्या बढेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत आनन्द ठाकुरले भन्नुभयो, बैदेशिक रोजगारका लागि मलेसिया जान सम्झौता भएको, डिभी आवेदन र विदेशमा चिकित्सक अध्ययनमा राहदानी अनिवार्य गरेकाले राहदानी बनाउनेको तेब्बर चाप बढेको हो । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा दुई हजार ८१ वटा आवेदन दर्ता भइसकेको छ । दर्तामध्येमा राहदानी बनेर आएकाहरुले लगिसकेको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा साधारण चार हजार सात र द्रुत सेवाबाट एक हजार ६४५ गरी आठ हजार १९७ जनाले राहदानी लिएको शाखाका नासु दहालले जानकारी दिनुभयो । यस्तै आर्थिक वर्ष ०७४/०७५ मा छ हजार ४८, आर्थिक वर्ष २०७३/२०७४ मा १० हजार ७६ जनाले एमआरपी लिएका छन् भने आर्थिक वर्ष २०७२/२०७३ मा १३ हजार ४९५ जनले एमआरपी लिएको जिल्ला प्रशासान कार्यालय सप्तरीले जनाएको छ ।

आर्थिक वर्ष २०७१/२०७२ मा १९ हजार ३८५ ले एमआरपी बनाएका छन । सामान्यतया जिल्लामा एमआरपी बनाउनेमा १० प्रतिशत विद्यार्थी, १० प्रतिशत आफन्तलाई भेट्न विदेश जाने तथा हजयात्रीहरु र ८० प्रतिशत बैदेशिक रोजगारीमा जानेहरु नै रहेको उहाँले बताउनुभयो । एमआरपी बनाउन साधारण तर्फ पाँच हजार र दु्रत सेवा अन्तर्गत १० हजार रुपियाँ शुल्क लाग्ने गरेको छ ।

ठूलठूला सपना बोकेर रोजगारका लागि विदेश जान एमआरपी बनाउनेहरुमा प्रायजसो १८ वर्षदेखि ३५ वर्षसम्म समूहका यूवाहरु रहेका नागरिकसमाजका अध्यक्ष थानसिंह भन्साली बताउनुहुन्छ । पढाइ बीचमै छोडेर नागरिकता बनाउने वित्तिकै बैदेशिक रोजगारका लागि एमआरपी बनाउनेमध्ये अधिकाँश १८ वर्ष उमेरका यूवाहरु रहेको उहाँले जानकारी दिनुभयो । थोरै पढाइ लेखाइ गरेर बेरोजगार बसेका अधिकाँश युवाहरु यहाँ रोजगारको अवसर नपाउँदा रोजगारको लागि विदेश पलायन हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?