logo
२०८१ बैशाख १४ शुक्रवार



स्वदेशमै मल उद्योग खोल्न प्रधानमन्त्रीको आग्रह

मुख्य समाचार |


स्वदेशमै मल उद्योग खोल्न प्रधानमन्त्रीको आग्रह


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्दैआएको स्मरण गर्नुहुँदै उहाँले रासायनिक मल उद्योग स्थापनाका लागि उद्योगी व्यापारी घरानासँग आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र देशको आर्थिक विकास हुने बताउनुभयो । निजी क्षेत्रबीच सहकार्य गरेर नै देशको विकास गर्नुपर्छ भन्ने मान्यतासाथ सरकारले नीति निर्माण गर्ने गरेको र मल उद्योगका सन्दर्भमा पनि सरकारले प्राथमिकता दिने उहाँले स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालले जहिले पनि रासायनिक मलको समस्या भोगिरहनुपर्ने अवस्था भयो । रासायनिक मल उद्योग स्थापनाका लागि तपाईंहरू लाग्नुहोस्, सरकारले त्यसका लागि सहयोग गर्छ ।” निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने सरकारको एक मात्र नीति रहेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले निजी क्षेत्रको विकास र उत्थानका लागि सरकार जहिले पनि सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।

कोभिडले निजी क्षेत्रलाई प्रभावित पारेको बताउनुहुँदै उहाँले सरकारसँग कोभिडविरुद्धको खोप प्रशस्त भए पनि खोप लगाउन मानिस नै नआउने गरेको बताउनुभयो । “मुलुकलाई कोरोनाबाट असरमुक्त पार्न खोप अभियानमा सचेतना फैलाउन पनि निजी क्षेत्र लाग्नुपर्ने देखियो,” उहाँले भन्नुभयो– “तपाईंहरू पनि आ–आफ्नो क्षेत्रबाट खोप अभियानमा सक्रिय भएर लाग्नुहोस् । कसैले पनि खोप नछुटाउनुहोस् ।”

प्रधानमन्त्री देउवाले नेपालका तर्फबाट अफगानिस्तानलाई प्रदान गरिएको राहत सहयोगमा निजी क्षेत्रले पु-याएको योगदानको सरकारले उच्च मूल्याङ्कन गरेको बताउनुभयो । समस्यामा परेका अफगानी नागरिकलाई निजी क्षेत्रको सहयोग र सहकार्यमा परराष्ट्र मन्त्रालयले यही माघ २ गते राहत सामग्री हस्तान्तरण गरेको थियो ।

समस्यामा परेका समुदायलाई मानवीय सहायता गर्नु सबै मानव जातिको कर्तव्य पनि भएको बताउनुहुँदै प्रधानमन्त्री देउवाले सार्क सदस्य राष्ट्र अफगानिस्तानलाई नेपालले सहयोग गर्न पाएकोमा सार्क राष्ट्रबीचको सम्बन्धलाई झन् बलियो बनाएको धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले समस्या परेका अफगानी नागरिकलाई नेपाल सरकारले निजी क्षेत्रबाट सहयोग जुटाई राहत हस्तान्तरण गरेको घटनाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उचो बनाएको बताउनुभयो । उहाँले समस्यामा परेका अफगानी नागरिकका लागि ७५ लाख रुपियाँ बराबरका राहत सामग्री संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिमार्फत हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

सो राहत सामग्री हिमालय एयरलाइन्सले नेपालबाट अफगानिस्तानसम्म चार्टर गरेको थियो भने उडानका लागि इन्धनको व्यवस्थापन नेपाल आयल निगमले गरेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल, व्यवसायी लोकमान्य गोल्छा, विजय श्रेष्ठलगायतले निजी क्षेत्र सरकारसँग जहिले पनि हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?