logo
२०८१ बैशाख १४ शुक्रवार



प्रदेश अधिवेशन सम्पन्न, मत परिणाम आज आउँदै

मुख्य समाचार |


प्रदेश अधिवेशन सम्पन्न, मत परिणाम आज आउँदै


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १९ गते । नेपाली काँग्रेस प्रदेश कार्यसमितिको नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणनाको परिणाम आइतबार आउनेछ । प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतदान सम्पन्न भएको छ । प्रदेश २ मा भने शनिबार पनि उम्मेदवारी दर्ता हुन सकेन ।

मोरङ समाचारदाताका अनुसार काँग्रेस प्रदेश १ को नेतृत्व चयन गर्नका लागि शनिबार मतदान भएको छ । निर्वाचन अधिकृत भरत थापाले प्रदेश सभापतिमा केन्द्रीय सदस्य गुरुराज घिमिरे र झापाका पूर्वजिल्ला सभापति उद्धव थापाले छुट्टाछुट्टै समूह बनाएर उम्मेदवारी दिनुभएको छ । बागमती प्रदेश कार्यसमितिको नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको छ । काँग्रेस प्रदेश सभापतिमा भीमसेनदास प्रधान, जगदीश्वरनरसिंह केसी र इन्द्र बानियाँले उम्मेदवारी दिनुभएको छ ।

पोखरा समाचारदाता होमराज रानाभाटका अनुसार काँग्रेस गण्डकी प्रदेश अधिवेशनको मतदान सकिएको छ । गण्डकी प्रदेश सभापति पदमा शुक्रराज शर्मा र अर्जुन जोशीले प्यानलसहित उम्मेदवारी दिनुभएको छ । गण्डकीमा ११ जिल्लाका एक हजार १५२ जना प्रतिनिधिमध्ये एक हजार १४० जनाले मतदान गरेका छन् । मतगणनाको परिणाम आइतबार सार्वजनिक हुुनेछ ।


लुम्बिनी प्रदेश निर्वाचन समिति संयोजक डा. बुद्धबहादुर थापाका अनुसार काँग्रेस प्रदेश कार्यसमिति चयन गर्न मतदान सकिएको छ । लुम्बिनीमा काँग्रेसका एक हजार ७१५ मध्ये एक हजार ६४६ मतदान गरेका छन् । लुम्बिनी प्रदेश सभापति पदमा भरतकुमार शाह र अमरसिंह पुनमगरले प्यानलसहित उम्मेदवारी दिनुभएको छ । उक्त प्रदेशमा पदाधिकारीसहित ७७ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।

यसैगरी कर्णाली प्रदेश काँग्रेसको नेतृत्व चयन गर्न शनिबार मतदान सम्पन्न भएको छ । प्रदेश सभापतिका लागि नेताहरू भुपेन्द्रजङ शाही, ललितजङ शाही र मोतीराज बमबीच प्रतिस्पर्धा छ । कर्णाली प्रदेशमा पदाधिकारीसहित ५९ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित हुनेछ । सुदूरपश्चिम प्रदेश काँग्रेसको नेतृत्व चयनका लागि मतदान शनिबारै सम्पन्न भएको छ । प्रदेश सभापति पदमा नेताहरू वीरबहादुर बलायर र नारायणदत्त मिश्रले प्यानल बनाएर उम्मेदवारी दिनुभएको छ । उक्त प्रदेशमा पदाधिकारीसहित
५९ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?