logo
२०८१ बैशाख १५ शनिवार



औद्योगिक क्षेत्र निर्माणमा बजेट अभाव

अर्थ |


औद्योगिक क्षेत्र निर्माणमा बजेट अभाव



लक्ष्मण दर्नाल

काठमाडौँ, मङ्सिर ११ गते । शिलान्यास गरिएको नौ महिनासम्म पनि नयाँ औद्योगिक क्षेत्रको निर्माण कार्य अघि बढ्न सकेको छैन । कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र, बाँकेको नौवस्ता, रुपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयूरधाप र झापाको दमक औद्योगिक क्षेत्रको शिलान्यास २०७७ फागुनमा भएको थियो ।

व्यवस्थापनको जिम्मा पाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न कारणले शिलान्यास भएको औद्योगिक क्षेत्रको काम अघि बढ्न नसकेको जनाएको छ । बजेटको अभाव, सरकार परिवर्तन, टेन्डर आह्वान, वातावरणीय प्रतिवेदन, स्थानीयको अवरोध तथा आन्तरिक व्यवस्थापनका कारणले ढिलाइ भइरहेको लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शिलान्यासपछि चाहे जसरी काम अघि बढ्न सकेको छैन, मुख्य कारण बजेटको अभाव नै हो, जसले गर्दा टेन्डर आह्वान गर्न सकिएको छैन, प्रदेश र सङ्घीय मन्त्रालयबीचको समन्वय पनि प्रभावारी हुन सकिरहेको छैन, हामी पहल गरिरहेका छौँ । ” तर कहिलेदेखि निर्माण कार्य सुरु हुन्छ भन्ने कुरामा लिमिटेड आफैँ अन्योलमा छ ।
सात प्रदेशमा स्थापना गर्न लागिएका नयाँ औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, डीपीआरलगातका काम सम्पन्न गरी शिलान्यास गरिएको थियो । कम्तीमा एक हजार बिघा क्षेत्रफलमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न २०७२ चैत १ गतेको सरकारको निर्णय र नीतिबमोजिम औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइएको थियो ।

स्वदेशी लगानीमा निर्माण हुने मयूरधाप, दैजी र नौवस्ता औद्योगिक क्षेत्र निर्माणका लागि पञ्चवर्षीय योजनामा २५ अर्ब रुपियाँको सुनिश्चितता लिमिटेडले खोजिरहेको छ । बजेट सुनिश्चितता गर्नासाथ काम अगाडि बढ्ने महानिर्देशक बस्नेतको भनाइ छ ।
उहाँका अनुसार दमक, शक्तिखोर र मोतीपुर औद्योगिक क्षेत्र वैदेशिक लगानीबाट निर्माण गरिने छ । दमकमा चीनले निर्माण गर्ने भएको छ । दमकका लागि ६३ अर्बको लगानी स्वीकृत भइसकेको छ । मोतीपुर र शक्तिखोरमा वैदेशिक लगानीको खोजी भइरहेको छ । मयूरधाप, दैजी र नौवस्तामा स्वदेशी लगानीले निर्माण गरिने हो । दमकमा ६३ अर्ब, मयूरधापमा सात अर्ब, दैजीमा नौ अर्ब, नौवस्तामा नौ अर्ब, शक्तिखोरमा ३६ अर्ब र मोतीपुरमा १२ अर्ब रुपियाँ लगानीको अनुमान गरिएको छ ।
कञ्चनपुर वेदकोट नगरपालिका २ र ३ मा अवस्थित दैजी औद्योगिक क्षेत्र ४५० बिघा क्षेत्रफलमा निर्माण हुनेछ । जसमा ३२ प्रतिशतमा प्लट रहनेछन् । जसको लागत करिब नौ अर्ब रुपियाँ अनुुमान गरिएको छ ।

दमक नगरपालिका वडा नम्बर १८ र १९ र गौरादह नगरपालिकाको खयरघारी उत्तरी भूभागमा फैलिएको दमक औद्योगिक क्षेत्रको २१ सय बिघा क्षेत्रफल कायम गरिएको छ । ५० प्रतिशत निजी र ५० प्रतिशत सरकारी जग्गा लिइएको छ । जसको लागत ६३ अर्ब रुपियाँ छ । त्यस्तै, हेटौँडा उप महानगरपालिका–१६ र १७ मा अवस्थित मयूरधाप औद्योगिक क्षेत्रको क्षेत्रफल दुुई सय बिघा रहेको छ । जुन सरकारी जग्गा हो । जसमा ७ देखि १४ रोपनीसम्मका ६२ वटा औद्योगिक प्लट रहने छ । सात अर्ब रुपियाँ लागत अनुमान गरिएको छ ।

बाँके नौवस्ताको पूर्व क्षेत्रमा रहेको नौवस्ता औद्योगिक क्षेत्र ३२८ बिघामा स्थापना हुनेछ । औद्योगिक क्षेत्रको प्लट १११ वटा हुनेछ । प्लटको साइज ९ देखि ३० रोपनीसम्म रहेको छ । करिब नौ अर्ब रुपियाँ लागत रहेको छ । त्यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका र तिनाउ नदीको किनारामा स्थापना गरिने मोतीपुर औद्योगिक क्षेत्रको लागत १२ अर्ब रुपियाँ रहेको छ । चितवनको शक्तिखोर क्षेत्रमा रहने शक्तिखोर औद्योगिक क्षेत्र १७ सय ४१ बिघामा स्थापना गरिने छ । जसमा ७३२ प्लट रहने छन् । ५९८ साना साइज र १२४ वटा ठूला साइजका प्लट रहने छन् । करिब ३६ अर्ब रुपियाँको लागत अनुमान गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?