logo
२०८१ जेष्ठ ४ शुक्रवार



अबको चुनावमा समाजवादी पार्टी शक्तिशाली हुन्छ : माधव नेपाल

मुख्य समाचार |
राजनीति |


अबको चुनावमा समाजवादी पार्टी शक्तिशाली हुन्छ : माधव नेपाल
नेकपा एकीकृत समाजवादी सिरहा जिल्ला भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष माधवकुमार नेपाल । तस्बीरः जिवछ यादव/लहान


जिवछ यादव
लहान, मङ्सिर ८ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अगामी तीनै तहको चुनावमा एकीकृत समाजवादी पार्टी शक्तिशाली हुने बताउनुभएको छ । सिरहाको लहानमा बुधबार जिल्ला कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

प्रदेश–२ को दौडहामा रहनु भएका नेता नेपालले देशैभर नेकपा एमालेका नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरिरहेको दाबी गर्नुभयो । एमाले रित्तिएर एकीकृत समाजवादी पार्टी ठूलो पार्टी हुने उहाँको भनाइ छ ।

‘नेपालको जारी संविधानमा नै समाजवाद उन्मुख व्यवस्था लेखिसककोले समाजवाद ल्याउन हाम्रो पार्टी अभियान थालेको छ’, उहाँले भन्नुभयो, ‘पूर्वपश्चिम चारैतिर पार्टी प्रवेशको लहर चलिरहेको छ । सूर्यमा ग्रहण लागिसक्यो, जनताले कलम खोजिरहेको छ ।’

केपी ओलीको अहंकार र दम्भ सहेर इमानदार नेता कार्यकर्ता एमालेमा बस्न नसक्ने अवस्था रहेकोले चुनावसम्ममा एमालेको पत्तासाफ हुने उहाँको दाबी छ । अध्यक्ष नेपालले थप्नुभयो, ‘एमाले पतनको बाटोमा लागेकाले अबको विकल्प एकीकृत समाजवादी हो । त्यही ठम्याएर इमानदार नेता कार्यकर्ता एमाले त्यागिरहेका छन् ।’

विभिन्न पार्टी त्याग गरेर लहानका अनिलकुमार चौधरी र पुनम चौधरीको नेतृत्वमा एक सय भन्दा बढी नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा एकीकृत समाजवादीका प्रदेश–२ इन्चार्ज धर्मनाथप्रसाद साह, अध्यक्ष रामचन्द्र यादव, प्रदेश २ का नवनियुक्त कानुन न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादव, प्रदेशसभा सदस्य अशोककुमार यादव उपस्थित हुनुहुन्थ्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?