logo
२०७८ मंसिर २१ मंगलवार



चुनौतीमा शैक्षिक क्षेत्र (सम्पादकीय)

विचार/दृष्टिकोण |




डेढ वर्षदेखि शैक्षिक क्षेत्रले चुनौती भोग्दै आएको छ । कोरोना (कोभिड–१९) को महामारीका कारण २०७६ चैत ११ पछि देशभर बन्दाबन्दी गर्नुप¥यो । त्यसको एकसाता अघि नै मुलुकका शैक्षिक संस्थाहरूमा कोरोनाको त्रास फैलन सुरु भइसकेको थियो । शैक्षिक संस्थामा कोरोना त्रासले मनोवैज्ञानिक असर पर्न थाल्यो । त्यसपछिका दिनमा शैक्षिक गतिविधि सञ्चालन गर्नका लागि वैकल्पिक शिक्षण प्रणाली अवलम्बनका लागि बहस चल्न थाल्यो । नेपालजस्तो भौगोलिक विविधता र विकटता भएको मुलुकमा एकै खालको वैकल्पिक शिक्षण प्रणाली सम्भव थिएन । २०७७ सालको नयाँ शैक्षिक सत्र आरम्भमा निकै अलमल भयो । सहरी क्षेत्रका कतिपय निजी शैक्षिक संस्थाले अनलाइन पद्धतिद्वारा शैक्षिक गतिविधि अगाडि बढाए । उच्चशिक्षामा पनि त्रिभुवन विश्वविद्यालयका शैक्षिक गतिविधिभन्दा अन्य विश्वविद्यालयले आरम्भदेखि नै अनलाइन कक्षा सञ्चालनमा ल्याए पनि अलमल हट्न सकेन ।
समयक्रममा सरकारले वैकल्पिक शिक्षा पद्धति अवलम्बन गर्न ठूलै गृहकार्य गरेर कार्यान्वयनमा ल्याउन प्रयास ग¥यो । वैकल्पिक शिक्षा पद्धतिमा सबै विद्यार्थी समेट्न कठिन भयो । निजी क्षेत्रमा भन्दा सरकारी तहबाट सञ्चालित विद्यालयहरूमा झनै यो समस्या देखियो । त्रिभुवन विश्वविद्यालय मातहतका शैक्षिक संस्थाहरूमा पनि वैकल्पिक शिक्षा गतिविधिमा भएको सहभागिता सन्तोषजनक पाइएन । अनलाइन कक्षाका साथै भौतिक रूपमै पढाइ सुुरु भएपछि पनि कमैमात्र विद्यार्थी कक्षामा उपस्थित हुने प्रवृत्ति देखिएको छ । गत वर्षको हिउँददेखि केही भौतिक कक्षाहरू सञ्चालन भए पनि त्यो लामो समय रहन सकेन । कोरोनाको दोस्रो लहरको प्रभाव बढेसँगै फेरि गत वैशाखदेखि वैकल्पिक शैक्षिक गतिविधितिर जानुपर्ने अवस्था आयो । यताका तीन महिनामा कोरोनाविरुद्धको खोप व्यापक बन्यो । फलस्वरूप दोस्रो लहरको कोरोना प्रवाह विस्तार कम भएसँगै दशैँ अगाडिबाटै विद्यालयहरू खुल्न थाले । कतिपय विद्यालयले अनलाइनलगायतको वैकल्पिक शिक्षा प्रणालीलाई नै निरन्तरता दिइरहेका छन् । तर भौतिक रूपमा खुलेका विद्यालयहरूमा पनि विद्यार्थीको सहभागिता भने शतप्रतिशत रहन सकेको छैन ।

राजधानी काठमाडौँकै विद्यालयहरूमा पनि विद्यार्थीको सहभागिता राम्रो हुन नसकेको समाचार आइरहेका छन् । भौतिक रूपमा खुलेका विद्यालय हुन् वा अनलाइनलगायतको वैकल्पिक शिक्षण प्रक्रिया होस्, विद्यार्थीको सहभागिता न्यून हुँदै जानु ठूलो चुनौती हो । ससाना बालबालिकामा वैकल्पिक शिक्षा पद्धति अझ कठिन भएकोले भौतिक कक्षा जरुरी भयो । माथिल्लो कक्षामा पनि क्रमशः छात्रा सहभागिता न्यून हुँदै गएको छ । देशका अन्य भागमा पनि धेरै किशोरी शैक्षिक गतिविधिमा नियमित सहभागिता हुन सकेका छैनन् । घरमै बसेर अध्ययन गर्नुपर्ने भएकोले घरायसी कामकाजले अनलाइन कक्षामा सहभागी हुन नसक्नु त स्वाभाविकै हो तर भौतिक कक्षा आरम्भ भएका विद्यालयमा पनि छात्रा सहभागिता न्यून हुँदै गएको समाचार सुखद होइन । कोरोनाका प्रभावले खासगरी विकासशील मुुलुकमा छात्रा शिक्षामा समस्या आएको कतिपय अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको उद्धृत गर्दै समाचारहरू आइरहेका छन् । त्यस्तो प्रभावमा हाम्रो देशको शैक्षिक क्षेत्र पर्नु स्वाभाविकै थियो ।

यही दैनिकमा अघिल्लो दिन आएको एक समाचारअनुसार राजधानी काठमाडौँको जनकल्याण माध्यमिक विद्यालय, बौद्धले विद्यार्थी खोज्दै छ । आफ्ना पुराना विद्यार्थीमध्ये ७० प्रतिशत विद्यार्थी मात्र अनलाइन कक्षामा आएपछि बाँकी विद्यार्थीलाई खोज्न शिक्षकलाई रिचार्जकार्ड उपलब्ध गराएर फोन सम्पर्क गर्न थालिएको हो । कोरोनाका कारण कति विद्यार्थी छुटे भन्ने यकिन विवरण भने भौतिक रूपमा कक्षा लाग्न थालेपछि मात्र थाहा हुने विद्यालयका अधिकारीहरू बताउँदै छन् । विस्तारै कोरोनाको प्रभाव न्यून हुँदै गए पनि यसको चुनौती भने सकिएको छैन । अठार वर्षभन्दा कम उमेर समूहका सबैभन्दा बढी जोखिममा छन् । उनीहरूमा खोप पहुँच पुगेको छैन । सञ्चालनमा आएका भौतिक कक्षाहरूमा एकातिर झण्डै ३० प्रतिशत विद्यार्थी आउन सकेका छैनन् भने स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा परिपालना नहुँदा विद्यार्थीमा कोरोना त्रास बाँकी नै छ । अब शैक्षिक गतिविधिलाई पनि नियमित गर्नुछ । साथै, छुटेको छात्रछात्रालाई पनि शैक्षिक गतिविधिमा सहभागी गराउनु छ । सबैभन्दा महìवपूर्ण पक्ष भनेको त स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा लागू गरी कोरोना सङ्क्रमणबाट विद्यार्थीलाई सुरक्षित गर्नु छ । यसका लागि सबै पक्ष गम्भीर भई सहकार्य गर्नु आवश्यक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?